प्रेम त्यान्द्रामा अल्झेर…

काठमाडौँ ओर्लिदा मसित कुनै सपना थिएन ।

२०५४ साल असार २० गते बिहान म काठमाडौँ गर्त ओर्लेको थिएँ । घाम नलागी सकेको त्यो बिहान निद्रा कचपल्टिएका मेरा आँखाले पहिलो पल्ट लामालामा बस देखे । ठूल्ठूला पक्की घर हेरे । मान्छेहरू हतारमा हिँडिरहेका थिए । कोही टोलाइरहेका । कोही कसैलाई पर्खिरहेका ।

मेरो नाक चैँ बेलाबेला ह्वास्स आउने पेट्रोल र डिजेलको अनौठो गन्धले दर्फर्‍याएको थियो ।

बिना कसैको करबल सहर र ठूलो सहर आइदिएको थिएँ, रित्तो र एक्लो । के गर्ने पत्तो थिएन । नाम, दाम र कामको कुनै लोभ मनमा थिएन । मलाई काठमाडौँ हेर्नु थियो । मकवानपुरको छतिवन छाड्नुअघि मामाघरकी हजुरआमाले भनेकी थिइन्, ‘त्यो सहरमा हराउँछस् नाथु । केटाकेटी नै छस्, तँलाई कसैले चिन्दैन, बेच्दिन्छन् । सहर गाउँजस्तो होइन । त्यहाँ चिनेको आफ्नो कोही हुन्न । ठूलो भएर जालास् । भो अहिले नजा ।’

मलाई रोक्ने केही थिएन । बस्दा पनि म एक्लो र रित्तै थिएँ, हिँड्दा पनि म एक्लो र रित्तै हुन्थेँ । हजुरआमाले दिएको ३ सय रुपैयाँले म काठमाडौँ ओर्लेको थिएँ । साथमा भाडाबाट उब्रेको १ सय ५० रुपैयाँ अझै बाँकी थियो । जीउमा थियो आकाशे रंगको स्कुल ड्रेसको फिलफिले सर्ट र नीलो पाइन्ट । तुना गास्दागास्दा खिएर कलेटी परेको चप्पल लगाएको मेरो खुट्टा सहर हिँड्दै थियो ।

मेरी आमा काठमाडौँ नदेखेरै मरिन् । यसो भनौँ संसारका सारा धोकाहरूबाट सधैँका लागि मुक्त भइन् । पशुपति दर्शन गर्ने र एयरपोर्ट गएर हवाइजहाज हेर्ने उनको इच्छा कहिल्यै पूरा भएन । बाँचुन्जेल आमालाई मेरै चिन्ता भयो । जुन दिन आमाले संसार छाडिन् त्यसपछि म आफूलाई पनि मेरो चिन्ता लाग्न छाड्यो । र त धेरैको सपनाको सहर काठमाडौँमा म विना सपना आएँ बिन्दास ।

देह त्याग्नु अघि आमा हजुरआमाको काखमा संघारनेर लम्पसार थिइन् । जन्मने बित्तिकै उनलाई जसले न्यानो र मायालु काख दियो त्यही काखमा आफूलाई त्यागिदिइन् । मसित आमाको झझल्को छ । आँखा चिम्म गर्दा नाच्ने झझल्कोमा म आमालाई मूर्त उतार्न सक्दिनँ । नागरिकताका लागि खिचिएको ब्ल्याक एण्ड ह्वाइट तस्वीर धमिलिएर अझ ब्ल्याक एण्ड ह्वाइट भएको छ । आमाको अनुहार नचिनिनेगरी एकपादो पूरै खुइलिएको तस्वीरलाई मूर्त रूपदिन स्केच गरिरहेको कलाकार साथी दीपक गौतम भन्छ, ‘मैले आमाको नाक र आँखा बनाइदिएको छु ।’ मेरी आमाको अनुहारलाई खास स्वरूप दिन आफ्नो पावरदार चस्मा मिलाउँदै ऊ निकै दिन कुची घोटेको छ र मलाई जीवनभरका लागि ऋण लगाइदिएको छ । दीपकले बनाइदिने आमाको सग्लो तस्वीरसित पहिलो पल्ट मैले आफ्नो अनुहार दाँजेको छु । मुलुकले नागरिकता नदिएर ‘अनागरिक’ भएर मरेकी मेरी आमासित मेरो अनुहारको के मिल्छ ?

थाहा छैन मेरो अनुहार मिल्छ कि मिल्दैन । हजुरआमा भन्थिन्, ‘तेरो ओठ तेरी आमाकोजस्तो छ । तँ आमाजस्तै हाँसिरन्छस् ।

सायद यो होला पनि र होइन होला पनि ।

काठमाडौँमा बिताएको अवधिमा कति पल्ट ठेस लाग्यो मैले कसैलाई दुख्यो भनिनँ । लडेको चोट देखाइनँ । कति भक्कानिएँ, कसैलाई आँसु देखाइनँ । आमा बाहेक कसैले छोएर कुनै सन्तानको पीडा निको हुन्छ भन्ने म अझै पनि ठान्दिनँ । यस्तै दुखाइबिच काठमाडौँले मेरो पक्षमा धेरै फैसला गरिदियो । ती फैसला काखी च्यापेर भीडभाड र कोलाहलयुक्त सहरमा म धपेडीसाथ कुदिरहेँ । काठमाडौँंले मलाई कुनै काममा हस्तक्षेप गरेन । बरू मैले मेरो उमेरको झण्डै दुईदशक आनन्दले बिताएँ । धेरैले जस्तो मैले काठमाडौँलाई ‘केही दिएन’ भन्ने दुखेसो र गाली गर्नु छैन । म काठमाडौँमा केही लिन आएको थिइनँ र पनि धेरै थोक पाएँ । काठमाडौँले मलाई खुब प्रेमले अँगालेर राख्यो ।

काठमाडौँले एक-एक कुरा फिर्ता मागे मैले के दिनु ?

काठमाडौँको सडकले मलाई चरम गरिबीमा पनि बाँच्न र हाँस्न सिकायो । आफ्नो छातीमा चेपेर कठ्याग्रिने जाडोमा पनि न्यानो दिइराख्यो । एउटा फ्याङ्ले सर्टमा माघको चिसाेलाई कसरी परास्त गर्न सकिन्छ मलाई काठमाडौँले सिकायो । भोकै पनि सबैभन्दा छिटो कसरी कुद्न सकिन्छ काठमाडौँले ज्ञान दियो । पृथ्वी चिराचिरा परे पनि एउटा चिरामा आफूलाई उभ्याउन सक्छु भन्ने आत्मविश्वास मलाई काठमाडौँले दियो ।

काठमाडौँ सहरमा बाँच्न मैले अनेक उपाय निकालेँ । कहिले खुसी बुँको एउटा मनकारी नेवारको घरमा भाँडा माझेर ज्यान पालेँ । कहिले कालिमाटी टेकुबाट दिनदिनभर खाली सिसी पुराना बोत्तलको भरी गैरीधारा पुर्याएर, कहिले तिनै सिसीबोत्तल पखालेर दुई छाक टारेँ । मरिच, चिउरा र मसलाका बोरा, जाम र भेनेगारका भरिभरि बोत्तल काठमाडौँमा भर्खरै खुल्दै गरेका सुपरमार्केट पुर्‍याएर महिनाको बाह्रसय रुपैयाँ तलब पाउँदा रमाउँदै सहरका गल्ली कुदेँ । हातमा ठेला र फोका उठ्नेगरी ताता डायसहरूसँग खेल्ने प्लास्टिकका मसिना बट्टा बनाएर दिन कटाएँ । बुनिया, जेरी, महाबाैद्धको झोल मम, भुटेको मकै भटमासले भोक मेट्न पाउँदाका दिन आफूलाई संसारको भाग्यमानी ठानेँ । यस्तै अनेक बहानाहरूमा काठमाडौँले एक न एक हिसाबले आफ्नो साथमा मलाई चेपिरह्यो/चेपिरह्यो । कहिले कराँते खेलाडी भएर त कहिले ‘गुरु’को आदेशमा मान्छे कुट्ने ग्याङको पछि लागेर मैले काठमाडौँमा ज्यान जोगाएँ । यसरी आफूलाई टुक्राटुक्रामा जोगाएर म काठमाडौँमा सग्लो उभिएँ ।

त्यसैले म काठमाडौँलाई सधैँ प्रेम गर्छु, गरिरहने छु ।

मेरा लागि काठमाडौँ सहरमात्रै होइन, एउटा सिंगो कविता हो प्रेमको कविता । सिंगो कथा हो, प्रेमको कथा । र त मलाई काठमाडौँले कवि बनायो । कथा लेख्न सिकायो । त्यही काठमाडौँले मलाई देशविदेश घुमायो । अहिले म भूगोलको अर्को काठमाडौँमा आइपुगेको छु उसैगरी जसरी म २०५४ सालमा काठमाडौँ आएको थिएँ ।

***

वर्षौअघि कतै कुनै कविको अन्तर्वार्तामा पढेथेँ, ‘एकसरो साउँ अक्षर खुट्याउन सक्नेहरू प्राय सबैले वैँशमा कि एक दुई थान कविता लेख्छन्, कि प्रेम पत्र ।’

मैले दुवै लेखेँ । आफ्ना लागि कविता, अरूका लागि प्रेम पत्र । कुनै जवाफी कुनै एकतर्फी पत्रको बीचबीचमा कविता वा सायरीका अंश कतैबाट सारेर, कहिलेकाहीँ आफैले कथेर लेख्दा खुसी भएका साथीभाइले कति दिन मलाई स्कुल छेउको होटलमा सेल, तरकारी र जेरी खुवाएका छन् । तिनै पत्रका कारण कतिले घरजम पनि गरे । कतिले स्कुल छउन्जेलका लागि प्रेममात्रै गरे ।

अरूका प्रेमपत्र लेखिरहेकै ताका केही प्रेमपत्र मैले पनि पाएँ ।

पटकपटक पत्रको जवाफ नदिएपछि एउटी साथीले यस्तो लेखेकी थिइ तेस्रो पल्ट, ‘लामो छ जिन्दगी बाँच्नलाई, धेरै दिन बाँकी छन् काम गरेर थाक्नलाई र उत्तिकै रातहरू बाँकी छन् आराम गर्नलाई । अनमोल, मलाई तिम्रो जीवनको सबै कुरा थाहा छ । तर तिमीले मेरो पत्रको जवाफ दिएनौँ । म तिम्लाई कत्ति सम्झिन्छु । मलाई तिम्रो कति माया लाग्छ । तिमी मलाई कहिल्यै सम्झिन्नौँ । प्लिज एकपल्ट चिठीको जवाफ देऊ ।’

रातो र नीलो मसीले लेखेको त्यो पत्रको बाङ्गोटिङ्गो अक्षर मलाई अहिले पनि पूरापूर याद छ । त्यति कलात्मक पत्र फेरि मैले कहिल्यै पाइनँ । पत्र ऊ आफैले लेखेकी थिई वा मैले अरूको लेखेजस्तै कसैले लेखिदिएको थियो म जान्दिनँ । जवाफ नपाएपछि निकै समय ऊ दुखी भई । विद्यालय जीवनभरि हाम्रो सामान्य बोलचाल पनि बन्द भयो । त्यो पत्रको शैली कथा ‘टेस्ट्युब बेबी र मेरी प्रेमिका’ लेख्दा मलाई धेरै काम लाग्यो । कथामा प्रोफेसर श्रीमतीले लेखेको चिठी म कहिलेकाहीँ पढिरहन्छु । जहाँ चिठीको शुरूवात त्यसैगरी गरेको छु, जसरी उसले मलाई पठाएकी थिई ।

वर्षौंपछि भीडभाड काठमाडौँको बसन्तपुर डबलीमा एक्कासी उसलाई भेट्दा बोल्ने नबोल्ने दोधार भइरह्यो । दोधारको साँध मेटेर उसले भनी, ‘तिमी उस्तै रैछौ ? बदलिएकै छैनौ बाइ ?’ उसले मेरो बारे बताइ वा प्रश्न सोधी मैले बुझिनँ । म मुस्काएँमात्रै । ती एकजोर आखाँलाई दिने जवाफ मसित अहिले पनि छैन ।

क्याम्पसमा कसैको प्रेमपत्र लेख्नु परेन (सेल, तरकारी म आफ्नै कमाइले खान सक्ने भएको थिएँ), बरू धेरै प्रेम पत्र पाएँ । मेरो कविता, कथा, गजल मनपराउने मित्र मण्डली जुरे । मेरो कथा ‘नीलो रुमाल हराएपछि’ र ‘पीडा नायक’ पढेर एउटी साथीको प्रेमपूर्ण रिस यसरी पोखियो, ‘तिमी कहिले कवितामा कहिले कथामा किन मलाई लेखिरहन्छौ ? तिम्रो पात्र हुन् मैले तिमीलाई प्रेम गरेको ठान्यौ ? किन मलाई दुखाइ रहन्छौ ? हिजो तिमीलाई पढ्न नसकेर दुखे । आज तिम्रो सिर्जना पढेर दुख्छु । केही सोध्यो हाँसेर सबै कुरा टार्दिन्छौ । तिमी आफ्नो बारे किन केही भन्दैनौ ? अब ममाथि होइन आफ्नैबारे लेख ।’

मलाई थाहा छ, आवेग क्षणिक हो । जीवनमा जति साथी आए पनि एक्लो उभिनुपर्छ ।

मेरो जीवनमा यस्ता धेरै साथी बतासजसरी आए, एकसर्को छोए र गए । ती मेरो लेखनको कच्चा पदार्थ भए । लाडे, रुन्चे, भावुक र घुर्कीयुक्त प्रेमका स्वरलाई चाहेर नचाहरेर मैलेनै परपर धकेलेँ । कहिले पहिरो नजाला ठानिएका सम्बन्धका पाखापखेरामा पैरो गइरह्यो, प्रेममात्रै होइन व्यक्तिगत जीवनका अरू नातासम्बन्धमा पनि । मलाई अहिले पनि लाग्छ, जीवन पहिरो झरिरहने पाखो हो । जहाँ पानी परे पनि वा नपरे पनि पैरो जाने खतरा उत्तिकै हुन्छ ।

मेरा लागि यी झिना मसिना परिघटना थिए । मैले छोडेका जीवनका सयौँ हजारौँ घुम्ती, कुइनेटा र गोरेटाहरूमा प्रेम पनि छोडिएका छ । मलाई लागेका प्रेमका अनेक स्वरूपका नशाले मेरो कविता जन्माएको छ । विघटनको संघारमा उभिएकै समय र समाजको हारमा म पनि त कुम जोडेर उभिएको छु ।

कसलाई के थाहा, जीवन र प्रेम कुन मोडमा कतिखेर विघटन हुन्छ ? त्यसरी विघटन हुँदा जीवन रहन्छ रहन्न थाहा हुन्न, जीवन रह्यो भने प्रेमचाहिँ रहिरहन्छ ।

मलाई यस्तो लाग्छ कि, संसारमा सबैखाले प्रेम र विछोडले दुनियाँलाई अड्याइरहेको छ । समाजको खास सत्य यही हो । दार्शनिक ओशोले त्यसै भनेनन्, ‘प्रेम बाहेक दुनियाँका सबै चीज तुच्छ र वाम छन् ।’

***

विज्ञानले भन्छ पृथ्वी गोलो छ । सूर्यको वरिपरि घुमिरहन्छ । मान्छेले अझै त्यो पत्याएको छैन । जीनवभर मान्छेले कति सपना देख्छ कसैले सम्झिन्न । सपनाको कुरा छाडौँ जीवनमा पहिलोपल्ट चिनेको अक्षर उसलाई याद हुन्न तर, प्रेमपत्र याद हुन्छ । कविता याद हुन्छ । लेखेको अक्षर याद हुन्न तर, कसलाई लेख्यो वा के लेख्यो याद हुन्छ । म पनि यस्ता धेरै यादहरू बोकेर बसेको छु ।

मलाई लाग्छ, विगत र सम्झना मान्छेलाई आँट दिने सबैभन्दा नजिकको साथी हो ।

चउन्न सालको असार १९ गते बिहान हजुरआमाले ३ सय रुपैयाँ हात नथमाइदिएको भए म कहाँ हुन्थेँ, मैले प्रेम गरेको काठमाडाैँ मैले देख्थेँ ? मैले काठमाडौँ नदेखेको भए ? अब यो कल्पनाको कुरा हो । जे होस् धेरै मान्छे गुमनाम हराएको र बेचिएको सहरमा आफूलाई सग्लो जोगाइराख्नु पनि एउटा प्रेम नै हो ।

हर क्षेत्रजस्तै प्रेम पनि निर्मम पुँजीवादले गाँजिँदैछ । प्रेम त्यान्त्रा चुडिएर संसार धोकाधाडीको लठारोले बेरिँदैछ । विश्वास हराएको छ । दुख पनि बढेको छ, खुसी र सुखी हुने वहाना पनि प्रसस्तै छन् ।

मलाई जीवनमा कुनै दुःख छैन, प्रसस्तै आनन्द र सुखमा छु ।

र त प्रेम त्यान्द्राहरूमा अल्झेको एउटा जीवन बोकेर म अनेक मुकामहरू कुदिरहेको छु प्रेमसित !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *