ताना शर्माकाे बहुचर्चित नि-यात्रा – घनघस्याको उकालो काट्ता

२०२४ सालको एसएलसी परीक्षाको सञ्चालन गर्न डोटी जाँदा राष्ट्रको पश्चिमी सीमामा स्थित महाकाली नदीलाई झुलाघाटमा तरी बैतडी र डडेल्धुरा हुँदै सिलगढी पैदलै पुग्नुपरेको थियो । झुलाहाटदेखि बैतडीसम्मको उकालो काटी बैतडीमा दुई रात बिताएर डडेल्धुरामा एसएलसी परीक्षा सञ्चालन गर्न हिँडेका मित्र र वहाँका साथीसित म र प्रेमबहादुर प्रधान डोटीतर्फ हिँडेका थियौँ । हामी दुई रात डडेल्धुरामा पनि बसेका थियौँ ।

आजभोलि त दक्षिण तराईबाट मोटरको बाटो पनि त्यतातिर पुगिसकेको छतर सुदूर पश्चिम पहाडको विकटता अझै पनि छँदै छ । घनघस्याको अग्लो डाँडो बैतडी र डडेल्धुराको बीचमा अवस्थित छ । हामी बैतडीतिरबाट डडेल्धुरा गएका थियौँ र यस नियात्रामा त्यही उकालाको बयान गरिएको छतर डडेल्धुरातिरबाट बैतडी जाँदाको दक्षिणी पाटो पनि उत्तिकै अप्ठ्यारो छ ।

****

२०२४ साल पुसको अन्तिम हप्तामा म महाकाली अञ्चलमा थिएँ । मेरो जन्म मेची अञ्चलमा भएको थियो । म सुदूर पूर्वको इलामे शरीर बोकेर सुदूर पश्चिमको बैतडीबाट डडेल्धुरातर्फ हिँडेको थिएँ ।

म नेपाललाई माया गर्ने राष्ट्रवादी मान्छे हुँ र मेरो राष्ट्रको हरेक भागलाई म उत्तिकै स्नेहसित मुटुमा सँगाल्छु । म खप्तडमा वसन्त बिताउन चाहन्छु, तुम्लिङमा हिउँ खेल्न चाहन्छु र राजापुरको काँसे घारीमा झ्याउरे गाउन चाहन्छु । मलाई तिल्केनीको उकालो, घनघस्याको उकालो र चन्दनीको उकालोसित जति प्रेम छ, उति नै प्रेम अघोरी गाड, पुवा खोला र टुकुचासित छ । सतबाँझको लेक होस् वा ट्याम्के डाँडो होस्, अन्तु डाँडो होस् वा चन्द्रागिरि होस्, जहाँ पनि उस्तै पाराको आफ्नोपनले मेरो मुटु ढुक्ढक्याउँछ ।

जीवनमा कति उकालाहरू काटियो होला र कति ओह्रालाहरू झरियो होला, तर थोरै व्यक्तिले मात्र घनघस्याको उकालो चढेका होलान् । यो यस्तो उकालो हो, जो कठोरतामा अद्वितीय छ । अघोरी गाडदेखि उकालिन थालेको यो डाँडो सहारा मरुभूमिको तिर्खालाई बिर्साउँछु भने झैँ तपाईंतिर हेरेर खिस्स हाँस्छ । संसारले अनेकौँ काँचुली फेरिसक्यो, देशका अरू भागले हजारौँ नयाँ दृश्यहरू देखिसके, तर यो उकालो अनन्तदेखि उस्तै छ । युगहरू बिते र समयले टाप लगायो, तर घनघस्याको उकालो उत्तिकै घोसेमुन्टो लगाएको लगाएकै छ ।

टाउकामा चिप्लो न चिप्लो बरफको हिउँलो केश फुलाएर आफ्नो अररो वृद्ध शरीरमा काला रूखहरूको जिङ्ग्रिङे भुत्ला ठड्याई यो घनघस्या गजधुम्म परेर बसेको छ । यो मान्छेहरूसित रिसाएको छ, अग्घोरै रिसाएको छ, अघोरी गाड जत्तिकै रिसाएको छ अनि पोखराली सेती जत्तिकै रिसाएको छ । सेती नदी पृथ्वीको पेटमा भासिँदै जाओस्, यो चाहिँ ठडिएको ठडियै छ । यसले कहिल्यै त टाउको झुकाउला कि भनेर मैले निरीक्षण गरिहेरेँ, तर त्यस्तो लक्षण कतै भेटिएन । उल्टो यो झन्–झन् दृढ हुँदै गइरहेको पो मैले पाएँ ।

प्रकृतिसित जुध्नु नै जीवनको रमाइलो हो भन्ने भावलाई ह्याकुलाले छोपेर नै म सुदूर पश्चिमको भ्रमणमा निक्लेको थिएँ । बैतडीको शाहीलेकमा अवस्थित विद्यालय भवनमा दुई रात बसेपछि डडेल्धुरा जान तम्सिँदा भरिया पाइएन । नौ बजे भात खाएर हिँड्न तयार भएका हामी चार जना व्यक्तिहरू साढे दस बजेसम्म वाल्ल परेर दुई भरियाको खोजमा यता र उता दुगुर्दै नै थियौँ ।

झट्ट मलाई सहायक अञ्चलाधीशको सम्झना भयो । हामी दुगुर्दै सहायक अञ्चलाधीशलाई भेट्न माथि बैतडी बजारतर्फ गयौँ । सहायक अञ्चलाधीश यमुनाराज पौड्यालज्यूले लगत्तै दुई जना दमाईहरूलाई बोलाएर सत्र–सत्र रुपियाँमा पाटनसम्म भारी बोक्न मिलाइदिनुभयो । एघार बजे हामी दशरथ चन्दको सालिकलाई श्रद्धाका दुई थोपा आँसु चढाएर सतबाँझको लेकतर्फ उकालियौँ ।

बाटामा एउटा रमणीय ठाउँ भेटियो । देब्रेपट्टि पर्खालले घेरेको ढिस्कामा राम्रो मन्दिर थियो, जसको छानाको मर्मत हुँदै थियो । पर्खाल बाहिर फलामे साङ्लीको अग्लो पिङ थियो । त्यसमा मच्चिएर मैले उत्तर पश्चिमतिरका हिमचुचुराहरू देखेँ । सात–आठ पसलहरू थिए, जसका वरिपरि भेडाका बथानहरू नून र चामलका बोराहरू बोकेर उग्राइरहेका थिए । ठाउँठाउँमा बारीहरू थिए, वनहरू थिए र चरनहरू थिए । गाईहरू चराउँदै गोठाला गोठाल्नीहरू विरहलाग्दा गीतहरू कुर्लिरहेका भेटिन्थे । आउने–जाने मान्छेहरूमा समूह पनि प्रशस्तै देखिन्थे । धेरै माथि पुगेपछि हिउँले ढाकेको पाखो देखियो ।

नेपाल हिमाली मुलुक हो, तापनि धेरैजसो नेपालीले हिउँ कुल्चन पाएका हुँदैनन् । मैले २००१ सालको विशाल हिउँ वर्षा हुँदा फिक्कलमा हिउँमा खेल्नबाहेक र दार्जिलिङमा एक–दुई पटक हिउँ फुस्फुसाएको देखे बाहेक हिउँको राम्रो परिचय बेलाइतमा मात्र पाएको थिएँ । बेलाइती हिउँभन्दा सतबाँझका लेकको हिउँ बेग्लै थियो । यो हिउँ मेरो थियो, मेरो मुटुको थियो र हिमाली हार्दिकता बोकेको र चम्किलो थियो ।

मेरा साथी प्रेमबहादुर प्रधान र म यस हिउँमा निकै बेरसम्म खेल्यौँ, कहिले चिप्ली खेल्दै कहिले हिउँका डल्लाले एक–अर्कालाई हिर्काउँदै र कहिले हिउँका रमाइला थुप्राहरूमा आकृतिहरू बनाउँदै र लेख्तै हामीले सतबाँझमा समयलाई जिस्क्यायौँ । डाँडामा पुगेर पूर्वतर्फ दृष्टिपात गरेपछि पो हामीलाई थाहा भयो, हामीले सतबाँझलाई छोडेर धेरै टाढा जानु रहेछ । जीवन एउटा नटुङ्गिँदो यात्रा रहेछ । जतिसुकै प्यारो लागे पनि सतबाँझ जस्ता रमणीय स्थानहरूलाई छाड्नुपर्दो रहेछ । ओह्रालो झरेर तेर्सै तेर्सो बाटो हामी हिँडिरह्यौँ, हिँडिरह्यौँ ।

सल्लैसल्लाको घारीको मध्य भागबाट हिँडेपछि एउटा चौतारो आइपुग्यो । झमक्क साँझ परिसकेकाले तल जंगलमुनिको टार अलेली मात्र देखिन्थ्यो । पहाडबाट झर्दा मधेश पुग्ने बेलाको झैँ दृश्य थियो त्यो । बास नपाइएला भनेर भरियाहरू र दुई साथीहरूलाई त्यहीँ छाडी प्रधान र म ओह्रालो दुगुर्‍यौँ बासको व्यवस्था गर्न ।

फेदीमा जंगल सकिएपछि रमाइलो विशाल चौर आइपुग्यो । त्यसै चौरलाई पाटन भन्दा रहेछन् । फट्याकफुटुक घरहरू देखा परे । बाटामा घरेलु विभागका एक कर्मचारीसित भेट भयो । कास्कीतिरका ती व्यक्तिले अरूतिर बस्ने ठाउँ पाइँदैन भनेर आफ्नै डेरातिर लगे । डेरामा काठमाडौं घर भएका दारी नै दाचरीले ढाकिएका स्वास्थ्य केन्द्रका कर्मचारी पनि रहेछन् । ती दुई दयालु सज्जनका पाहुना भएर हामी उनीहरूकै दालभात खाई त्यस रात राम्ररी सुत्यौँ ।

भोलिपल्ट ती भरियाहरू डडेल्धुरा जान मानेनन् । सहायक अञ्चलाधीशले पाटनका प्रधानपञ्चलाई भरिया बन्दोबस्त गर्न लगाउनुहोला भनेकाले खोज्दाखोज्दा साढे एघार बजेतिर मात्र प्रधानपञ्चसित भेट भयो । उनले दुई जना भरिया खोजिदिए, तर त्यतिन्जेलमा दिउँसोको बाह्र बजिसकेको थियो । घरेलु विभागका कर्मचारीले भोलि मात्रै जानोस्, आज मरे पनि डडेल्धुरा पुगिँदैन भनेर जिद्दी गरे पनि हामी बाह्र बजे पाटनबाट हिँड्यौँ ।

ठीक दुई बज्दा त्यस दिन हामी तेर्सैतेर्सो हिँडेर अघोरी गाड पुगेका थियौँ । अघोरी गाडमाथि अग्लो पारेर तेर्स्याएको फलेकको साँघु तरेर हामीले टोपी खस्ने उकालामा पाइला राख्यौँ । डरलाग्दो जङ्गलले घेरिएको ढुङ्गेनी बाटाले मुटु ढक्क फुल्यो । यही थियो कुख्यात घनघस्याको विकट उकालो ।

मेरो शरीर अलिक मोटो भएकाले उकालो देख्ने बित्तिकै मेरो सातोपुत्लो उड्छ । तेर्सो र ओह्रालो बाटामा म निकै छिटो हिँड्न सक्छु, तर उकालो भने मेरा लागि जेमराज जत्तिकै भयावह हुन्छ । तर, म विवश थिएँ, मैले घनघस्या नकाटी भएको थिएन । पाटनका सहृदय व्यक्तिहरूले दिएका दुई लाँक्रा उखु पहिले टेक्तै र पछि चबाउँदै हामी एकोहोरो उकालिइरह्यौँ, उकालिइरह्यौँ ।

जोगबनीदेखि धरानसम्काे अलकत्रे बाटालाई धिक्कार्दै र भादगाउँदेखि बाह्रबीसेसम्‍मको फराकिलो कालो बाटालाई सराप्तै हामी ठसठस कनिरह्यौँ । सिंहदरबार अगाडिको चिप्लो बाटो त्यहाँ थिएन, न त्यहाँ भैरहवाबाट बुटौल जाँदा जस्तो तेर्सो सोझो बाटो नै थियो । त्यहाँ त चुच्चे ढुङ्गाहरू पहरामा तेर्सिएका थिए काला रूखहरूका छायामा कच्पल्टिएर । पसिनाले निथ्रुक्क भिजेर हामी ६ जना अभागीहरू आकाशतर्फ उचालिइरह्यौ, उचाइलिइरह्यौँ ।

नील आर्मस्ट्रङहरूलाई त्यति फिटफिटी परेन होला, किनभने चन्द्रमामा पुग्दा उनीहरूसित यथेष्ट वैज्ञानिक उपकरणहरू उपलब्ध थिए । हामी भने पानी समेत नपाएर राेयौँ । निकै माथि पुगेपछि दुइटा पानीका कुला भेटिँदा स्वर्ग पुगेको अनुभव भयो, मरुभूमिका यात्रीले एक्कसी मरुद्यान भेटे झैँ हामी फुलेल भयौँ ।

त्यत्ति हो, अरू पानी कतै भेटिएन । धेरै–धेरै माथि हिउँ प्रारम्भ हुने ठाउँमा पो एउटा असाध्यै चिसो धारो रहेछ । बाटामा एक–दुई ठाउँ घरहरू भेटिए, तर तिनमा मान्छे थिएनन् । धुरामा पुग्ने बेला तीन माइल जति बाटो जमिसकेको हिउँले ढाकिएको थियो ।

चिसो धारामा पानी खाएपछि दुई भरियाहरू लागे हिउँ नै हिउँको पहरातिर । म पनि तिनको पछि लागेँ । चिप्ला हिउँका ढुङ्गाहरू खाली खुट्टाले टेक्तै रामसिंह भरिया र उसको भतिजो उकालिए । म तिनको सहनशीलता देखेर मख्ख पर्दै ठाउँ–ठाउँमा चिप्लेर लड्दै तिनीहरूसित धुरातर्फ चढेँ । रामसिंह, उसको भतिजो र म टुप्पामा पुग्‍दा पाँच बजेको थियो । अरू साथीहरूको पत्तो थिएन ।

पूर्वपट्टि डडेल्धुरा कुइरामा कता हो कता चन्द्रमा जस्तै टाढा भएर बिलाएको थियो । उँधोतिर कहालीलाग्दो कालो जङ्गल थियो, जसलाई छिचोलेर एउटा खोलो तरेर एउटा उकालो चढेपछि मात्र डडेल्धुरा पुग्न सकिन्थ्यो ।

डरलाग्दा चितुवा र भालु लाग्ने पट्टेर जङ्गललाई सेतै ढाकेको हिउँमा खाली खुट्टाका औंलालले मान्छेको आकृति कोरेर रामसिंहले भन्यो, ‘आज डडेल्धुरा पुग्न सकिँदैन, पोखरातिर राति बाह्र बजेतिर सम्ममा पुगिएला ।’

‘पोखरा पनि पुगिँदैन । तल कतै रित्तो गोठ पाइएछ भने त्यहाँ रात काट्नुपर्छ ।’ भतिजो चाहिँले हिउँका डल्लाले छेवैको रूखलाई हिर्काउँदै भन्यो ।

म चाहिँ साथीहरू हिउँमा हराए कि भनेर विचलित भएर कराएँ, ‘प्रेमबहादुर भाइ !’

प्रत्युत्तरमा हावा मात्र सुइइयँ गर्‍यो ।

‘जाऊँ त कसरी जाऊँ, बसूँ त जाडोले सिध्याइसक्यो !’ भन्दै मैले हिउँको ढिस्को थुपारेँ ।

बल्ल साढे पाँचतिर साथीहरूले जवाफ दिए तल भीरतिरबाट, ‘हामीले बाटो हरायौँ !’

हाम्रो आवाजलाई पछ्याउँदै साथीहरू डाँडामा निस्किसकेपछि मैले भनेँ, ‘आज डडेल्धुरा त कुनै अवस्थामा पनि पुग्न सकिँदैन रे ।’ रामसिंह पोखरासम्म पुगिहालिन्छ कि भन्छ भने उसको भतिजो चाहिँ तल गोठतिर अलपत्रै सुत्ने कुरो गर्छ । त्यसैले छिटो हिँड्न नसक्ने साथी चाहिँ दुई जना भरियाहरूसित बिस्तारी आउनुहोस्, हामी तीन जना चाहिँ दुगुर्दै पोखरा जान्छौँ अनि बासगाँसको व्यवस्था मिलाउँछाैँ । जस्तै अवस्थामा पनि र जति रात परे पनि तपाईंहरू अवश्य आइपुग्नुहोला ।

मेरो योजना सबैलाई मन परेकाले प्रेमबहादुर प्रधान, एक जना साथी र म ओह्रालो कुद्‌यौँ । लड्दै पछारिँदै धेरै हिँडेपछि बाटो तेर्सियो र फेरि उकालियो । अनेकौँ ओह्राला र उकाला बाटाहरू हिँड्दाहिँड्दै अँध्याराले झ्याप्पै छोप्यो । चोर, डाँका, भूत,प्रेत र जङ्गली जनावरका आक्रमणको आशङ्काले ढक्क भएको छातीलाई दुई हातले थिचेर हामी तीन जना एक प्राण र एक मुटु भएर दगुरिरह्यौँ ।

हामी यति पछारियौँ, भनेर साध्य छैन । हामीलाई यति तिर्खा लाग्यो, भनेर साध्य छैन । भोक, डर र बाटो बिरियो होला भन्ने आशङ्काले थुर्थुर हुँदै दस बजे रातितिर एउटा डाँडामाथिको गाउँमा हामी पस्यौँ । निकै घरमा बोलाएपछि एउटाबाट थाहा पाइयो, बाटो बिरिएको रहेनछ । अनेकौँ घरमा प्रयत्न गरेपछि एउटा छाप्राकी खड्किनी मकै भुट्न तयार भई । लोग्ने परदेश लागेको रहेछ । तल्लो तलामा गाई बाख्रा थिए र माथ्लामा सस्याना भन्टाङभुन्टुङ छोराछोरीहरू यत्रतत्र पसारिइरहेका थिए ।

दियालाको छेस्को बत्ती जस्तै बालेर त्यस आइमाईले अँगेनामा बीट नभएको ताप्के जस्तो भाँडाले कुँचाले चलाएर तीन घान मकै भुटिदिई । पैसा पहिले दिएपछि मात्र त्यसले मकै हाम्रो रुमालमा हालिदिई । प्रशस्त पानी लोटाबाट खाएर त्यो अमृत जस्तै मकै खाँदै हामी पोखरातिर लाग्यौँ ।

खड्किनीले भनेकी थिई, ‘बाटामी गाड पडन्छ ।’

साँच्चै नै बाटामा एउटा खोलो रहेछ । त्यहाँ मन ढक्क फुल्यो । खोलो वास्तवमा मसानघाट हो, किनभने मरेका मानिसलाई खोलाकै किनारमा जलाउँछन् । त्यसै हुनाले खोलो भन्ने बित्तिकै दिउँसै पनि मेरो सातोपुत्लो उड्छ भने रातिको त कुरै भएन । तर, त्यहाँबाट केही उकालो लागेपछि नै रमाइलो डाँडो टुप्लुक्क देखा पर्‍यो,जसमा बाटामा दुवैतिर पन्ध्र–सोह्र ढुङ्गाले छाएका घरहरू थिए । घरहरू सबै बन्द थिए । एक–दुई घरका बाहिरपट्टि सिकुवामा मान्छेहरू सुतिरहेका थिए ।

मैले सोधेँ, ‘पोखरा कता पर्छ ?’

‘यही हो !’ एउटाले ओढ्ने भित्रैबाट भन्यो ।

‘दोकानहरू सबै थुनिएका छन् नि ? यहाँ कतै पनि बास पाइँदैन कि क्या हो ?’ प्रेमबहादुर प्रधानले सोध्नुभयो ।

‘दोकानमा राति कोही बस्तैनन् । दिउँसो बेचबिखन गरेर बेलुका ती गाउँतिर आफ्ना घरमा सुत्न जान्छन् । बरू अलिक पर्तिर जानोस्, एउटा पसले त्यहीँ सुत्छ । त्यहीँ बास पाइन सक्छ ।’ त्यस मान्छेले ओढ्ने झिकेर हामीलाई राम्ररी नियाल्दै भन्यो ।

हामी अघि बढ्यौँ । साँच्चै नै एउटा घरभित्र लालटिन बलिरहेको हामीले देख्यौँ । ढोका निकै घचघच्याएपछि एउटा बूढाले ढोका उघारी लालटिन उचालेर हामीलाई हेर्दै सोध्यो, ‘रातिहुँदो के चाहियो ?’

मैले घडी हेरेँ– रातिको बाह्र बजेको रहेछ ।

‘हामीलाई एक रातको बास चाहियो ।’ मैले भनेँ ।

‘यहाँ बास पाइँदैन ।’ बूढो ढोका ढप्क्याउन लाग्यो ।

‘त्यसरी निठुरी बन्न तपाईं पाउनुहुन्न । हेर्नोस्, हामी टाढा पूर्वबाट आएका । बास नदिए पनि केही खानेकुरा भए दिनोस्, हामी किनेर खान्छौँ ।’ प्रधानले भन्नुभयो ।

बूढासित खाने कुरो केही रहेनछ । चिउरा, मकै, चामल, आलु केही रहेनछ । सस्याना सुन्तलाहरूले भरिएको एक डालो रहेछ ।

‘कास्‍की पोखराका सुन्तला रहेछन् नि त तारा दाइ !’ अर्का साथीले व्यङ्ग्य गर्नुभयो ।

अनि हामीले दुई–दुई रुपियाँका तीस–तीस दाना जति ती चिचिले सुन्तला खायौँ । बूढाले कति गर्दा पनि त्यहाँ बास दिन मानेन । उसकै घर अगाडिको चिसो छानु ह्वाङ्गै भएको र फोहरी कटेरो उसले देखायो । त्यसैसित दुई रुपियाँका ती अँगाला दाउरा किनेर हामी आगो ताप्तै साथीहरूलाई पर्खन लाग्यौँ ।

राति दुई बजे सास मात्र बाँकी राखेर भरियाहरू र साथी आइपुगे । अनि रामसिंह र उनको भतिजो आगोको छेउमा पातलो तन्दा ओछ्याएर र हामी चार भाइ आ–आफ्ना सुत्ने थैलाभित्र पसी चिसो न चिसो ढुङ्गाको सिरानी लगाएर भोलि रमाइलो डडेल्धुरा पुग्ने स्वादिलो कल्पना गर्दै साढे दुई बजेतिर कच्पल्टिलो निद्रा सुत्यौँ ।

झर्रोवादी आन्दोलनका अगुवा तथा नेपाली नियात्राका महत्वपूर्ण सर्जक तारानाथ (ताना) शर्माकाे ८७ वर्षकाे उमेरमा मंगलवार निधन भएकाे छ । नेपाली भाषा वाङ्मयका प्रसिद्ध साधक शर्माले लामो समय प्राध्यापनमा बिताएका थिए । मदन पुरस्कार, साझा पुरस्कार लगायत पुरस्कार तथा सम्मानबाट सम्मानित शर्माका विभिन्न निबन्ध, समालोचना तथा आख्यानात्मक कृतिहरू प्रकाशित छन् । ताना शर्माकाे निधन भएकाे यस दुखद घडीमा उनकाे स्मरणस्वरूप याे नि-यात्रा प्रकाशित गरिएकाे हाे । मकालुखबर मृतात्माकाे चीरशान्तिकाे कामनासहित हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछ । 

अडिओ सुन्नुस्:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *