सत्ता गठबन्धनको बैठक आज पनि: जुट्ला त एमसीसीबारे सहमति ?

काठमाडौँ । सत्ता गठबन्धनको शीर्ष नेताको बैठक आज पनि बस्दैछ । यसअघि बिहीबार बसेको बैठक विनानिष्कर्ष टुङ्गिएपछि बैठक फेरि बस्न लागेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीकाअनुसार बैठक प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बस्ने तय गरिएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्‌मा टेबल गर्ने/नगर्ने विषयमा निर्णय हुने कार्कीले बताए । त्योसँगै गठबन्धनको भविष्य पनि तय हुने भएकाले आजको बैठक ‘निर्णायक’ मानिएको छ ।

बिहीबारको बैठकमा सहभागी नेताहरू आफ्नो पूर्ववत् अडानबाट टसमस नभएपछि निष्कर्ष ननिस्किएको हो । बैठकमा प्रधान मन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसद्‌मा टेबल गरेरै संसदीय प्रक्रियाबाट टुङ्गो लगाउनुपर्नेमा जोड दिएका थिए । जवाफमा नेकपा (माओवादी केन्द्र)का नेताहरूले पहिले संसद् विनाअवरोध सञ्चालन हुनुपर्ने अडान राखेका थिए ।

संसद्को गतिरोध अन्त्य नभएसम्म एमसीसी टेबल हुन नसक्ने माओवादीको अडान छ । नेकपा (एकीकृत समाजवादी)का नेताले भने शनिबार (भोलि)सम्म कुर्न आग्रह गरेका थिए । भोलि एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बोलाइएको छ । बैठकले एमसीसीका विषयमा धारणा तय गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *