नेम्वाङ्गलाई प्रश्न- एमाले कांग्रेससँग सहकार्य गर्न सहमत भएकाे हाे ?

काठमाडौँ । एमसीसीका कारण पाँचदलीय गठबन्धन नरहने निश्चितप्रायः भएको छ । गठबन्धनमा रहेका दलहरूको छुट्टाछुट्टै बैठक बस्न थालेको छ । शुक्रबार (आज) बिहान मात्रै कांग्रेसबाहेकका दलहरूको बैठक बसेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँगै जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू उपस्थित थिए ।

एमसीसीलाई लिएर अहिले गठबन्धनमा कांग्रेस एकतिर र अन्य दलहरू एकातिर भएका छन् । तर, जनता समाजवादीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री डा. बाबुराम भट्टराई भने कांग्रेसकै कित्तामा उभिएका छन् । उनले एमसीसी जत्तिसक्दो चाँडो टुङ्गिनुपर्ने बताउँदै आएका छन् । उनले बरु ‘भेडा भेडासँग र बाख्रा बाख्रासँग’ भए राम्रो हुने धारणा सार्वजनिक गरिसकेका छन् ।

♦ याे पनि:
    एमसीसी : अघि बढाउन सबै ठूला दल संलग्न, अहिले किन विवाद ?

प्रधान मन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सँग वार्तामा जुटेका छन् । बिहीबार साँझ पत्नी आरजू देउवालाई लिएर प्रधान मन्त्री देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोट पुगेका थिए । जहाँ, देउवा-ओलीबीच खासगरी एमसीसी र सत्ता गठबन्धनबारे छलफल भएकाे थियाे ।

त्यसक्रममा देउवाले ओलीलाई कथम् पाँचदलीय गठबन्धन टुटे एमालेसँग सहकार्य गर्ने प्रस्ताव गरेका थिए । ओलीले भने पाँचदलीय गठबन्धन टुट्नुपर्ने ‘ग्यारेन्टी’ खोजेका थिए । ओलीलाई उद्धृत गर्दै एक कांग्रेस नेताले भने, ‘कुरा फाइनल भएन । मिलेर जाने कुरा हाम्राे तर्फबाट भयाे । उहाँले एमाले मिलेर जाने पक्षमा छैन भनेरचाहिँ भन्नुभएन ।’

त्यसो त एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग भने एमाले कांग्रेसँग नमिल्ने बताउँछन् । एमालेले त्यहाँसम्म नसाेचिसकेकाे नेम्वाङ्ग बताउँछन् । एमाले कांग्रेससँग सहकार्य गर्न सहमत भएकाे हाे ? भन्ने जिज्ञासामा उनी भन्छन्— ‘एमाले-कांग्रेस मिल्छन्/मिल्दैनन्, सहकार्य गर्छन्/गर्दैनन् त्याे अहिल्यै भन्न सकिने अवस्था हाेइन ।’

त्यसकाे निर्धारण अबकाे राष्ट्रिय राजनीतिमा देखा पर्ने ‘सिनारियाे’ले गर्ने उनी बताउँछन् । ‘यी सबै कुराहरू अबकाे परिदृश्यले निर्धारण गर्ने हाे । अहिल्यै किटान गर्न सकिन्न ।’ यद्यपि उनले मिल्न सक्ने संकेत भने गरे । अहिल्यै भन्न नसकिने उल्लेख गर्दै नेम्वाङ्गले भनेका छन्— ‘जे हुने हाे पछि नै हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *