करोडौँको मुनाफा गर्ने सहकारीले सदस्यको हजार फर्काउन सकेन, नागरिकको बचत निजी क्षेत्रमा लगानी

विराटनगर । गत पुस २३ गते धरान उमहानगरपालिका ८ मा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा थियो । १२ औं वार्षिक साधारण सभा भब्य रुपमा आयोजना पनि भयो । साधारण सभामा सहकारीले गत आर्थिक वर्ष २०७७/७८ मा ३ करोड ६७ लाख बढी खुद मुनाफा निकाले प्रतिवेदन सार्वजनिक पनि भयो ।

साधारण सभामा सेयर सदस्यहरुलाई १५ प्रतिशतसम्म लाभांश वितरण गर्ने निर्णय पनि भएको थियो । लाभांश वितरण गर्ने कुराले उत्साहित हुनु पर्ने सेयर सदस्यहरु उत्साहित हुन सकेनन् । २३ गते भएको साधारण सभाका निर्णय र प्रतिवेदनका कुराहरु वास्तविकतासँग मेल खानेखालको थिएन । करोडौँको मुनाफा गरेको भनिएको सहकारीमा भने आइतबार र सोमबार बचतकर्ताहरु आफ्नो बचत रकम फिर्ताको माग गर्दै सहकारीको कार्यालयमा पुगेका थिए । सहकारीमा पुगेका बचतकर्तालाई सहकारीले १५ हजार रकम पनि दिन नसकेको गुनासो बढेको छ ।

नागरिकले सहरकारीमा गरेको बचतको रकम निजी व्यवसायमा लगानी गरेपछि समस्या आएको हो । पछिल्लो समय बचतकर्ताहरु आवश्यक परेको रकम लिन सहकारी दिन छाडेपछि सहकारीका सदस्यहरुले सहकारीलाई विश्वास गर्न छाडेका हुन् । बराह ग्रुपको नाममा रहेको बराह कम्प्लेक्समा कार्यालय रहेको बराह बचत तथा ऋण सहकारी आफ्नै भवनको हैन । बराह ग्रुपले संचालन गरेको बराह कम्प्लेक्समा रहेको सहकारी पनि त्यही ग्रुपको हातमा छ । नागरिकको बचत सबै व्यवसायमा लगानी गरेपछि सहकारी टाँट पल्टिएको स्थानीय बताउँछन् ।

झापाको बिर्तामोडकी कमला लिम्बूले सहकारीमा राखेको रकम लिन जाँदा नपाएको गुनासो गरिन् । बराह सहकारीमा १० लाख रुपैयाँ राखेकोमा चार महिनादेखि धाउँदापनि आफूलाई आवश्यक परेको बेला एक रुपैयाँ पनि नदिएको उनले गुनासो गरिन् । ‘आफु बिरामी भएर पैसा नभइ नहुने अवस्था आएरपनि सहकारीमा जाँदा समेत पैसा पाउन सकिन, उनले भनिन्, आमाजु दिदी आशा राईको राखेको ५ लाख रुपैयाँ समेत धाउँदा धाउँदा पाएको छैन ।’

बचतकर्ताहरुका अनुसार धेरै अघिदेखि बराहले बचतकर्ताहरुलाई मागे जति र भनेको बेलामा पैसा फिर्ता गर्न सकेको छैन । बराहमा लामोसमयदेखि कारोबार गर्दै आएकाहरु र ठुलो रकम जम्मा गरेकाहरुले अहिलेसम्म भनेको बेला रकम पाउन सकेका छैनन् ।

बराह सहकारी टाँट पल्टिँदै गएपछि सहकारीसँग जोडिएका बचतकर्तालाई निन्द्रा पर्न छाडेको छ । दैनिक ज्याला मजदुरी गरेर धेरथोर रकम जम्मा गरेर भविष्य खोज्दै गरेका नागरिक बिरामी परेर अस्पतालमा जाने बेला रकम लिन पुग्दा छैन भनेर फिर्ता गर्दा रुनू न हाँस्नु अवस्थामा पुगेका छन् । एक सय जम्मा गर्ने देखि, हजार, लाख हुँदै करोडौँ रकम बराह सहकारीको खातामा जम्मा गर्नेको संख्या अहिले ५ हजार १ सय १७ जना रहेका छन् ।

सुनचाँदी व्यापारबाट शुरु भएको बराह ग्रुपसँग २ दर्जन हाराहारीमा व्यापार व्यवसायीक कम्पनीहरु छन् । धरानबाट काठमाण्डौँ, पोखरा, नारायणघाट हुदै विदेशमा पनि व्यापार विस्तार गरिसकेको छ।

गत आर्थिक वर्षको असारमसान्तसम्ममा ७२ करोड १९ लाख कारोबार गरेको थियो । जब साधारणसभा भयो त्यसपछि आशंकामा तानिएको बराह बचत तथा ऋण सहकारी संस्थाले आफ्नै सदस्यको चित बुझाउन नसक्दा अहिले दलदलमा फँसेको स्थानीय गुनासो गर्छन् । सहकारीका संचालक तथा अध्यक्ष मानबहादुर विश्वकर्मा  विभिन्न कारण देखाउँदै सहकारीमा आर्थिक तरलता आएको दाबी गर्छन् । रकम दिन नसकेको बारेमा स्वीकार गर्दै १५ हजारदेखि ९० लाखसम्मको चेकसहित रकम फिर्ताको लागि आएको बताए ।

सहकारीको रकम दुरुपयोग गर्दै संचालकले निजी स्वार्थका लागि सहकारी देखाएर खर्च गरेपछि नागरिकको बचत जोखिममा परेको हो । भर्खरै केही दिन अघि मात्र बराह ग्रूपले गोर्खा कम्प्लेक्स खरिद गरेको थियो । भएको सबै रकम कम्पेक्समा लगानी गरेपछि अहिले नागरिकले चाहेको बेला रकम नपाएका हुन् । ‘हामीले केही दिन अघि मात्र गोर्खा कम्प्लेक्स गरिद गरेका छौँ, अध्यक्ष विश्वकर्माले भने, सदस्यको लगानी सुरक्षित गर्न र मुनाफा कमाउनका लागि कम्प्लेक्स तथा व्यवसायमा लगानी गरिएको हो ।’

सदस्यले माग गरेको बेला रकम दिन नसक्ने गरी टाँट पल्टिएको सहकारीले सदस्यको हितमा भन्दै आफ्नो आन्तरिक कर्तुत लुकाउन छाडेको छैन । कोभिड लगायतको कारण देखाउँदै उनले सेयर सदस्यहरुलाई आर्थिक तरलता सिर्जना भएको भने भन्न छुटाएका छैनन् । निक्कै नाम कहलिएको बराह बचत तथा ऋण सहकारी संस्थाले सहकारीको नियम अनुसार मुनाफा कमाउने उद्देश्य राखेको बताएको छ । सञ्चालक विश्वकर्मा कोरोना महामारीको कारण वित्तिय संकट आइपरेको बताउँछन् । महामारीले असहज परिस्थिति बने पनि सामाना गर्दै आएको तर ऋण लगानी उठाउन गाह्रो भएकोले समस्या भएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 4 =