१६ औं योजनाको लक्ष्य : कुल गार्हस्थ्य उत्पादन १ सय खर्ब रुपैयाँ भन्दा माथि पुर्याउने

काठमाडौँ । राष्ट्रिय योजना आयोगले १६ औं आवधिक योजनामा आर्थिक वर्ष २०८५/८६ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) १ सय खर्ब रुपैयाँ भन्दा माथि पुर्याउने लक्ष्य राखेको छ ।

बुधवार राष्ट्रिय योजना आयोगले १६ औं आवधिक योजनाको लक्ष्यहरू सार्वजनिक गर्दै आर्थिक वर्ष २०८५/८६ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) १ सय ३ खर्ब ७ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य भएको जनाएको हो ।

आयोगले पञ्चवर्षीय योजनामा २०८०/०८१ मा ५७ खर्ब माथि पुग्ने अनुमानका आधारमा २०८५/८६ सम्म जिडिपी १ सय ३ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने लक्ष्य राखेको आयोगका प्रवक्ता यमलाल भुसालले बताए । उनले आर्थिक वर्ष २०८५/८६ मा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य १६ औं योजनाले लिएको बताए ।

उनले १६ औं योजनामा औसत आर्थिक वृद्धिदर ७।१ प्रतिशत हुने लक्ष्य लिएको बताए । आगामी आर्थिक वर्ष २०८१/८२ मा ६ प्रतिशत, २०८२/८३ मा ६.६, २०८३/८४ मा ७.४, २०८४/८५ मा ७.९ र २०८५/८६ मा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने लक्ष्य १६ औं योजनाले लिएको उल्लेख गरे ।

उनले नेपालीको १ हजार ४५६ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकामा आगामी पाँच वर्ष अर्थात् आर्थिक वर्ष २०८५/८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्याउने गरी प्रतिव्यक्ति आय बढ्ने लक्ष्य राखिएको बताए । यस्तै गरिबीको रेखामुनि रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने पनि आयोगको लक्ष्य लिएको पनि बताए । १६ औं योजनाले मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने, औसत आयु ७३ वर्ष र साक्षरता ८५ प्रतिशत पु¥याउने,बेरोजगारी दर ५ प्रतिशतमा सीमित गर्ने १६ औं योजनाको लक्ष्य राखेको छ ।

उनले १६ औं योजनाले विद्युत् उत्पादन ११ हजार ७ सय ६९ मेगावाट र विद्युत् पहुँच शतप्रतिशत जनसंख्यामा पुर्याउने र इन्टरनेट ९० प्रतिशत जनसंख्यामा पुर्याउने लक्ष्य लिएको पनि बताए । त्यस्तै कृषि क्षेत्रमा २१ प्रतिशत योगदान र गैरकृषि क्षेत्रमा ७९ प्रतिशत पुर्याउने लक्ष्य योजनाले राखेको छ । १६ औं योजनामा आगामी पाँच वर्षमा सार्वजनिक,निजी र सहकारी गरी २.६ प्रतिशतले लगानी बढाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *