मनिष घाइते भएको खेलमा मच्छिन्द्र विजयी 

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा १० औँ चरण अन्तर्गत  शनिबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले च्यासल यूथ क्लबलाई २-० ले पराजित गरेको छ। तर उसको जित भने केही खल्लो रह्यो। दोस्रो हाफमा मनिष डाँगी हेडको प्रयासमा मैदानमा लड्न पुग्दा घाइते भएपछि उनलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो।

दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले पहिलो हाफमा लिएको दुई गोलको अग्रता नै जितका लागि पर्याप्त बन्यो।  सुरुवातबाटै दबाब बनाएको मच्छिन्द्रले च्यासलविरुद्ध १७ औँ मिनेटमा नै अग्रता लिन सफल भएको थियो। रञ्जित धिमालको कर्नरलाई विमल घर्तीमगरले आकर्षक हेड गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए।

खेलमा दबाब निरन्तर बढाएको मच्छिन्द्रले पहिलो हाफमा नै अग्रता दोब्बर बनाउने क्रममा सुनिल बलले आकर्षक गोल मार्फत ३७ औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो। सुनिलले डिफेन्डरलाई कुनै मौका नै नदिई गरेको आकर्षक प्रहार सिधै गोलमा परिणत भएको थियो। त्यसपछि दुवै टीमले थप गोल गर्न नसक्दा पहिलो हाफमा मच्छिन्द्रले २-० को अग्रता बनायो।

दोस्रो हाफमा पनि दुवै टीमले गोलका सीमित अवसर पाए पनि गोल गर्न सकेनन्। तर मच्छिन्द्रका लागि भने दोस्रो हाफ भने पिडादायी रह्यो । ६६ औँ मिनेटमा मनिष डाँगी हेडको प्रयासमा मैदानमा लड्दा केही समय अचेत बनेका थिए। उनलाई मैदानमानै प्राथमिक उपचार गरेपछि होसमा आइएका थिए। त्यस लगतै उनलाई मैदानबाटै एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो।

जारी लिगमा मच्छिन्द्र दसौँ चरणको खेलपछि १० खेलबाट २६ अंकका साथ शीर्ष स्थानमा रहँदा च्यासल भने ९ खेलमा ५ अंक जोडेर पुछारमा कायम नै रह्यो। मच्छिन्द्रले दोस्रो स्थानको मनाङसँग ७ अंकको अग्रता बनाउन सफल भयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *