ताना शर्माकाे बहुचर्चित नि-यात्रा : वक्ताहरूको कुनो

म आज तपाईंंहरूलाई एउटा उदेकलाग्दो संसारमा घुमाउन चाहन्छु । हामीलाई जतिसुकै उदेकलाग्दो लागे तापनि लंन्डनवासीहरूको लागि ज्यादै नै साधारण र जीवनकै स्वाभाविक प्रवृत्तिको रूपमा देखा पर्ने यो संसार विशाल लन्डननगरीको पश्चिमी क्षेत्रको विस्तृत हाइड् पाअक्को उत्तरपूर्व सानो कुनामा सीमित छ । यस सीमित क्षेत्रलाई अङ्ग्रेजहरू गर्वसाथ जिब्रो घुमाएर स्पीकस् कोन (Speaker’s corner) अर्थात् वक्ताहरूको कुनो भन्छन् ।

यस कुनाको बयान थाल्नुभन्दा अघि म तपाईंंहरूलाई त्यहाँ पुग्ने बाटाका सुरुङ (Under ground) को बयान गरिहालूँ । तपाईंं मेरा साथीहरू शिवगोपाल र प्रचण्ड बसेको कउट्फल्ड् बगैँचामा अथवा त्यसको छेउछाउ पश्चिम क्रम्वेल् रोड् वा अल्स्कउट् (Earls court) तिर बस्नुभएको छ भने तपाईंंले मेरा साथीहरूको भनाइमा लागेर तीन पेन्स् बचाउँदै ग्लस्ट(र्) रोड्बाट अथवा मेरो भनाइमा लागेर तीन पेन्स् बढी तिर्दै अल्स्कउटबाट सुरुङमा छिर्नुपर्छ । अल्स्कउट्बाट डिस्ट्रिक्ट् लाइन् समाते पनि वा ग्लस्ट(र्) रोड्बाट सञ्कल् लाइन् समाते पनि घुम्दैफिर्दै रुम्जाटार भनेझैँ नटिङ् हिल् नपुगी धरै छैन । त्यहाँबाट सुरुङभित्र उत्तरतर्फ हिँड्ने आफ्नाआफ्ना लाइन्का बिजुलीरेललाई परित्याग गरेर पूर्व हिँड्ने केन्द्रीय लाइन्‌को रेलमा चढ्नुपर्छ ।

तपाईंंलाई क्वीन्स्वे र ल्याङ्कास्ट (र्) गेट् हुँदै माअबल् आच् (Marble Arch) मा पुऱ्याएपछि रेल थामिन्छ र ढोका आफैँ सरर्र उधिन्छ, फुत्त बाहिर निस्केर हतारहतार अरूहरूझैँ फटाफट तपाईंं पनि ‘बाहिरतिर’ (Way out) लेखेकोलाई पछ्याउँदै हिँड्नुहोस् । तपाईंं अझै सुरुङभित्रै हुनुहुन्छ । ढोकाबाट छिरेर यस्सो देब्रे घुम्नेबित्तिकै बिजुलीले भन्याङलाई उकालो घचेटिरहेको पाउनुहुनेछ । त्यस कुदिरहने भन्याङमा नअत्तालिई पाइला राख्नुहोस्- आफैँ सुतुतुतु बग्दै त्यसले तपाईंंलाई माथि पुऱ्याइदिनेछ । अँ, बरू भन्याङको दाहिने किनारमा उभिनुहोला किनभने त्यति चाँडो कुदिरहने रेल र भन्यङको गतिले समेत ढिलो गराएको भन्ठानेर भन्याङमै पनि देब्रेपट्टिबाट फटाफट हिँडिरहेका अङ्ग्रेजहरूलाई बाधा पर्छ । अनि अर्कापट्टि ओह्रालो झरिरहेका भयङमा अँगालो मारेर दुनियाँलाई नै बिर्संदै म्वाइँ खाइरहेका युवकयुवतीलाई देखेर नझस्कनुहोला नि । यो लुन्डन हो- यहाँ जे पनि देख्न पाइन्छ । अब माथि आइपुग्नुभो तर अझै भुइँको दुई-तीन तलाजति मुनि नै हुनुहुन्छ । आएका नअत्तालिनोस्- पङ्क्तिबद्ध भएर बाहिर निस्कनोस् र ढोकामा आफ्नो टिकट बुझाउनोस् । अब माअबल आच् लेखेर काँड देखाएको दुलातिर लाग्नीस हिंड्दै जानोस, निकै हिँड्नुपर्छ ।

नेपाली साहित्यका सूर्य अब अस्ताउनुभयो

तपाईंंले व्यस्त अक्स्फोड् स्ट्रीट्को पश्चिमी छेउमा हाइड् पाक्, बेज्वाट(र्) रोड् र एजेआर्) रोड्बाट ठोक्किदै असङ्ख्य गाडीहरूको फराकिलो चौबाटालाई मुनिबाट काटेर पल्लापट्टि खुला हाइड् पाक्को कुनामा पुग्नु छ । हिँड्दै जानोस्- पाक् लेन्को गरान्तिर पुग्नुहोला नि ! कुनामा हेर्नोस् । एक हजार कारहरूलाई भुइँभित्रै राख्ने व्यवस्था भएको गराजको बाटो छोडी ‘वक्ताहरूको कुनो’ लेखेर काँड देखाएतर्फ गएर सिमेन्ट्को भन्याङ चढ्न लाग्दालाग्दै एउटा मामुली लुगा लगाएको युवक ‘कविताको प्रयोग किन ?’ भन्ने पुस्तिका देखाएर (बेच्नलाई होला) उभिरहेको भेट्नुहुनेछ । माया लाग्छ, किनिदिऊँ कि जस्तो लाग्छ । तपाईंंको खुसी । मैले त किनिनँ । त्यसपछि रुवाट्ट देब्रे किनारबाट तपाईं स्पीकस् कोनमा पुग्नुहुन्छ । तपाईंंको अगाडि दुई जना युनिस्ट् युवकहरू सस्ता पर्चा र मोनिङ् (Morning) स्टा(र्) भन्ने तिनीहरूको खबरकागत लिएर उभिएका र दुई जना समाजवादीहरू रातो, पहेँलो र नीलो रङका नाराहरू ठूल्ठूला अक्षरमा लेखेका कागत छातीमा टाँसेर कराइरहेको देख्नुहुनेछ तिनीहरूलाई भैं नै लन्डनका सडकसडकमा मुरली बजाएर, अकोडियन् बजाएर, गिटा(र्) बजाएर वा मुखबाजा बजाएर अशक्त, लुलालँगडा वा अन्धा बूढाहरू मागिरहेका पनि तपाईंं देख्न पाउनुहुन्छ । तिनीहरूलाई आज त्यति समय नदिनोस् । फेरि आज त आइतबारको दिन हुनाले हेर्नोस्, तपाईंंहरूले यस प्रसिद्ध स्थलका वक्ताहरूको परिचय प्राप्त गर्नु छ, उनीहरूको भाषण सुन्नु छ, उनीहरूका वरिपरि भेला हुने श्रोतावर्गको अध्ययन गर्नु छ ।

हुन त घाम लागेको बेलामा शनिबारै पनि बेलुकातिर यो कुनो मानिसहरूका थुप्राले भरिएको देखिन्छ तापनि यहाँको वास्तविक मुटु छाम्न चाहनुहुन्छ भने मसित आइतबारकै दिन तपाईंंहरूले यस ठाउँको यात्रा गर्नु बेस हुनेछ ।

अब हामी साम्यवादी र समाजवादी पर्चा विक्रेताहरूको कुनाबाट दक्षिणतर्फ लागौँ । हाम्रो दाहिने हाततर्फ खुला हरियो मैदान छ जसमा आज न्यानो घामले आफ्ना किरणहरू फिजाएकाले असङ्ख्य अर्द्धनग्न युवकयुवतीहरू जोडाजोडा भएर पल्टिरहेका छन् । उनीहरूलाई अश्लील भन्ठान्नुहोला नि ! होइन, ती त उन्मुक्त जोडाहरू हुन् जो संसारका वेदनाहरूलाई भुसुक्कै बिर्सेर वर्तमानको परमानन्दको भोगलाई म्वाइँमा साटिरहेका छन् । उनीहरू गफ गर्छन्, घाम ताप्छन्, म्वाइँ खान्छन् अनि आफ्नाआफ्ना काममा फर्कन्छन् ।

तपाईंको आँखाको सामुन्ने विशाल र उच्च भवनहरूको पड़क्ति छ र यस्सो देट्टि हेर्दा पुरानो ढाँचाको ठूलो फाटक देख्नुहुनेछ । त्यस फाटकको नाउँ हो माझ्यल् आच् अर्थात् सङ्गमर्मरको गुम्बज । कुनै समयमा बकिङ्गम् राजमहलतर्फ जा मान्छेहरू यसै भित्रबाट जान्थे रे तर आधुनिक मोटरहरूको असङ्ख्यतालाई यस सानो ढोकाले आफूमा सीमित गर्न नसक्ने भएकाले अचेल यसलाई ऐतिहासिक • महत्वको वस्तु ठानी चारैतिर फलामको बार लगाई सुरक्षित गरिएको छ । यसै ढोकाबाट सोझै पूर्वतिर तपाईंंको देब्रे हाततिर लन्डनको व्यापारिक केन्द्र अक्सफोड् स्ट्रीट् लमतन्न परेर सुतेको छ । अब दसतिर आँखा नडुलाउनोस् । तपाईंको छेवैमा परीपरीका मान्छेहरू थुप्रिएका देख्नु नै भयो होला । लौ, हेनॉस- मान्छेका थुप्राथुप्रा छुट्टाछुट्टै गाँठो परिरहेका छन् र हरेक थुप्राको केन्द्रस्थलबाट तीनधर्के बाहुनको टुपी हल्लिंदै ठडिएकै एउटा मान्छे उभिएर हल्लिदै कराइरहेको छ । कुन थुप्रामा जाने ? लौ, ‘पाकिस्तान फोरम्’ तर्फबाटै थालौं ।

एक जना रातोरातो बान्कीको युवक कराइरहेछ अङ्ग्रेजीमा । उसको अङ्ग्रेजी अलिक बेग्लै खालको छ, अङ्ग्रेजको जस्तो छैन तापनि बुझिने, सबल र राम्रो छ । ऊ भन्छ, ‘अन्तर्राष्ट्रिय वेश्याबादकी छोरी इज्ज़ाइल, अमेरिकाली साम्राज्यावद र भारतेली धर्मवाद षड्यन्त्रकी छोरी इज्राइल । एउटा कैलो केश भएको, छाँटले उत्तर अमेरिकाली श्रोता, बीचैमा अमेरिकाली उच्चारणमा टोक्छ, ‘हैन, अमेरिका कसरी साम्राज्यवादी ?’ श्रोतावर्ग हलल्ल हाँस्छन् । वक्ता असिनपसिन हुँदै भन्दै जान्छ, तिमी याङ्कहरू एसियाबाट जाऊ, भिएट्नामबाट फर्क, पाकिस्तानलाई भारतले आक्रमण गर्दा किन हामीलाई सघाएनौ ? तिमीहरू आफ्नै महादेशमा फर्क !’

कैले केश गर्जन्छ, ‘हामी नभए तिमेर्लाई चीनले निल्छ ।’ वक्ता बन्कन्छ, ‘चीन हाम्रो मित्र हो, यसले अरू कुनै देशमा आफ्ना फौज राखेको छैन, यसले तिमेर्लाई कोरियामा ढाड खुस्कायो, भिएट्नामले नै तमेको मासी गलाउँछ, असभ्य बर्बर अभद्र हत्यारा याङ्क् ।

हलल्ल सबै जना हाँस्छन् । वक्ताको गाली- कोश बलियो हुन्छ । गाली तपाईंलाई उति मन नपर्ला, तैपनि वक्ता भन्दै जान्छ, ‘त्यस याङ्क्को वास्ता नगर्नोस् । भारतले मुसलमानहरूमाथि अत्याचार गरिरहेछ, कश्मीरलाई आत्मनियन्त्रणको अधिकारबाट वञ्चित गरिरहेछ ।

तपाईंलाई झर्को लाग्छ, वाक्क हुनुहुन्छ । तर प्रेमीको कुममाथि दुवै हात र त्यसमाथि आफ्नो सुकुमार चिउँडो राखेर वक्तातर्फ हेरिरहेका प्रफुल्ल युवतीहरू देख्ता तपाईंं छक्क पर्नुहुन्छ । कोही युवतीहरू वक्ताको फोटो खिचिरहेका छन्, कोही निलूँला जस्तो गरेर वक्तालाई श्रद्धापूर्वक हेरिरहेका छन्, अंगालो मारिरहेका प्रेमीप्रेमिकाहरू, मजस्ता अभागी एक्लेहरू र केश पाकिसकेका थोत्रा बूढाबूढीहरू हलल्ल हाँस्छन्, ‘बुझ्यौ कुरा कुइरे मूर्खहरू हो ।

हामी छक्क पछौ । अलिक पर्तिर रानी एलिजबेथ् द्वितीया (EUR) लेखेको फलामे टोपी र नीलो पोसाक लगाएको अग्लो र शान्त पुलिस तपाईंतिर हेरेर मुसुक्क हाँस्छ । बेलाइत, यसको संस्कृति, यसका आस्था र यसको सरकारलाई गाली गर्नेहरूकै सुरक्षामा ऊ खटिएको छ ।

अर्कातिर निकै खलबल हुन्छ । जाऊँ उतैतिर । ए, यो खलबल इन्डिब फोरम्’ बाट आएको हो । भारतको पक्षमा एकजना दुब्लो मान्छे बोल्न खोजिरहेछ तर छ-सात जना पाकिस्तानी विद्यार्थीहरू हातमा खबरकागतका टुक्रा (Cutting) हरू लिएर देखाउँदै त्यस वक्तालाई प्याकप्याक पारिरहेछन् ऊ केही बोल्न सक्तैन- खबरकागतहरूले त्यसलाई असत्य प्रमाणित गरिदिन्छन् । एउटा अफ्रिकाली सज्जन कराउँछ, ‘वक्ता महोदय, के म एउटा प्रश्न

सोध्न सक्छु ?” ‘प्रश्न सोध्न दिइयोस् !’ चारैतिर विद्रोह रुमलिन्छ ।

प्रश्नकर्ता दृढतासाथ सोध्छ, ‘तपाईंंले भारतमा जनराज्य छ, जनतन्त्र छ भन्नुभयो तर कश्मीरलाई किन आत्मनियन्त्रण गर्न नदिएको, किन त्यहाँ फौज राखेको ?”

वक्ता पसिना पुछ्तै भन्छ, ‘चीनको आक्रमण रोक्नलाई ।’

सबै मरीमरी हाँस्छन् । प्रश्नकर्ता रिसाउँछ, ‘खोइ जबाफ मेरो प्रश्नको ?

उचित जबाफ चाहियो !”

‘तपाईं को हुनुहुन्छ ?’ वक्ता उर्लिन्छ । ‘म मुसलमान ।’ प्रश्नकर्ताले आफूलाई लुकाउन सक्तैन ।

तपाईंंहरू र मलाई यस्तो तर्क देख्ता चित्त बुझ्दैन । यी हाम्रा दुई छिमेकीहरू आपसमा मिल्नाको साटो सानासाना कुरामा निउँ खोजेर बाझेको हामीले उहीँ नै देखेका थियौँ । लन्डनमा आफ्ना प्यारा छिमेकीहरू बाझेको हेर्न हामी आएका होइनौं । त्यसैले आउनोस् हामी ‘महान् बेलाइतमा रङ्गीन ज्यामीहरू’ को भाषण सुन्न जाऔं ।

मान्छे निकै छन् । धेरैजसो काला मान्छेहरू भए तापनि कैलो केश र नीला आँखा हुनेहरू पनि कम छैनन् । एक जना अफ्रिकावासी शुद्ध तर उच्चारणको दृष्टिकोणले अप्ठ्यारो र ढिलो अङ्ग्रेजीमा भन्छ, ‘तपाईंं अङ्ग्रेजहरू ज्यादै नै घृणित हुनुहुन्छ, तपाईंंहरू रङ्गभेद गर्नुहुन्छ, हामीलाई हेप्नुहुन्छ, हामीलाई सेता मान्छेलाई जति ज्याला दिनुहुन्न, त्यसैको विरोधमा म बोलिरहेको छु ।’

एउटी नीला आँखा भएकी ठिटी आफ्नो प्रेमीको ओठमा च्वाक्क म्वाइँ खाँदै कराउँछे, ‘तिमी कालाहरू असभ्य छौ, तिमीहरू हामीजति परिष्कृत, संस्कृत र पठित छैनौ ।’ वक्ता अलिकति पनि रिसाउँदैन । ऊ भन्छ, ‘म तपाईंंको कुरालाई असत्य ठान्छु । म आफैं पनि अक्सफोड्को बी. एस्सी. हूँ, मेरा दुई काला साथीहरू त्यहाँ गणित पढाउँछन् । केम्ब्रिज्मा रसायनशास्त्र पढाउने र लन्डन स्कूल अफ् इकनमिक्समा इतिहास पढाउने कालाहरू छन् ।’ आफ्ना सङ्गमर्मरजस्ता नाङ्गा हातले प्रेमीको गलामा माला बेर्दै लाडिएर ऊ भन्छे, ‘त्यस्तो दुई-तीन जनाको अपवादले मेरो कुरो काटिंदैन । तिमी कालाहरू असभ्य छौ, बर्बर छौ ।

‘हो नेहरू बर्बर थिए, गान्धी असभ्य थिए, केन्याता मूर्ख हुन्, मार्टिन् लघार्) किड् केही जान्दैनन् ! वास्तवमा तिमी सेता छालाको मिति पुग्यो । अब टेन् डाउनिङ् (प्रधानमन्त्री बस्ने घर) मा कालो मान्छे पुग्छ किनभने तिमीदेखि बाहेक अरू सबै गोरीहरूले हामीजस्ता कालालाई मन पराउँछन्, बुझ्यौ ?’ सबै मरीमरी हाँस्छन् ।

नभन्दै त्यति बेला धम्मरधुस दुई जना कालेहरू अप्सराजस्ता दुई कुइरी केटीहरू च्यापेर घुइँचाभित्र उत्सुकता देखाउँदै पस्छन् । वक्ता उनीहरूलाई देखाउँदै भन्छ, ‘नपत्याए उ: हेर ! अङ्ग्रेज युवकहरू सबै नपुंसक छन् !’

फेरि हाँसो छुट्छ । रातीपिरी हुँदै कुइरिनी बिस्तारी भन्छे, ‘जड़ली, अगुल्टे बर्बर !’ अनि निस्किन्छे । कालासित आउने सेतीहरू आफ्ना प्रेमीतिर सजल नेत्रले हेर्छन् र एउटीले आफ्ना कालाको गालामा र अर्कीले आफ्ना कालाको हातमा च्वाक्क च्वाक्क म्वाइँ खान्छन् । म वाल्ल पर्छ ।

एउटा कुइरे बूढो सोध्छ, ‘तिमेरू अफ्रिकामै नबसेर याँ लन्डनमा काम खोज्न किन आका ?”

वक्ता शान्त स्वरमा भन्छ, ‘तिमेरू अमेरिकामा रेड् इन्डियन्हरूलाई मार्न, अफ्रिकामा हामीलाई दास बनाउन र धपाउन तथा अस्ट्रेलियामा बस्न किन गएका नि ?’

सबै कालाहरू स्याबास भन्दै कुर्लन्छन् । तर लगत्तै यस बथानमा मान्छेहरू पातलिएको हामी अनुभव गछौँ । यसो पछाडि फर्केर हेर्दा मनुष्यशिरको सामुद्रिक छालमाथि एउटा कालो रङको, खैरो सुट लगाएको, टोप लगाएको मान्छे उभिएर मुख पुछिरहेको हुन्छ । इलामका गोविन्दप्रसाद सिंहज्यूको कानमा नपरोस् नि ! मलाई यसलाई देख्नेबित्तिकै उहाँको सम्झना हुन्छ । बोलाइ र हँसाइ पनि मोराको उस्तै छ तर फरक कत्ति छ भने यसको हाउभाउ केही बेग्लै पाराको छ । यो व्यक्ति ‘वक्ताहरूको कुनो’ मा जान पल्केकाहरूका निम्ति नयाँ होइन । यो सर्वश्रेष्ठ वक्ता हो र यसलाई धेरै कुराको ज्ञान छ । समयसमयमा यो पनि छिल्लिन्छ (लन्डनमा यौनवृत्तिबारे स्वास्नीमान्छेहरूसित ठाडठाडै व गर्न अप्ठ्यारो मानिदैन रहेछ), तर समयसमयमा अत्यन्त बेस कुरालाई यसले कुरो प्रतिपादन गर्छ । यो मान्छे लगातार बोलिरहन्छ र थाक्तैन ।

यसको अङ्ग्रेजी सरल र सुन्दर छ । यस व्यक्तिलाई एउटै संस्थामा थुनिएको पाइँदैन तापनि एउटा भारतेली र यो मिलेर एउटा बलियो सङ्गठन बनाएका छन् । कहिले यो आफूलाई ‘समस्त अफ्रिकावासीको मुक्तिको निम्ति धर्मयुद्ध’ भनेर परिचित पार्छन् भने कहिले समस्त कालाहरूको मुक्तिसङ्घर्ष’ भनेर चिनाउँछन् । जे होस्, आज २५ सेप्टेम्ब(र्) १९६६ का दिन भने यिनीहरूले आफ्नो नाम ‘समस्त अफ्रिकाली जातीय एकता धर्मयुद्ध (Pan African National Unity Crusade)’ भनेर चिनाइरहेका छन् ।

यस विशाल समूहलाई सम्बोधन गर्दा समयसमयमा वक्ताको घाँटी सुक्छ । त्यसैले ऊ समयसमयमा सुन्तलाको रसको बोतल वा कोकाकोलाको बोतल हातमा लिएर कराइरहेको हुन्छ । आज सुन्तलाको रस खाँदै र लड् जोनको बोतल उसतिर रातोरातो केश भएको पुड्केपुड्के सिकुटे मान्छे मातेको स्वरमा भन्छ, ‘यो खा ए काले !’

वक्ता हाँस्तै व्यङ्ग्य गर्छ, ‘तपाईंंहरूलाई थाहा छ उत्तरी आय (र्)लन्ड् किन अझै बेलाइतको अधीनमा छ र किन अझै दक्षिण आय(र्)लन्ड्ले आफ्नो भागलाई लिन सकेको छैन ? वास्तवमा यी आय(र्)लन्ड्का क्रान्तिकारीहरू स्कट्लन्ड्को रक्सीमा डुबेकाले पूर्ण स्वतन्त्र हुन नसकेका !” वक्ताको मुख खिसीको हाँसोमा फराकिलो हुन्छ । नियालेर चियाइँदा वक्ताको मुन्तिर माइक् हुन्छ । मलाई आश्चर्य लाग्छ किनभने यहाँ अरू कसैले माइक् प्रयोग गर्दैन ।

रक्स्याहा कराउँछ, ‘हामी उत्तरलाई लिइछाड्छाैँ ! ‘रक्सीको घोडा चढेर!” वक्ता फेरि हाँस्छ ।

‘मेरा प्यारा श्रोता महिला तथा सज्जनवृन्द ! म तपाईंंहरूलाई अफ्रिकाको बारेमा आज केही भन्छु । यी आङ्ग्लस्याक्सनी दैत्यहरू बर्बर अवस्थामै छँदा हाम्रो इजिप्ट्मा सुन्दरी रानी क्लिओपाटा थिइन् । हाम्रो सभ्यता उच्च थियो, फिनिसिअले अक्षर सिकायो, इजिप्ट्ले पेपरिस्बाट कागत बनाउन सिकायो । यी अङ्ग्रेज ढेडुहरू रूखका टोड्का र ढुङ्गाका ओडारमा बस्ता हामीले भीमकाय पिरामिड् बनाएका थियौं । अस्ति पनि हाम्रा अरबहरूले स्पेनलाई जितेर सभ्यता सिकाएका थिए ।

‘श्रोताहरू हो, म सबै सेतेहरूलाई दोष दिन्नँ । म स्कट्लन्ड्, वेल्स् र आय(र्)लन्ड्का सेतेहरूको स्वतन्त्रताको निम्तिको सङ्घर्षलाई समर्थन गर्छु । वास्तवमा दुनियाँभरिका शत्रु कोही हुन् भने यिनै आङ्ग्लस्याक्सनी सुँगुरहरू (Anglo-Saxon Swines) हुन् । यिनीहरूले परमवीर चेंड्रिज खानलाई असभ्य भनेर लेखे किनभने ऊ मङ्गोल थियो । तर यिनले चेडिज खानका चार जना शान्तिदूतहरूलाई निर्दयतापूर्वक रस्सियाली सम्राट्ले काटेका कुरालाई सुटाहा इतिहासमा लेखेनन् । हामीले पनि विजय प्राप्त गरेका थियौं तर हामी रङ्गीन जातिले कहिल्यै अर्काको सभ्यतालाई नष्ट गरेनौं, उल्टो सभ्यता सिकाय, सुरक्षा गयौँ । हाम्रा विजेताहरूले स्पेनमा पहिलो विश्वविद्यालयको स्थापना गरेका छन् । सेतेहरूमा पनि रोमनहरू असल थिए तर यी आङ्ग्लस्याक्सनी सुँगुरहरू एक हातमा बाइबल र अर्को हातमा तरबार लिएर संसारभरि पसे र जहाँजहाँ यी पसे त्यहाँत्यहाँको कि त किस्तान धर्मको भाङ खुवाएर संस्कृति नै मासिदिए कि त उत्तर अमेरिका र आस्ट्रेलियामा ॐ सारा आदिवासीहरूको घृणित समूहहत्या गरेर उनीहरूलाई निमिट्यान्नै पारिदिए । यी एक नम्बर चिसा र भेदभावका कट्टर समर्थक (Racist) हुन् । अफ्रिकामा यिनीहरूले रोडिसिअ र दक्षिण अफ्रिका भन्ने दुई भिन्नै कुइरे राज्यहरू खडा गरेका छन् ।

‘म अस्ति स्वीडन् गएको थिएँ । त्यहाँजति स्वतन्त्रता मैले कहीं पाइनँ ।’ “त्यहाँ यसरी मनपरी बोल्न पाइन्छ के ?’ हाम्रै छेउकी एउटी सुकसुकाउँदी अङ्ग्रेजी युवती, छाँटले विश्वविद्यालयकी छात्रा, बोल्छे ।

‘मेरी सुकसुकाउँदी प्यारी अङ्ग्रेज तरुनी ! तिमी मलाई तिम्रो घरको कोठा किराइमा दिन्नौ किनभने तिमी रङ्गभेद मान्छ्यौ वा आफ्नो प्रेमीलाई रङ्गभेद मानेको देखाएर रिझाउँछयौ अथवा भित्रभित्र मेरो पुष्ट तागतिलो पुरुषशरीरमा राल चुहाउँदै फसिहालुँली भन्ने डरले काम्छ्यौ !’ वक्ता आँखा झिम्क्याउँछ ।

कत्ति अनुहार नबिगारेर युवती भन्छे, ‘होइन महाशय, मेरो प्रश्नको जबाफ खोइ त ?’ अनि मतिर फर्केर ऊ सोध्छे, ‘होइन त ?’

मैले ‘हो’ भन्न नपाउँदै एउटा अङ्ग्रेज युवक पर्तिरबाट कराउँछ, ‘ए वक्ता (Hey Speaker), त्यसरी व्यक्तिगत टीकाटिप्पणीदेखि लिएर हरेक राजनैतिक कुरो बोल्न स्वीडन्‌मा मात्रै होइन संसारको अरू कुनै कुनामा पनि तिमी पाउँछौ ? काले स्वाँठ !’

वक्ता हाँस्तै भन्छ, ‘वक्तासित त्यस्तो असभ्य पाराले सोध्नु हुँदैन । तिमी अङ्ग्रेज भएर पनि तिमीलाई शिष्ट र सभामा प्रयोग गर्नुपर्ने अङ्ग्रेजी आउँदो रहेनछ ।’

‘म लज्जित छु ।’ अङ्ग्रेज माफ माग्छ ।

‘म सिकाइदिन्छु तिमीलाई । मेरो पछिपछि भन- श्रीमान् वक्ता महोदय (Mr. speaker sir), के म तपाईंंसित सोध्न सक्छु वक्ता सिकाउँछ र अङ्ग्रेज युवक वक्ताको पछिपछि दोहोऱ्याउँछ अनि अघिकै प्रश्न सोध्छ । हामी मख्ख पछ गजप प्रश्न सोध्यो भनेर । सुगुरहरू हो । तिमेर्लाई आफ्नो शक्तिको घमन्ड छ र त्यसैले यस वक्ताको तिमेलाई वक्ता भन्छ, ‘संसारभरिका सबैभन्दा घृणित जड़लीहरू हो, आङ्ग्लस्थानी कुनो’ लाई सुरक्षित राख्न चाहन्छौ, जे पायो उही बोल्न दिन्छौ तर थाहा हुनुपर्ने हो अब तिमेरू प्रथम शक्ति होइनौ ।

याे पनि : ताना शर्माकाे बहुचर्चित नि-यात्रा – घनघस्याको उकालो काट्ता

अङ्ग्रेज युवती बिस्तारी मेरो कानमा भन्छे, ‘कुरो बङ्ग्यायो, कति म भन्छु उसलाई, ‘त्यसले के ? हामी प्रथम शक्ति नभए पनि हकि !’ बाठो आङ्ग्लस्याक्सनी संयुक्त राज्य अमेरिका प्रथम शक्ति छदै छ भनेर भन्नोस् न के भन्दो रहेछ ।” ठिटीलाई मेरो भनाइ मन पर्छ । ऊ त्यहाँ भन्छे कस्सिएर । वक्ता भन्छ, ‘नफुर्किओ आङ्ग्लस्याक्सनी सुँगुरहरू हो । हो, तिमेरूसित र सेते रस्सियासित पनि आणविक हतियार छन् तर थाहा छ हामी कालासित पनि अणुबम छ नि ” ‘कहाँ कससित ?’ मेरो छिमेक्नी उदेकाउँछे ।

‘मसित मेरी प्यारी, तिमीलाई भेदन गर्ने क्षेप्यास्त्र म कालेसित छ । वक्ता मस्किन्छ । जबाफ भएन । तपाईंं हार्नुभो ।’ ठिटी हाँस्छे ।

‘चीनसित !’ गम्भीर भएर वक्ता भन्दै जान्छ, ‘हामी पहेँले, काले र ध्वाँसे सबै रङ्गीन जाति हौं र हाम्रो जित अवश्यम्भावी छ । तर हाम्रो उद्देश्य तिमेलाई दबाएर कालो साम्राज्यवाद खडा गर्नु होइन…’ वाक्क लाग्छ र हामी त्यस घुइँचालाई पन्छाएर बाहिर आउँछाैँ । नजिकै थोरै व्यक्तिहरू थुप्रेको सानो बथान छ । सबै कुइरे र कुइरिनीहरू छन् र मरीमरी हाँसिरहेछन् । लेखिएको छ- हाइड् पाक् टोरीहरू । एक युवक प्रधानमन्त्री विल्सन्लाई मनपरी गाली गरिरहेछ, राजीनामा गरिहाल् भन्दै छ र छ- सात जना लेब(र्) दलका ठिटाहरू उफ्रीउफ्री उसको स्वरलाई नसुन्ने गराउन कराइरहेछन् । राजनैतिक दलवादमा यस्तो हल्ला जहाँसुकै पनि हुँदो रहेछ भन्ने हामीलाई अनुभव हुन्छ ।

हामी हेर्छाैँ चारैतिर । त्यो अधिको काले (सर्वश्रेष्ठ वक्ता) कराइरहेकै हुन्छ- ‘म ट्रिनिडाडबाट आएको हुँ । म काले हुँ । यहाँ भेला हुने कति कालेहरू भोलि आफ्नाआफ्ना देशका ठूला नेताहरू, मन्त्रीहरू हुनेछन्- तिमी आङ्ग्लस्याक्सनी बाँदरहरूचाहिँ भुइँमुनि माअबल् आचबाट टट्नम् कोट् रोड्, पिकडिली सकस्बाट ब्रेक(र्) स्ट्रीट् नै गरिरहनेछौ ।’

हामी एउटा ध्वाँसेतर्फ जान्छाैँ । ऊ एक्लै बरबराइरहेछ । उसले आफू बोल्ने काठको बाकसअगाडि लेखेको छ- ‘विश्वव्यापी आध्यात्मिक टुना’ । ऊ घॉटी सुकुन्जेल कराइरहेछ । कोही सुन्दैन । हामी अघि बढ्छाैँ । केही बूढाहरू ठको बाकसमाथि उभिएका छन् । ‘भिएट्नाम, भिएट्नाम ।’ भन्ने आवाज सनिन्छ । घुइँचालाई चिरेर भित्र पसेर हेर्दा लेखेको पाइन्छ- भूतपूर्व सैनिकहरूको शान्ति आन्दोलन’ । ती सैनिक तक्मे बूढाहरूलाई आफ्नो डम्फु बजाउन त्यही छोडेर केही पर्तिर जाँदा एउटा सानो आय (र्) लन्ड्को फुचो स्वतन्त्रताको निम्ति कराइरहेको देखिन्छ । हामीसित त्यस्ता केटोकटीको बम्काइलाई सुन्ने समय छैन । अलिक पर जाँदा प्रोटेस्टन्ट् र क्याथलिक्का दुई दल घाँटी सुकुन्जेल एक मठी बिलखबन्दमा परेका व्यक्तिहरूलाई आकर्षित गरेर आफ्नो धार्मिक जालमा पाने प्रयत्नमा व्यस्त हामी देख्छाैँ । हामी अब ‘वक्ताहरूको कुनो’ को बार नाघेर पश्चिमतर्फको खुला मैदानतिर पिच् रोड्बाट जान्छौँ । त्यहाँ पनि कुलामा तीन ठाउँ मान्छेहरू थुप्रेका छन् ।

पहिलो थुप्रामा तीस जनाजति मान्छेहरू ध्यानपूर्वक एउटा सिकुटे दाढीवाल अङ्ग्रेजलाई सुनिरहेका छन् । ऊ भुइँमै उभिएको छ र उसको अगाडि ‘महान् बेलाइतको समाजवादी पार्टी’ लेखेको काई ठड्याइएको छ । ऊ भन्छ, पुँजीवादले समाजको सर्वाङ्गीण उन्नति गर्न सक्तैन, यसले थोरै जनतालाई मात्र धनी पार्छ । वास्तवमा यसले धनीलाई झन् धनी र गरिबलाई अझ गरिब पार्दै तान्छ ।’

दुइटी केश पाकेका बूढीहरू एकअर्कालाई हेर्दै स्वीकृतिसूचक मुन्टो हल्लाउँछन् र एउटी बिस्तारी भन्छे, ‘हो त ।” मचाहिँ तपाईंंहरूलाई हाइड् पाक् टोरीहरूको सम्झना गराउँछु । त्यसमा पनि त वक्ताले भनेको थियो, ‘विल्सन्‌को जनता निचोर्ने र जमाउने (Freeze) यस सरकारले धनीलाई अझ धनी र गरिबलाई अझ गरिब पार्दै छ ।’

अहिले लेब(र्) को सरकार नभएर टोरीको भएको भए लेब (र)हरूले त्यही दोषारोपण टोरीहरूमाथि थोपर्ने थिए होलान् भन्दै हामी तीन सयजति मानिसहरू थुप्रिएको रमाइलो बथानमा पुग्छाैँ । यस बथानमा मञ्च निकै अग्लो छ र एउटा पातलो सुन्दर युवक कराइरहेछ, ‘म आय (र्) लन्ड्को छात्रसङ्घको अध्यक्ष हुँ । हामी छात्रहरू तपाईंं आय (र्) लन्ड्का जनतासित क्रान्तिको निम्ति आह्वान गर्छाैँ । अब हामीले रक्सीमा पौरी खेल्ने समय छैन ।’

लन्ड्को राष्ट्रिय एकता वक्ताको अगाडिको काठमा लेखिएको छ, ‘आय्(र्) (Irish National Unity) ।’

वक्ता भन्दै जान्छ, ‘हामीले उत्तरी आय (र्) लन्ड्लाई स्वतन्त्र गर्नैपर्छ र यसलाई दक्षिणसित मिलाउनैपर्छ । यी अङ्ग्रेज साम्राज्यवादीहरूले हामीलाई दुई भागमा बाँडेर छुट्टयाउन चाहे अनि आज हाम्रो दक्षिण आय(र्)लन्ड्को कठपुतली सरकार… ( स्पष्टसित सुनिंदैन, बक्ता सुन्तलाको रस खान्छ अनि सङ्गीतमय ज्यादै शिष्ट अङ्ग्रेजी) साथी हो । हामीलाई रगत चाहिएका स्पष्ट हाम्री मातृभूमि रगतको तिर्खामा छटपटाइरहेकी छिन् । क्रान्तिको बल्दो ज्याला दन्काएर हामीले हाम्रो पवित्र दीपलाई मुक्त गर्नुपर्छ । आगामी निर्वाचनमा हामी छात्रहरू घरघर डुलेर राष्ट्रिय एकताको निम्ति मोर्चा बाँध्ने दलका सदस्यहरूलाई जिताउनेछाैँ र आजको सरकारलाई फेरेर बेलाइतसित लडाई गर्नुपरे पनि नहट्ने खालको राष्ट्रिय सरकार कायम गर्नेछाैँ ।’ [परिव सुनिन्छ

राष्ट्रिय एकताको भावनाले अनुहारमा गम्भीरता बोकेका राता केश भएका युवकयुवती र अधबैसे अधबैंसेनीहरू बक्तालाई श्रद्धापूर्वक आँखा नभाई । हेरिरहन्छन् । हामी भने आफ्नो पढाइमा ध्यान दिन छोडेर राजनीतिमा युवकलाई त्यहीं छोडी अन्तिम बथानतिर जान्छौँ । बम्कने अन्तिम बथानमा पचास-साठी व्यक्तिहरू छन् तर यस बथानमा जति रमाइलो वातावरण कहीं देख्न पाइँदैन । छोटाछोटा घुँडादेखि धेरै माथिसम्म देखिने मिनीस्कट् लगाएका सुन्दरीहरू, केश लामो पालेर पूरे अनुहार छोपेका बीटल युवकहरू, तालुखुइले बूढाहरू, पेट फुलेका बूढीहरू सबै मस्तसित हाँसिरहेका छन् । वक्तालाई गोलो पारेर दर्शकले घेरेका छन् । वक्ता भन्छ, ‘क्रिस्चियन् किल(र्)ले पञ्फ्युमोलाई फसाउनुभन्दा अघि थाहा छ प्रेम कहाँ सिकी 2 तिमेरूलाई के थाहा हुन्थ्यो ! म भन्छु सुन । ऊ मेरी प्रेमिका थिई । उसतिरबाट मेरी एउटी छोरी पनि छे ।’

हाँसो चल्छ ।

कत्ति विचलित नभई ऊ भन्दै जान्छ, ‘उसको परिचय मेरो प्याडिड्टन् स्टेशनबाट लिभपुल् स्ट्रीट्तर्फ जाने भुइँमुनिको रेलमा भएको । अनि मेरा परम मित्र चञ्चिल् उससित पल्के । मैले नै चञ्चिल्सित पिकडिलीको ह्वाइट् वेय(र्) पवमा रक्सी खाँदै गर्दा… ।’

उसको अनुहारभरि हरिया र राता फूलका बुट्टैबुट्टा खोबिएका छन् । हात, नारी, पाखुरा, खुट्टा साराका सारा खोबिएका छन् । कान, गर्दन, छाती सबै फूलका घिनलाग्दा बुट्टैबुट्टाले कोरिएका छन् । मान्छे पुड्कोपुड्को मोटो अधबैंसे छ ।

म एक टोप लगाएका जुँगे सज्जनलाई नम्रतापूर्वक सोध्छु, ‘यो मान्छे को हो ? कृपया तपाईंंलाई थाहा भए भन्नोस् न । यसले शरीरभरि के गरेको ?”

अङ्ग्रेजहरू नबोलुन्जेल गम्भीर तर बोलाएपछि ज्यादै शिष्ट र हँसमुख हुन्छन् । मुस्काउँदै सज्जन बयान गर्छ, ‘यो बिचरो दक्षिण अफ्रिका सङ्घको नामी कुस्तीबाज थियो । बुढ्यौलीले भेटेपछि जीविकाको अरू साधन नभएकाले शरीर सबै खोबाएर यहाँ मनोरञ्जन गर्न आउँछ । यसले भनेका कुरा नपत्याउनुहोला नि । यो सबै ढाँट कुरा गर्छ र हँसाउँछ । यो ढँटवारे हो ”धन्यवाद ।’ भन्दै म तपाईंंहरूसित फेरि ‘वक्ताहरूको कुनो तर्फ फर्कन्छु । ‘वक्ताहरूको कुनो’ अलकत्रा लगाएको आडनजस्तो छ । यो उति ठूलो छैन । त्रिचन्द्र कलेजले लिनुभन्दा अगाडिको तीनधारा पाकशालाको मैदानको दोब्बरजत्रै नै हो ।

ट्रिनिडाड्को काले कराइरहेछ । उसलाई घाम, पानी, बतास केहीले रोक्तैन । अफ्रिका, एसिया र ल्याटिन अमेरिकाको मुक्तिबारे ऊ बोलिरहेछ । ऊ विद्वान् छ, तपाईंंबाट विद्वत्तापूर्ण प्रश्नको आशा गर्छ । उसलाई सम्पूर्ण विश्वको इतिहास, अर्थतन्त्र, सामाजिकता र राजनीति कण्ठस्थ छ । ‘ऊ साम्यवादी होइन, पाश्चात्य प्रणालीको प्रजातन्त्रवादी पनि होइन । ऊ राष्ट्रिय मुक्तिको समर्थक हो । तपाईंंलाई थाहै होला, यसै कुनामा भारतका कृष्ण मेननले बोल्ने अभ्यास गरेका थिए रे । लन्डनमा पढ्ने विभिन्न मुलुकका राम्रो बोल्ने छात्रहरू यहीं आएर बोल्छन् । जे बोले पनि हुन्छ । पुलिसले तपाईंंको रक्षा गर्छ । बेलाइत सरकारको विरोध गर्नोस् वा अरू मुलुकको आलोचना गर्नोस् तपाईंं स्वतन्त्र हुनुहुन्छ । तर श्रोताहरू ज्यादै बाठा र पढेलेखेका हुन्छन्, प्रश्नहरूको वर्षा गर्नेछन् ।

के स्वीडन् स्वीडन् भनेर कराको ए काले । स्वीडन्‌मा कालाहरू पस्ने केही डर छैन । यहाँ बेलाइतमा तिमेरू दस लाख काले र ध्वाँसेहरू पुगिसक्यौ । तिमेर्का जङ्गली पछौटे मुलुकमा खान नपाएर तिमेरू लन्डनमा काम र मामको लागि थुप्रेर हामीलाई अप्ठ्यारो पारिसक्यौ । यस्तो समस्या स्वीडन्‌मा भएको भए उनीहरूले पनि हामीले झैँ रङ्गभेद नीति लिनुपर्थ्यो, बुझ्यौ !’ एउटा अङ्ग्रेज युवक यति भनेर दुवै हातले आफ्नी प्रेमिकाको कम्मरलाई बेर्छ ।

वक्ता हाँस्तै भन्छ, ‘किन डराको ए अङ्ग्रेज सुँगुर ? किन छातीमा टाँस्छस् तेरी सेती प्रेमिकालाई ? म कत्ति मन पराउँदिनँ !’ ठिटी मुसुक्क मुस्काउँछे, ‘थूक ननिल् !’

वक्ता श्रोताहरूतर्फ फर्केर कुर्लन्छ, ‘स्वीडन्को के कुरो, फ्रान्स्लाई नै हेर न । फ्रान्स्ले आफ्ना उपनिवेशमा गएर कत्ति नढाँटी, कुरा नलुकाई तिमेरू जङ्गली छौ, पढ, सिक भन्यो र पढ्ने जान्ने र सभ्य हुनेलाई आफैंमा मिलायो, फ्रान्सेली बनायो । प्यारिस्मा हेर, केही रङ्गभेद छैन । तर तिमेरू सुँगुर हौ । आङ्ग्लस्याक्सनी सुँगुरहरू बाइबल लिएर उपनिवेशमा गएर मानिस बराबर हुन् भनेर बाहिरी मुखले भने, कपट मनमा राखे अनि कहिल्यै उपनिवेशकाहरूलाई आफूमा मिलाएनन् । विरोध गर्नेलाई बाइबलको शिक्षा दिए, निष्क्रिय र अल्छे तुल्याए अनि आफूले तलवार चलाएर साम्राज्यको घृणित विस्तार गरे । तिमी सुँगुरहरू फ्रान्स्को स्तरमा कहिल्यै पुग्दैनौँ ।’

तिमेरू दस लाख फोहोरी कालाहरू आफ्ने मुलुकमा फर्क, झट्ट गइहाल, हामीलाई तिमेर्लाई देख्ता बान्ता आउँछ । एउटा अर्को अङ्ग्रेज कराउँछ ।

‘पहिले तिमेरू तीस लाख सेतेहरू अफ्रिकाबाट यस नरकमा फर्क अनि हामी विचार गरौँला, घृणित सुँगुर हो । सबै हलल्ल हाँस्तै थपडी बजाउँछन् । एउटी न काली, न सेती बूढ़ी मलाई कति बेलादेखि हेरिरहेकी हुन्छे । मैले उसतिर हेरेर शिष्टतापूर्वक मुस्काएपछि ऊ साहस बटुलेर भन्छे, ‘कालाहरू त अफ्रिका जालान् रे, सेताहरू युरोपमा बस्लान्, तपाईंं र मजस्ता सेता र कालाबाट मिसिएर जन्मेकाहरूले कहाँ जाने हैँ महाशय ?” म झस्किन्छु, ‘के म मिश्रितजस्तो देखिन्छु र ?’

भो, अब ६.१५ भइसक्यो । फर्को शिवगोपाल र प्रचण्ड ग्लस्ट (र्) रोड् जानुहुन्छ । म अल्स्कोट् जान्छु । तपाईंं नि त ? ए, हरिप्रसादज्यू हुँदैहुनुहुन्छ नि । उहाँसितै रसल् स्क्वेअ (र्) जानुभए पनि ता हुन्छ नि । माअंबल् आच्वाट हबन् (Holborn) सम्म सोकै पूर्व जाने केन्द्रीय लाइन्बाट जानोस् र हबन्मा ओर्लेर पिकडिली लाइन्‌को उत्तर जाने रेलबाट एक स्टेशन गएपछि रसल् स्क्वेअ (र्) पुगिहाल्नुहुन्छ । होइन, म त पिकडिलीको बिजुलीको झिलिमिली हेर्न जान्छु भन्नुहुन्छ भने अक्स्फोड् सअकस्मा ओर्लेर बेकलु लाइन्‌को दक्षिणगामी रेलबाट पिकडिली सञ्कस्मा ओर्लनोस् ।

तर मित्र हो ! जहाँ ओले पनि प्रजातन्त्रकी माता बेलाइतको यस सानो कुनालाई कहिल्यै नबिर्सनुहोला । यो उति महत्त्वपूर्ण देखिँदैन, लन्डनमा अरू हजारौं ज्यादै नै सुन्दर स्थानहरू छन् तापनि यो ‘वक्ताहरूको कुनो’ नै संसारभरिमा एक मात्र यस्तो स्थान हो जहाँ मान्छेले मनमा लागेको जे कुरो पनि उन्मुक्त भएर प्रकट गर्न पाउँछ ।
(स्व‍. ताना शर्माप्रति श्रद्धाञ्जलि ब्यक्त गर्दै, शर्माको निबन्धस‌ंग्रह बेलाइततिर बरालिँदाबाट साभार)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *