धरानको जंगलमा हत्या घटना

प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको प्रहरीको दाबी

विराटनगर । धरान भेडेटार सडकखण्डको जंगलमा एउटा जेब्रा झोलामा एक पुरुषको टाउको र दाहिने खुट्टा फेला पर्‍यो । फागुन ४ गते बुधबार फेला परेको शवको बारेमा प्रहरीले ५ गते बिहीबार पनि अनुसन्धानलाई जारी राख्यो ।

बिहीबार प्रहरीले थप खोज्दै जाँदा बाँकी शरीरको भाग काटिएको अवस्थामा फेला पर्‍यो । यो घटना कसरी भयो भनेर सनसनी फैलियो । शरीरका भागहरू काटिएर टुक्रा टुक्रा पारेर जेब्रा झोलामा हालेर फालिएको अवस्थामा भेटिएको शव पत्ता लगाउनु प्रहरीको लागि निक्कै चुनौतीपूर्ण थियो । घटना भएको चार दिन बितिसक्दा पनि मृतक को हुन् भन्ने यकिन गर्न प्रहरीलाई निक्कै गाह्रो परेको देखिन्थ्यो ।

प्रहरीले लामा भेटिएको पाइन्टको गोजीमा फेस मास्क र भिजिटिङ कार्ड फेला पारेपछि त्यही क्लुको आधारमा अनुसन्धान गर्न सजिलो भएको प्रहरीको दाबी छ।

फेस मास्कमा एसेट प्रोटेक्सन, टटविर पेट्रोलियम, बिएच मास्क लेखिएको थियो भने भिजिटिङ कार्डमा रियो टुर्स (कमल तलिब), एक्जुकेटिभ डाइरेक्टर लेखिएको थियो । प्रहरीले त्यही फेस मास्क र कार्डको आधारमा मृतकको सम्बन्ध बहराइनसँग भएको प्रहरीले अनुमान लगाएर श्रम कार्यालय र अध्यागमन कार्यालयसँग बहराइनबाट आएको कामदारको विवरण माग गर्‍यो ।

प्रहरीले फेस मास्क र रियो टुर्ससँग आवश्यक जानकारी माग गर्दै इन्टरपोल शाखामार्फत बहराइन प्रहरीलाई समन्वयको लागि पत्राचार गरेको थियो । फागुन ९ गते बहराइन प्रहरीमार्फत जनवरी ४ (पुस २० गते) टटविर पेट्रोलियममा सेक्युरिटी गार्ड काम गर्ने इलाम बाँझो घर भई हाल दमक ५ बस्ने दिनेश सिग्देल १५ दिन बिदामा घर आएको प्रहरीले फेला पार्‍यो । त्यो अवधि पुरा भएपछि पनि फर्किएर नगएको खुलेको सुनसरी प्रहरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । थापाका अनुसार अध्यागमन मार्फत जनवरी ४ मा दिनेश नेपाल आएको पनि पुष्टि भएको थियो ।

बहराइन प्रहरी र अध्यागमनबाट यति खुलेपछि प्रहरीले दिनेशको बुबा हाल झापाको शिवसतासी ११ झिलझिले बस्दै आएका सुरेन्द्र सिग्देल र जेठी श्रीमती निर्मला सिग्देललाई खोजी गरेरपछि तथ्य फेला परेको प्रहरीले बताएको छ ।

उनीहरूलाई धरान ल्याएर मृतकको शव देखाउँदा इलामको बाझो १ स्थायी घर भई विराटनगर ३ पिपल चोकमा कान्छी श्रीमतीसँग दिनेश डेरामा बस्दै आएको र हालै बहराइनबाट बिदा आएको भनेर सनाखत गरेको एसपी थापाले बताए ।

शवको पहिचान भएपछि प्रहरीले अनुसन्धान कान्छी श्रीमती अनिता तर्फ केन्द्रित भएको थियो । प्रहरीले कान्छी श्रीमती अनितालाई नियन्त्रणमा लिएर सोधपुछ गर्न थालेपछि मात्र बीभत्स हत्या घटनाको रहस्य सार्वजनिक भएको थियो । एसपी थापाका अनुसार आफ्नो प्रेमी विराटनगर महानगरपालिका ४ इक्राही बस्ने सरोज भण्डारीसँग मिलेर उनले श्रीमानको हत्या गरेको अनुसन्धानबाट खुलेको बताए ।

श्रीमानको हत्या गरेको र लाशको टाउको, तिघ्रा काटेर प्लास्टिकले बेरेर झोला भित्र हालेर जंगलमा फालेको स्वीकार गरेको एसपी थापाले जानकारी दिए । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई सार्वजनिक गरेको हो ।

प्रहरीले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै हत्या गरिएका दिनेश सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारी पक्राउ गरी सार्वजनिक गरेको हो । दुवै जनाको योजनामा अनिता र सरोजले दिनेशको हत्या गरेको एसपी थापाको दाबी छ । दिनेशले करिब १० वर्षअघि अनितासँग दोस्रो विवाह गरेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *