यातायात कार्यालयमा बिचौलियालाई पस्न नदिन मन्त्रीकाे निर्देशन

काठमाडौँ । यातायात व्यवस्था कार्यालयहरूमा रहेको बेथितिबारे मकालुखबरमा ‘यातायातका सास्ती’ शृंखला प्रकाशित भएपछि वाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयकाे अनुगमन गरेका छन् ।
बिहीबार बिहान यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले कार्यालयहरूको बेथितिबारे निरन्तर समाचार प्रकाशित भएपछि आफैँ बुझ्न आएको बताए ।
अनुगमनका क्रममा मन्त्री दाहालले यातायात सेवालाई चुस्त दुरुस्त ढंगबाट सञ्चालन गर्न कार्मचारीलाई निर्देशन दिएका छन् । उनले आगामी दिनमा मन्त्रालयले यातायात क्षेत्र सुधारका लागि कानुनी कामलाई पनि अघि बढाउने बताएका छन् ।
उनले सेवालाई चुस्तदुरुस्त बनाउँदै काम नयाँ ढंलले अघि बढाउने बताए । ‘सेवालाई कसरी चुस्त–दुरुस्त गर्ने भन्नेमा केही सुधार गर्नुपर्छ । हिजोको हाम्रो काम गर्ने सिस्टम, ढड्डामा राख्ने सिस्टमले पनि हामीलाई कतिपय ठाउँमा असजिलो भएको छ’, उनले भने, ‘हामी अहिले सबै अनलाइन सिस्टमको विकास गर्ने भनेर अघि बढिरहेका छौँ । ठूला ढड्डाहरूलाई सधैँ सुरक्षित गर्न सकिँदैन। त्यसलाई सफ्टवेयरमा कम्प्युटरमा कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरू पनि मुख्य समस्याको रूपमा रहेको छ । त्यसबारे हामी मन्त्रालयमा छलफल गरेर चाँडै निर्णय गर्नेछौँ ।’
यस्तै, उनले गल्ती गर्ने जोकोहीलाई पनि कारबाही गर्ने जनाए । उनले भने, ‘कार्यालयका कर्मचारीको सेटिङ छ भने त्यसलाई हामी खोजी हाल्छौँ । छोड्दैनौँ कसैलाई पनि । आज कार्यालयहरूलाई भन्छौँ– बिचौलियालाई भित्र पस्न नदिनुस् । यदि त्यो पनि भएन भने पुलिस लगाएर भएपनि उनीहरूलाई समाउँछौँ, कारबाही गर्छौं ।’
मकालुखबरले प्रकाशित गरेकाे ‘यातायातका सास्ती’ शृंखलामा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बिचौलियाले सेवाग्राहीलाई सघाइरहेको भन्दै सरकारले थप कर्मचारीको व्यवस्था नगरेसम्म बिचौलिया निर्मूल पार्न नसकिने बताएका थिए । उनले भनेका थिए, ‘हाम्रो सरकारी काम कारबाही सबै सेवाग्राहीले बुझ्दैनन् । सरकारी काम कारबाही, प्रणाली बुझाउन बिचौलियाले सेवाग्राहीलाई सघाइरहेका छन् । यो कामका लागि सरकारले थप कर्मचारीको व्यवस्था गर्दा दीर्घकालमा धेरै खर्चिलो हुने हुँदा सरकारले यो काम गर्न सक्दैन र आवश्यक पनि छैन । त्यसो हुँदा यातायात कार्यालयबाट बिचौलिया निर्मूल पार्न सम्भव छैन ।’
मकालुखबरमा प्रकाशित यातायातका सास्ती शृंखलाः








