सत्ता गठबन्धन : टिक्ला कि टुट्ला ?

गठबन्धन टुटे एमाले कांग्रेस मिल्लान् ?

काठमाडौँ । सबैलाई चकित बनाउँदै सत्तारुढ तीन दलका सांसदले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग दर्ता गराएसँगै एमसीसी पारित गराउन पनि उनीहरू एक होलान् भन्ने आकलन गर्नेहरू बढेका थिए । तर, बुधबार सत्ता साझेदारी दल माओवादी केन्द्रको संसदीय दलको बैठकले सहमति नभइ एमसीसीको प्रस्ताव संसद्‌मा टेबुल गरिए सरकारबाट बाहिरिने चेतावनी दिएपछि गठबन्धनकै भविष्यबारे प्रश्न उठेको छ ।

उसो त सत्तारुढ पाँचदलीय गठबन्धनको भविष्य कति लामो हाेला भन्ने चर्चा हुन थालेको यसअघि नै हो । तर, अहिले यो उत्कर्षमा पुगेको छ । एमसीसीकै कारण गठबन्धनको भविष्य अन्यौल भएको हो ।

गठबन्धन र सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस र प्रधान मन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्नुपर्ने र गठबन्धनका दुई प्रमुख घटक माओवादी केन्द्र र एकीकृत समाजवादी अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने निचोडमा पुगेपछि गठबन्धन के होला ? भन्ने प्रश्न थप पेचिलो बन्न पुगेको गठबन्धनकै नेताहरू स्वीकार्छन् । एमसीसी संसद्‌मा टेबुल हुनुपर्छ र प्रक्रिया अघि बढ्नुपर्छ भन्ने कांग्रेसको अग्रसरतामा माओवादी-एकीकृत समाजवादीले लगाम लगाइदिएका छन् ।

एमसीसीका कारण गठबन्धनमा रहेका दलहरू त विभाजन भएकै छन्, एउटै दलभित्र पनि समान धारणा छैन । जनता समाजवादी पार्टी (जसपा) भित्रै एमसीसीका सन्दर्भमा प्रष्ट दुई धारणा छन् । पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई कांग्रेसको कित्तामा उभिएका छन् । ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन/सरकारमा बस्न मिल्दैन,’ भट्टराईले भनेका छन्, ‘सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनु हुँदैन, भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो’ उनले भनेका छन् ।

जसपा केन्द्रीय अध्यक्ष उपेन्द्र यादव माओवादी-एकीकृत समाजवादीकै लाइनमा देखिन्छन् । यादवलाई उद्धृत गर्दै नेता महेन्द्रराय यादवले भने, ‘यसमा परिमार्जन जरुरी छ, यो पारितयोग्य छैन । यथास्थितिमा संसद् गए यो जे पनि हुनसक्छ । त्यसैले यसलाई अहिले बाहिरै रोक्नुपर्छ ।’

नेताहरू गठबन्धन कुनै पनि हालतमा आसन्न चुनावसम्म जाने दाबी गर्छन् ।

गठबन्धनमा रहेको तर, सरकारमा नरहेको दल राष्ट्रिय जनमोर्चाले भने एमसीसी संशोधन गरेर भएपनि लागू गर्न नहुने पक्षमा देखिएको छ । यसले गठबन्धनलाई मात्रै नभइ समग्र नेपाली स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय एकतालाई नै छिन्नभिन्नकै अवस्थामा पुर्‍याउन सक्ने आशङ्का उसको छ । जनमाेर्चा अध्यक्ष चित्रबहादुर केसीले मकालुखबरसँग भने— ‘याे संशाेधन गरेर भएपनि लागू गर्न गाह्राे छ । यतातर्फ सबै दलहरूले साेच्न अपरिहार्य छ ।’

एमसीसी पारित गर्नुपर्ने ‘डेडलाइन’ नजिकिँदै गर्दा गठबन्धनका नेताहरूलाई गठबन्धन जोगाउनुपर्ने दबाब पनि छँदैछ । बुधबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारले जबरजस्ती रूपमा एमसीसी अघि बढाए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । प्रधान मन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आजैको संसद् बैठकमा एमसीसी टेबुल हुनुपर्ने जोड गरेका थिए । तर, संसदीय दलको बैठक सकिनासाथ बालुवाटार पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहबमोजिम अन्तिम घडीमा आएर उनी रोकिए । यसबारेमा बिहीबार थप छलफल गर्ने सहमति छ । यो बैठक अहिलेको सत्ता गठबन्धनको अन्तिम हुन सक्ने आकलन पनि गरिएको छ ।

प्रधान मन्त्री देउवा आज रोकिए पनि गठबन्धनको भविष्य भने त्यति सुरक्षित देखिँदैन । आफ्नै पालामा सम्झौता भएको एमसीसी यसपटक पारित हुनैपर्ने पक्षमा कांग्रेस देखिएको छ । फागुन १६ सम्मको ‘डेडलाइन’ रहेकाले पनि दबाबमा परेका प्रधान मन्त्री देउवा गठबन्धन फुटाएरै भएपनि पारित गराउनुपर्ने पक्षमा देखिएको एक माओवादी नेताको विश्लेषण छ । ती नेताले मकालुखबरसँग भनेका छन्, ‘उहाँ (प्रधान मन्त्री) ले गठबन्धनभन्दा ठूलो त एमसीसी देख्नुभएको छ । उहाँ एकोहोरो रूपमा अघि बढ्नु थाल्नुभयो, उहाँ गठबन्धन फुटाएर एमसीसी पास गराउने पक्षमा देखिनु हुन्न भन्ने भरोसा गर्न सकिन्न ।’

यसअघि कांग्रेस नेताहरूले भन्दै आएका थिए— ‘दाहाल–नेपालको मागअनुरूप प्रधान न्यायाधीशविरुद्ध महाभियोग दर्ता गराउने र एमसीसी टेबुल गर्न दिने सहमति बनेको छ, यसले गठबन्धनलाई दह्रो बनायो ।’ यसपछि माओवादीको कोटाबाट सभामुख बनेका अग्निप्रसाद सापकोटाले पनि एमसीसी टेबुल गर्ने संकेत गरेका थिए, उनले भनेका थिए— ‘एमसीसीको सन्दर्भमा म त अम्पायरजस्तै मात्रै हुँ ।’

गठबन्धनको भविष्य

एमसीसीका कारण गठबन्धन चर्किएको छ । तर, नेताहरू गठबन्धन नफुटाइकन कमसेकम आसन्न चुनावसम्म लाने बताउँछन् । माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङको विश्वास छ— ‘गठबन्धन फुट्दैन, चुनावसम्म जान्छ ।’

त्यो वातावरण तयार पार्न सक्नुहुन्छ (?) भन्ने प्रश्नमा उनी थप्छन्— ‘त्यो त राजनीतिक दलहरूले तयार पार्ने हो, शीर्ष नेताहरूले बनाउने हो । त्यसका लागि हाम्रो पार्टी सधैँ तत्पर छ ।’

एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ आफूहरूले गठबन्धनलाई जोगाएर लाने बताउँछन् । कुनै पनि विषयमा छलफल तथा संवाद हुन जरुरी रहेको र त्यसक्रममा फरक धारणा आउनुलाई अस्वाभाविक ठान्न नहुने उनी औंल्याउँछन् । एमसीसीकै कारण गठबन्धन नफुट्ने दोहोर्‍याउँदै उनी भन्छन्, ‘एमसीसीका कारण गठबन्धन फुट्दैन, फुट्न दिँदैनौँ ।’

सरकारको नेतृत्वकर्ता दलले अघि बढायो भने के गर्नुहुन्छ (?) भन्ने सवालमा नेता श्रेष्ठको जवाफ छ– ‘प्रधान मन्त्रीज्यूले त्यसो गर्नुहुन्छ भन्नेमा त विश्वास नै लाग्दैन । आज पनि त हाम्रै आग्रहमा उहाँ रोकिनुभयो ।’

प्रधान न्यायाधीशमाथिको महाभियोग दर्ता गरेपछि माओवादी एमसीसीका सन्दर्भमा लचिलो देखिएको थियो । अध्यक्ष प्रचण्डले सरकारको प्रस्ताव सभामुखले रोक्न नमिल्ने र रोके राजीनामा दिनुपर्ने बताउन थालेका थिए । सरकारले एमसीसी टेबुल गरेपछि माओवादीले ‘वाकओभर’ दिने र गठबन्धन पनि नतोड्ने सहमति बनेको दाबी गठबन्धनका नेताहरूले गर्दै आएका छन् ।

त्यसो गर्दा ‘साप पनि मर्ने लठ्ठी पनि नभाँचिने’ विकल्प निकालिएको दाबी गठबन्धनका नेताहरूको थियो । तर, बुधबार माओवादी संसदीय दलको बैठकले एमसीसी अघि बढाइए सरकारबाट बाहिरिने निर्णय गरेपछि यो विकल्प काम नलाग्ने बनेको देखिएको छ ।

त्यसो त गठबन्धनमा रहेका अन्य दलका नेताहरूले अब गठबन्धन फुट्छ कि टिक्छ भन्ने प्रश्नको जवाफ दिनै छाडेका छन् भने कांग्रेस नेताहरू ‘जे हुन्छ राम्रो हुन्छ’ भन्नेमा छन् । कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले मकालुखबरसँग भने, ‘सहमतिबाट जाने कुरा भइरहेको छ । सहमति जुट्छ भन्नेमा कांग्रेसको विश्वास छ । कांग्रेस गठबन्धन हुनुपर्छ भन्ने ठान्छ तर, सधैँ रहिरहनुपर्छ भन्ने खास ठान्दैन । भोलि कुनै न कुनै दिन गएर त यो गठबन्धन फुट्ने नै हो ।’

गठबन्धन टुटे एमाले कांग्रेस मिल्लान् ?

एमसीसीकै कारण माओवादी र एकीकृत समाजवादी गठबन्धन/सरकारबाट बाहिरिने सम्भावना बढेको आकलन समग्र राजनीतिक वृत्तमा हुन थालेको छ । यी दुई दलले आफ्नो राजनीतिक ‘इमान’ नबेचे यसो हुनसक्ने प्रबल सम्भावनासमेत छ ।

यसो भए अहिलेको सरकार अल्पमतमा पर्छ । यस्तो अवस्थामा कांग्रेस-एमाले मिलेर एमसीसी पनि पारित गर्ने र आफूअनुकूलको चुनावी सरकार पनि बनाउने अवस्था आउनसक्ने सम्भावना हुने नै भयो ।

तर, एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ भने आफूहरूले त्यहाँसम्म नसोचीसकेको बताउँछन् । ‘हामीले त्यहाँसम्म सोचेका छैनौँ,’ नेम्वाङ भन्छन्, ‘हामीले खाली नीति-नियमअनुरूप जानुपर्छ, हुनुपर्छ भनेका छौँ । तीनै तहको चुनावहरू समयमै हुनुपर्छ भनेर भनेका छौँ । कांग्रेससँग मिलेर सरकार बनाउला भनेर बसेको पार्टी एमाले होइन ।’

तर यो भनाइ गठबन्धन नटुटिसकेको अवस्थाको भएकाले गठबन्धन साँच्चै टुटे त्यसबेला एमालेसँग सहकार्य हुने विकल्प खुला हुने कांग्रेस नेताहरू बताउँछन् । प्रधान मन्त्री देउवानिकट एक नेता भने यो सम्भावना मात्रै होइन, हुने नै कुरा भएको बताउँछन् । ती नेताले भने, ‘माओवादीलगायतका दलहरू सरकारबाट बाहिरिए भने त एमाले नै त हो नि कांग्रेसको साथी त ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *