सरकारलाई माधव नेपालको सुझाव- नेपालमा लगानी प्रवर्धन हुन नसक्नुको कारण खोजी गर्नुपर्याे

काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा लगानी गर्नका लागि उत्साहित हुने वातावरण नभएको बताएका छन् ।

तेस्रो लगानी सम्मेलनमा जारी रहँदा अध्यक्ष नेपालको सो टिप्पणी आएको हो । उनले सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनका लागि सहज वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याए । नेपालमा अनावश्यक पैसाको खर्च र गुण्डागर्दीबाट बचाउने हो भने जति पनि लगानी गर्न आफूहरू इच्छुक रहेको विदेशी लगानीकर्ताहरूले आफूलाई समेत भन्ने गरेको अध्यक्ष नेपालको भनाई थियो । उनले देश र जनताको हित हुने गरी काम गर्न पनि सरकारलाई सुझाव दिए ।

अध्यक्ष नेपालले राज्यले दिनुपर्ने सुविधाहरू सहज रुपमा उपलब्ध गराए नेपालमा जति पनि पैसा ल्याउन सक्छौँ भन्नेकुरा लगानीकर्ताहरूबाट आउने गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले भने ‘त्यसो हुनाले हाम्रो नेपाली समाजमा जुन भ्रष्टाचार भइराखेको छ । राज्य प्रणालीहरू अत्यन्तै भ्रष्ट भएका छन् । यसमा कसरी व्यापक सुधार गर्ने हो ? हाम्रो चासो र चिन्ताको विषय त्यही छ । हाम्रो देशमा किन उत्पादन बढिरहेको छैन, लगानी किन प्रवर्द्धन भईरहेको छैन ? अहिले वैदेशिक लगानी लगानी सम्मेलन चलिरहेको छ । स्वदेशी, विदेशी दुवै लगानी । वैदेशिक लगानी मात्रै होइन, स्वदेशी पनि । विभिन्न देशकाहरु पनि आएका छन् । नेपालमा लगानी गर्न चाहन्छन् । अनि लगानी गर्न आउनेहरू उत्साहित हुँदैनन् । कारण के हो ? त्यसको खोजी गर्नुप¥यो । मसँगै भनेको छन् कतिले–हामी नेपाललाई कुनै नोक्सान नहुने गरी, नोक्सान हामी व्यहोर्ने गरी हामी विभिन्न कारखाना खोल्न चाहन्छौं । तर हामीलाई गुण्डाबाट बचाउनु पर्यो । डनबाट जगाउनु प¥यो । अनावश्यक पैसाको खर्च हुने कुराबाट जोगाउनु पर्यो । हामीलाई अरु किसिमको झन्झटबाट मुक्त गरिदिनु पर्यो । राज्यले दिनुपर्ने सुविधाहरू सहज रुपमा उपलब्ध गराउनु पर्यो । हामी जति पनि पैसा नेपालमा ल्याउन सक्छौँ, लगानी भित्र्याउन सक्छौँ । यो त भनिएको कुरा हो । हामीलाई आएर भनेका छन् । त्यसो हुनाले यी सबै कुराहरूको सन्दर्भमा पनि म वर्तमान सरकारको ध्यान आकर्षित गर्न चाहन्छु ।’

अध्यक्ष नेपालले नेपालमा लगानी प्रवर्द्धन हुन नसक्नुको कारणको खोजी गर्न पनि सरकारलाई सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *