माओवादीमा ‘महासचिव’को सकस !

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक चलिरहेको छ । गत शुक्रबारबाट शुरू भएको बैठकको पहिलो एजेन्डा हो— केन्द्रीय पदाधिकारी टुङ्ग्याउने । यसकै लागि पूर्वनिर्धारित समयसीमा मात्र होइन, बैठक नै पनि सरिरहेकाे छ ।

आइतबार बस्ने भनेर फेरि सोमबारका लागि सारिएको बैठकले विधानले तोकेबमोजिमको १५ सदस्यीय केन्द्रीय पदाधिकारी टुङ्गो लगाउने भनिएकाे छ । केन्द्रीय सदस्य अन्जना विशङ्खेकाअनुसार केन्द्रीय पदाधिकारी टुङ्ग्याउन आवश्यक तयारी नपुगेकाले बैठक स्थगित गरिएको छ । तर, अन्य नेताहरूले भने संसद् बैठक पनि आजै परेकाेले माओवादी बैठक स्थगित गर्नुपर्काे जिकिर गरेका छन् ।

यसअघि पुस ११ देखि १८ गतेसम्ममा चलेको ८औं राष्ट्रिय महाधिवेशनले २४६ केन्द्रीय सदस्य मात्रै टुङ्गो लगाएको थियो । महाधिवेशन प्रतिनिधिहरूले त्यहीबेला केन्द्रीय पदाधिकारी टुङ्ग्याउनुपर्ने माग राखेपनि महाधिवेशन त्यत्तिकै सकिएको थियो । अध्यक्ष पछिको सर्वाधिक शक्तिशाली र कार्यकारी पद महासचिवमा नेताहरूबीच राेचक प्रतिस्पर्धा हुने देखिएको छ ।

त्यसपछि केन्द्रीय पदाधिकारी नै टुङ्ग्याउनेगरी पुस १९ गते बसेको केन्द्रीय समिति बैठकले पनि पदाधिकारी टुङ्ग्याउन सकेन । बैठक अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै अनुमोदन गरेर सकियो । त्यसबेला महासचिवका बलिया दाबेदार मानिएका नेता वर्षमान पुन उपचारका क्रममा चीनमा थिए । उनकै आग्रहमा पनि सो बैठकले अध्यक्षबाहेक अन्य पदाधिकारीबारे छलफलसम्म नगरेको कुरा पछि सार्वजनिक भएकाे थियाे ।

अहिले फेरि पदाधिकारी टुङ्ग्याउने विषय पेचिलो बनेको छ । महासचिवका दाबेदार नेताहरूबीच एकखालको प्रतिस्पर्धा नै चलेको छ । उनीहरू पार्टीभित्रको माहोल बनाउन र प्रचण्डसमक्ष ‘लबिङ्ग’ गर्न लागिपरेका छन् ।

पुन, भुसाल, शर्मा र गुरुङबीच सहमति नजुटेकाे खण्डमा कृष्णबहादुर महरा र शक्तिबहादुर बस्नेतमध्ये एकजना महासचिव बन्ने छन् ।

महासचिवका मुख्य दाबेदारका रूपमा वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल र देवप्रसाद गुरुङ्गलाई हेरिएको छ । तर यी दाबेदारहरूमध्ये जो महासचिव भएपनि अरुले ‘नस्वीकार्ने’ अवस्था रहेको आकलन माओवादी वृत्तमा छ । एकले अर्कोलाई नस्वीकार्ने अवस्था आएमा प्रचण्डले चर्चामा नरहेका नेतालाई महासचिव बनाउने सम्भावना पनि रहेको एक केन्द्रीय सदस्यले मकालुखबरसँग बताए । शर्मा, पुन, भुसाल र गुरुङबीच यस्तो अवस्था आए कृष्णबहादुर महरा वा शक्तिबहादुर बस्नेतलाई महासचिव बनाएर अघि बढ्ने सम्भावना रहेको उनकाे भनाइ छ । ‘उहाँहरू सबैलाई उपाध्यक्षमा अटाउने र अन्य नेतालाई नै महासचिव बनाउनुपर्ने हुनसक्छ । यो विकल्प नेतृत्वसँग छ,’ ती सदस्यले भनेका छन् ।

दाबेदारमध्ये पुनको सबैभन्दा बढी सम्भावना रहेको चर्चा माओवादीमा छ । सरकार र पार्टीमा कुनै मुख्य जिम्मेवारीमा नरहेकोले पनि उनको बलियो सम्भावना रहेको उनीनिकट एक नेता बताउँछन् । ‘उहाँ काम गर्न सक्ने नेता हो,’ ती नेताले भने, ‘तर, अहिले कुनै जिम्मेवारीमा हुनुहुन्न सरकारमा पनि र पार्टीमा पनि । त्यसैले उहाँको सम्भावना राम्रो छ र याे स्वाभाविक पनि हाे ।’

पुन प्रचण्डलाई संकटका बेला साथ दिने नेताका रूपमा माओवादीमा रहेका छन् । ८औं राष्ट्रिय महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठक पुनकै आग्रहमा प्रचण्डले रोकेका थिए । यसर्थ पनि पुनको महासचिवमा दह्रो सम्भावना रहेको विश्लेषण गरिन्छ ।

यसअघि ऊर्जा र अर्थ तथा अहिले पनि अर्थ मन्त्रालयकै जिम्मेवारी सम्हालिरहेका जनार्दन शर्माले पनि महासचिवमा दाबेदारी पेश गरिरहेका छन् । पार्टीको संगठन विभागसमेत सम्हालिरहेका शर्माले यसबारे प्रचण्डसँग कुराकानीसमेत गरिसकेका छन् । आफू महासचिवका लागि सक्षम रहेको उल्लेख गर्दै उनले सार्वजनिक रूपमै पनि महासचिवबाट पछाडि नहट्ने बताउँदै आएका छन् । तर, शर्मामाथि पार्टीभित्रै गुट सञ्चालन गरेको आरोप छ । यसकारण उनलाई महासचिवको रूपमा विश्वास गर्न नेतृत्वलाई गाह्रो भएको नेताहरूको बुझाइ छ ।

शर्माले यसबीचमा प्रचण्डसँग यही बारेमा समेत वार्तालाप गरेका छन् । अर्थ मन्त्रालयकाे जिम्मेवारी सम्हालेयता प्रचण्डकै पक्षमा राजनीतिक वकालत गर्दै आएका उनलाई प्रचण्डले पनि ‘हुँदैन’ भनेर भने भनिसकेका छैनन् । एक नेताले भने— ‘महासचिव भनेकाे स‌ंगठन कस्ताे बनाउने भन्ने कुराकाे निर्णय लिने व्यक्ति पनि हाे । उहाँले पनि संगठन हाँक्न सक्नुहुन्न भन्ने त हाेइन, तर अन्य कुराहरूले गर्दा नेतृत्वमा अविश्वास छ कि भन्ने लाग्छ । उहाँमाथि पार्टीभित्रै पनि अविश्वास गर्ने ठाउँहरू छन् कि भन्ने लाग्छ । अब नेतृत्वमै भर पर्छ ।’

ऊर्जामन्त्रीसमेत रहेकी पम्फा भुसाल आफूले महासचिवबाट ‘ब्याक् गियर’ नलगाउने दाेहाेर्‍याउँदै आएकी छन् । सार्वजनिक रूपमै आफू कुनै पनि हालतमा महासचिव बन्ने उल्लेख गर्दै आएकी उनले ८औं राष्ट्रिय महाधिवेशन चल्दै गर्दा भनेकी थिइन्, ‘पार्टीको नीति र विधानबमोजिम म महासचिवमा सक्षम मान्छे हुँ ।’

हुन पनि माओवादी केन्द्रले पार्टी समितिहरूमा युवा र महिलाबाट कमसेकम २० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने उल्लेख गरेको छ । पछिल्लो समय प्रचण्डको जोड पनि यसैमा रहँदै आएको छ । तर, भुसालसँग पनि प्रचण्डको पूर्ण विश्वास नरहेको नेताहरू बताउँछन् । पार्टी विभाजन हुँदा मोहन वैद्य ‘किरण’को पार्टीमा गएर एमालेसँगको एकता हुनुपूर्व माओवादीमा फर्किएकी उनले प्रचण्डपछि आफूले पार्टी हाँक्न सक्ने दाबी गर्दै आएकी छन् । उनकाे सम्भावना कति छ ? भन्ने प्रश्नमा एक नेता भन्छन्— ‘सम्भावना कति छ भन्ने त कसरी भनुँ र ? जे हाेस् उहाँ पनि दह्राे दाबेदारचाहिँ हुनुहुन्छ ।’

महाधिवेशन शुरू हुँदासम्म चुपचाप बसेका देवप्रसाद गुरुङ पनि पछिल्लो समय ‘ब्याक्’ नहुने मूडमा छन् । ‘को हुने वा को बन्ने भन्ने कुरा सहमतिको कुरा होला,’ गुरुङले मकालुखबरसँग भने, ‘महासचिव भनेको पार्टी संगठनको र त्यसमा पनि संगठन विस्तार गर्ने र सुदृढ गर्ने कुराको अग्रणी पद हो । यसमा सक्षम व्यक्ति पुग्नुपर्छ, त्यसलाई नेतृत्वले पनि ख्याल गर्नुपर्ने होला । काम गर्न सक्ने पुग्नुपर्छ भन्ने हो । त्यसमा म पनि पर्छु भन्ने दाबी मेरो हो ।’

त्यसो त पछिल्लो समय पार्टीभित्रै विवादित बनिरहेको एमसीसीबारे भने नेताहरू विभाजित भएका छन् । यसले पनि पदाधिकारी टुङ्ग्याउने विषयमा अर्थ राख्ने बताइन्छ । महासचिवका दाबेदारमध्ये गुरुङ एमसीसीबारेकाे प्रचण्डको निर्णयविरुद्ध छन् । उनले केन्द्रीय कार्यालयको विस्तारित बैठकमा समेत प्रचण्डविरुद्ध धारणा राखेका थिए भने केन्द्रीय समिति बैठक शुरू हुनुपूर्व पनि प्रचण्डलाई एमसीसीविरुद्धको लिखित फरक मत बुझाएका छन् ।

यस्तै, कृष्णबहादुर महरा पनि एमसीसीविरुद्ध छन् । पुन, भुसाल, शर्मा र गुरुङमध्येमा सहमति नजुटेको खण्डमा प्रचण्डले विकल्पका रूपमा महरालाई हेरेका छन् । तर, पछिल्लो समयको एमसीसीबारेको उनको कदमलाई भने प्रचण्डले मन पराएका छैनन् । यस्तोमा शक्ति बस्नेतको सम्भावना बढ्ने नेताहरू बताउँछन् । तर यसको सम्पूर्ण अधिकार अध्यक्ष प्रचण्डसँग रहेकाले उनले कुन नेतालाई कहाँ व्यवस्थापन गर्ने भन्नेबारे गर्ने निर्णय नै आधिकारिक र अन्तिम हुने नेता लीलामणि पाेखरेल बताउँछन् । ‘हामी सम्भावनाका कुरा गर्ने हाे,’ उनले भने, ‘राजनीतिमा पूर्वनिर्धारित मात्रै हुँदैनन् । कहिलेका प्रम्प् डीसीजन लिनुपर्ने हुन्छ । यस्ताेमा अनुमानहरू मिल्दैनन् । अध्यक्ष कमरेडले नै सबै गर्नुहुन्छ । उहाँमै भर पर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *