धरानको जंगलमा हत्या : अर्को जेब्रा झोलाभित्र बाँकी भाग भेटियो

विराटनगर । सुनसरीको जंगलमा बुधबार टाउको र दाहिने खुट्टा भएको जेब्रा झोला फेला परेको थियो भने बिहीबार पनि त्यस्तै प्रकृतिको अर्को झोलामा शरीरकाे बाँकी भाग भएको फेला परेको छ।  धरान–४ धरान भेडेटार सडक खण्डको त्यही जंगलमा  मानिसको एउटा हात जेब्रा झोला भित्रबाट बाहिर देखिने गरी अर्को झोला फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाका अनुसार हिजो भेटिएको टाउको र खुट्टाको बाँकी भाग फेला परेको हो ।  ‘हिजो टाउको र दाहिने खुट्टा मात्र फेला परेको थियो, उनले भने, अनुसन्धान गर्दै जाँदा बाँकी भाग फेला परेको छ ।’ टाउको र एउटा खुट्टा आँपटारी नजिकैको जंगलमा फेला परेको थियो भने  निचानेको जंगलमा अर्को बाँकी भाग फेला परेको प्रहरीले जनाएको छ।

‘धरानको भ्यूटावरभन्दा करिब २ किलोमिटरको दूरीमा टाउको र खुट्टा फेला परेको थियो,’ एसपी थापाले भने, ‘हिजो फेला परेको घटनास्थल भन्दा करिब डेढ किलोमिटर माथि बाँकी शरीर झोलामा हालेर फालिएको अवस्थामा फेला परेको छ।’ प्रहरीले कुकुरको सहयोगबाट अनुसन्धान गरिरहेको जनाएको छ।

बुधबार दिउँसो दाउरा खोज्न गएका स्थानीयले गन्ध आएपछि झोलामा टाउको र दाहिने खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा शरीरको बाँकी भाग फेला पारेको जनाएको छ।

३५–४० वर्षको देखिने पुरुषको सब  हत्या गरेर टुक्रा टुक्रा पारेर फालिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।  आज बिहान भेटिएको बाँकी भाग कोसी राजमार्गबाट झोलामा हालेर गुल्टाएर फालिएको अवस्थामा खोँचमा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले अनुसन्धान गर्दै जाने क्रममा धरान भेडेटार सडक खण्डबाट करिब ३० मिटरभित्र खर्दु सामुदायिक वनमा मानिसको हात नै बाहिर देखिने गरी अर्को जेब्रा झोलामा बाँकी भाग भेटिएको एसपी थापाले जानकारी दिए ।

घटनास्थलमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक डाक्टर सहितको टोली पुगेर फरेन्सिक टेस्टको लागि गरिनुपर्ने प्रक्रिया अघि बढाइएको तथा प्रहरीले कानूनी रूपमा प्रक्रियाहरू पुरा गरेर शरीरका भागहरू पोष्टमार्टमको लागि पठाउने काम गरिसकेको सुनसरीका एसपी थापाले मकालुखबरलाई जानकारी दिए ।

‘घटनाको प्रकृति शरीरका अंगहरु टुक्राटुक्रा पारेर हत्या भएको देखिन्छ,’ एसपी थापाले भने,  ‘के कारण यसरी यस्तो बीभत्स  घटना भयो भन्ने बारेमा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ।’ बीभत्स अवस्थामा भेटिएको शवको पहिचान नै हुन नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *