स्पोर्ट्स अवार्डस् पिपल्स च्वाइस विधाको मनोनयनमा महिला खेलाडीको बर्चश्व

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डको ‘पिपल्स च्वाइस’ विधाको मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको छ ।
काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गर्दै एनएसजेएफको खेलाडी छनोट समितिले मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो । मनोनयनमा पर्ने खेलाडीमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाल छन् ।
यो विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चयन हुनेछन् । कार्यक्रममा पिपल्स च्वाइस विधाको भोटिङका लागि मञ्चले स्पोर्ट्स अवार्डका लागि विद्युतीय भुक्तानी सेवा प्रदायक ई-सेवासँग सम्झौता पनि गरेको छ । मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी र ईसेवाका चिफ म्यानेजर आशिष गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
स्पोर्टस अवार्ड चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा हुने छ । एनएसजेएफले विगत वर्षहरूमा भन्दा यसपटक कार्यक्रम फरक ढंगले आयोजना गर्ने जनाएको छ । एनएसजेएफले यस पटकको अवार्डलाई दशक अवार्ड अर्थात दशक अघि नेपाली खेलकुद क्षेत्रमा इतिहास रचेका खेलाडीहरूलाई यो वर्ष सम्मानित गर्ने जनाएको छ ।
एक दशकअघिका उत्कृष्ट खेलाडीहरू यसपटक दशक अवार्डका लागि मनोनित हुनेछन् । पारा एथलिट, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विजेता कार्यक्रमकै दिन घोषणा गरिने आयोजकले जनाएको छ ।
यस वर्षपनि दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने मञ्चले जनाएको छ ।








