यातायातमा सास्ती-३

इम्बोस्ड नम्बर प्लेटको तनाव, सेवाग्राही तीन पटक पुग्नुपर्छ कार्यालय

काठमाडौँ । नयाँ सवारी साधन दर्ता गर्नेहरूले इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने व्यवस्था काठमाडौँ उपत्यकामा १ मंसिरदेखि नै कार्यान्वयनमा आइसकेको छ । यस्तो नम्बर प्लेट लिन यातायात व्यवस्था विभागको वेबसाइटबाट अनलाइन आवेदन गर्नुपर्ने व्यवस्था छ ।

तर, अनलाइनबाट आवेदन गरे पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्दासम्म सेवाग्राहीले कम्तीमा ३ पटकसम्म सम्बन्धित यातायात व्यवस्था कार्यालय धाउनुपर्ने अवस्था छ । अनलाइन आवेदन दिनेहरूले पहिलो पटक सम्बन्धित ‘भेरिफिकेशन’का लागि, दोस्रो पटक ‘पर्सनलाइजेशन’ गर्न र तेस्रो पटक राजस्व बुझाएर इम्बोस्ड नम्बर प्लेट लिन तथा जडान गराउन यातायात कार्यालयमा जानुपर्छ । यसरी घरबाटै अनलाइन आवेदन भर्दा पनि सेवाग्राहीले ३ दिन कार्यालयको चक्कर काट्नुपर्ने बाध्यता छ ।

विभागले दुई पाङ्ग्रे सवारीका लागि इम्बोस्ड नम्बर प्लेट जडान गर्न २ हजार ६ सय र ट्रकलगायत ठूला सवारीका लागि ३ हजार ६ सय शुल्क तोकेको छ । शुल्क पनि तिर्नु र पटक पटक सास्ती पनि पाउनुपर्ने अवस्था छ ।

यो सास्तीको अन्त्य कहिले होला त ?
विभागका महानिर्देशक नमराज घिमिरे भन्छन्- ‘एकै पटक यातायात कार्यालय गएर नम्बर प्लेट जडान गर्न पाउने व्यवस्था अब चाँडै गर्दैछौँ ।’ उनकाअनुसार अहिलेको अनलाइन आवेदन प्रणाली परम्परागत भएकोले यसलाई परिमार्जित संस्करणमा ‘फूल प्याकेज अनलाइन एप्लिकेशन’ प्रणालीको विकास गर्न लागिएको छ ।

यातायातमा सास्ती -१
अव्यवस्थाको नमुना : यातायात व्यवस्था कार्यालय एकान्तकुना

विभागले तयार गरिरहेको उक्त ‘फुल प्याकेज अनलाइन एप्लिकेशन’ प्रणालीमार्फत सेवाग्राहीले आफ्नो सबै विवरण अनलाइनमार्फत भर्नुपर्ने हुन्छ । त्यस्तो विवरण झल्किने आवश्यक कागजातसमेत स्क्यान गरी अपलोड गरेर आवेदन साथै पेश गर्नुपर्ने हुन्छ । सेवाग्राहीले अनलाइनबाटै इम्बोस्ड नम्बर प्लेटको राजस्व भुक्तानीलगायत सबै काम गर्न सक्छन् । आवेदन स्वीकृत भएपछि त्यही विवरणका आधारमा यातायात कार्यालयले सेवाग्राहीलाई एउटा बार कोड उपलब्ध गराउँछ । र, उक्त बारकोड प्रिन्ट गरी लिएर गएपछि सम्बन्धित कार्यालयले इम्बोस्ड नम्बर प्लेट जडान गरिदिने व्यवस्था गर्न लागेको उनले बताए । तर, सेवाग्राहीको सास्ती अन्त्य गर्ने त्यस्तो अनलाइन प्रणाली कहिलेसम्ममा कार्यान्वयनमा आउँछ भनेर विभागले मिति तोकेर भन्न सकेको छैन ।

एकातिर इम्बोस्ड नम्बर प्लेट जडानका लागि तनाव लिनुपर्ने छ भने नेपालमा यो नयाँ प्रयोग भएकोले यसबारे विस्तृत रूपमा जानकारी नपाउँदा पनि सेवाग्राहीलाई समस्या भएको छ ।

जेठ १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट
सरकारले गत कात्तिक अन्तिममा राजपत्रमा सूचना प्रकाशित गरेर इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको हो । उक्त सूचनाअनुसार मंसिर १ गतेदेखि नयाँ दर्ता हुने सवारीसाधन, फागुन १ देखि नामसारी हुने सवारी साधन र २०७९ जेठ १ देखि नवीकरण गरिने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने छ ।

नामाकरण हुन बाँकी रहेका प्रदेश १ र प्रदेश २ बाहेक नामाकरण भइसकेका सबै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट जडान शुरु गर्नुपर्ने छ । हाल काठमाडौँमा इम्बोस्ड नम्बर प्लेट जडान भइरहेको छ । विभागकाअनुसार अब अहिले पोखरा र बुटवलबाट पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्पूर्ण तयारी पूरा भएको छ । अहिले विभागको मेसिनले झण्डै २ लाखको हाराहारीमा इम्बोस्ड नम्बर प्लेट उत्पादन गरिसकेको छ ।

नेपालका सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सन् २०१६ मै ठेक्का सम्झौता भइसकेको थियो । डेकाटुर टाइगर आईटी जोइन्ट भेन्चर (अमेरिकी र बङ्गलादेशी संयुक्त उपक्रम) कम्पनीले यो ठेक्का पाएको थियो । उक्त ठेक्का सम्झौता अनुसार ५ वर्षभित्रमा २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने थियो । तर, नम्बर प्लेट अंग्रेजी भाषामा नभई नेपाली भाषामा हुनुपर्ने माग गर्दै अदालतमा मुद्दा परेपछि यो काम बीचमा रोकियो ।

संवैधानिक अदालतले २०७७ फागुनमा इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै हुनुपर्छ भन्ने अनिवार्य नभएको र अंग्रेजी भाषामा भएपनि हुने फैसला गरेपछि भने यसका लागि बाटो खुलेको थियो । यसअनुसार ठेकेदारलाई यातायात व्यवस्था विभागले अर्को साढे २ वर्षका लागि ठेक्काको म्याद थप गरेको छ । यही साढे २ वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गरी हाल काम भइरहेको विभागको भनाइ छ ।

सम्झौताअनुसार यो कम्पनीले पुरै २५ लाख इम्बोस्ड नम्बर प्लेट उत्पादन गरेर विभागलाई हस्तान्तरण गरिसकेपछि मात्रै भुक्तानी पाउने छ । सम्झौता सकिएपछि नम्बर प्लेट उत्पादन गर्न जडान गरिएको सम्पूर्ण पूर्वाधार नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ ।

फाइदा के ?
यो आल्मुनियमको प्लेट भएकोले सितिमिति खराब हुँदैन । कसैले अवैध रूपमा निकाल्न खोजे ‘ड्यामेज’ हुन्छ । फेरि प्रयोग गर्न मिल्दैन । त्यसो हुँदा प्लेट बदलेर गाडी चोरी हुने समस्या कम हुने विभागको विश्वास छ ।

त्यस्तै, यो नम्बर प्लेटमा प्रकाश परावर्तन (लाइट रिफ्लेक्टर) राखिएको हुन्छ । त्यसले गर्दा सिधा बाटोमा २ सय मिटर परसम्मको गाडीको पछाडिको प्लेट टल्किन्छ । ‘अहिले अगाडिका सवारीलाई पछाडिका ड्राइभरले रातीको समयमा देख्न मुस्किल छ,’ महानिर्देशक घिमिरेले भने, ‘यो प्लेट लगाएपछि २ सय मिटरभन्दा बढी दूरीको गाडी पनि सिधा बाटोमा टल्किन्छ ।’

यातायातमा सास्ती-२
यातायात कार्यालयहरूमा बिचौलियाको बिगबिगी, महानिर्देशक भन्छन्- बिचौलिया हटाउन सम्भव छैन

विभागले इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ‘आरएफआइडी गेट’ (प्रवेश द्वार) विभिन्न सडक तथा नाकाहरूमा राख्ने तयारी गरेको छ । यस्तो नम्बर प्लेटमा सवारी साधनको सम्पूर्ण विवरण समेटिएको विशेष किसिमको विद्युतीय ‘चिप’ राखिएको हुन्छ । आरएफआईडी गेटबाट यस्तो नम्बर प्लेट जडान भएको सवारी साधन प्रवेश गरेपछि उक्त सवारी कति बजे कुन दिशातर्फ गयो भन्ने विवरण केन्द्रीय सर्भरमा सूचीकृत हुन्छ । यसबाट आपराधिक क्रियाकलाप वा दुर्घटना भएको अवस्थामा खोज तथा अनुसन्धानका लागि सहज हुन्छ । यस्तो गेट हाल विभागको केन्द्रीय कार्यालयमा जडान हुँदै छ । यसबाहेक सुरुमा काठमाडौँ छिर्ने मुख्य नाका थानकोट र योसहित देशभर १५ स्थानमा निर्माण गर्ने विभागले जनाएको छ ।

कस्तो हुन्छ नम्बर प्लेट ?
इम्बोस्ड नम्बर प्लेटमा देशको झण्डा र नाम, प्रदेशको नाम, सवारी साधनको वर्ग, लट र नम्बर उल्लेख गरिएको हुन्छ । जस्तो अगाडि लेखिएको ‘ए’ वा ‘बी’ ले गाडीको वर्ग जनाउँछ । पछाडि लेखिएको ‘एए’, ‘एबी’ वा ‘एसी’ले गाडीको लट बताउँछ । त्यसपछि सवारीको साधनको नम्बर उल्लेख गरिएको हुन्छ ।

यो भारतीय सवारी साधानको नम्बर प्लेट जस्तै देखिने गुनासो पनि सेवाग्राहीले गरेका छन् । तर, महानिर्देशक घिमिरे भन्छन्– ‘भारतको भन्दा विल्कुल फरक छ । भारतीय गाडीमा प्रदेशको पूरा नाम हुँदैन । जस्तै बीआर, आरजे, डीएल जस्ता अल्फावेटले प्रदेश जनाइएको छ । तर, हामीकहाँ प्रदेशको पूरा नाम नै माथि लेख्ने व्यवस्था छ ।’ झट्ट हेर्दा उस्तै लागे पनि विस्तारै अभ्यस्त भइने र विश्वमै इम्बोस्ड नम्बर प्लेटहरूको यसै किसिमको प्रयोग भइरहेको उनले बताए ।

इम्बोस्ड नम्बर प्लेटका प्रकार
सरकारले हाल ४ प्रकारका इम्बोस्ड नम्बर प्लेट जारी गरिरहेको छ । सार्वजनिक यातायातका लागि पहेँलो रंगको प्लेटमा कालो अक्षर, निजी सवारीका लागि सेतो प्लेटमा कालो अक्षर, सरकारी र संस्थानका गाडीमा सेतो प्लेटमा रातो अक्षर, कूटनीतिक नियोगका सवारीमा निलो प्लेटमा सेतो अक्षरको नम्बर प्लेटको व्यवस्था गरिएको छ ।

नवीकरण वा नामसारी गरी इम्बोस्ड नम्बर प्लेट प्राप्त गर्ने सवारीले भइरहेको नम्बर भन्दा विल्कुल भिन्न नयाँ प्रकारको नम्बर प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *