स्थानीय निर्वाचन धकेल्न पाइँदैन- एमाले

काठमाडाैँ । एमालेले स्थानीय तहको निर्वाचन धकेल्न नपाइने बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन सम्बन्धमा कुनै पनि अलमल, धोखा र बहानाबाजी स्वीकार्य नहुने बताएका हुन् ।

यद्यपि जुनसुकै बेला निर्वाचन भए पनि सामना गर्न एमाले तयार रहेकाे ओलीले बताएका छन् । ‘हाम्रो स्पष्ट अडान छ– यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन,’ ओलीले भनेका छन् ।

निर्वाचन आयोगले वैशाख १४ र २२ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएपनि सत्तारुढ गठबन्धनबीच सहमति जुटिसकेकाे छैन । मंसिरमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्नेबारे बहससमेत गठबन्धनमा हुँदै आएकाे छ ।

सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा बहस भइरहेको बेला एमाले अध्यक्ष ओलीले विज्ञप्तिमार्फत् पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् । संविधानले स्थानीय तह रिक्तताको परिकल्पना नै नगरेको भन्दै एमालेले निर्वाचन आयोगले सिफारिस गरेअनुसारकै मितिमा निर्वाचन गर्नुपर्नेमा जोड दिएको हाे ।

एमालेले पत्रकार सम्मेलन गरेर पार्टीकाे आधिकारिक धारणा सार्वजनिक गर्ने भनिएपनि ओलीलाई काेराेना संक्रमण भएपछि विज्ञप्तिमार्फत् साे धारणा सार्वजनिक गरिएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *