बाबुराम-उपेन्द्रबीच दूरी बढेकाे मान्दैनन् नेताहरू !

काठमाडौँ । ‘मेरो समकालीन/समकक्षीहरू देखेर दिक्क लाग्छ,’ जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आइतबार एक सार्वजनिक कार्यक्रममा भने । भट्टराईको यो दिक्दारीको सुइँ जसपा अध्यक्ष उपेन्द्र यादवतिर सोझिएको विश्लेषण गरिएको छ ।

हुन त भट्टराईको यो आक्रोश माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वसहयोद्धा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित पनि हुनसक्छ । माओवादीबाट मात्रै होइन, कम्युनिष्ट आन्दोलनबाटै बाहिरिएको घोषणा गरिसकेका भट्टराई र प्रचण्डबीच सैद्धान्तिक र राजनीतिक असहमति छन् । भट्टराई प्रचण्ड यथास्थितिवादी भएको टिप्पणी गर्छन् भने प्रचण्ड भट्टराई संशोधनवादी भएको औंल्याउँछन् । फलतः माओवादी छाडेर नयाँ शक्ति बनाएका भट्टराई त्यसपछि विभिन्न पार्टीहरूसँग एकता, तालमेल र गठबन्धन गर्दै अहिले जसपाको संघीय परिषद् अध्यक्ष छन् ।

अहिले उपेन्द्र उनै प्रचण्डसँग निकट देखिन थालेको र यसको अर्थ बाबुरामसँग उपेन्द्रको दूरी बढेको आकलन पनि गर्न थालिएको छ । यसको दृश्य माओवादी केन्द्रको ८औं राष्ट्रिय महाधिवेशनमा देखियो । प्रचण्डसँगै मञ्चमा बसेका उपेन्द्रले पुराना दिनहरू सम्झिँदै प्रचण्डको राजनीतिक योगदानबारे चर्चा र तारिफ गरे भने प्रचण्डले पनि उपेन्द्रलाई ‘कमरेड’ भन्न बिर्सिएनन् । प्रचण्डको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै महाधिवेशन प्रतिनिधिहरूले ‘प्रतिवेदनमा उपेन्द्र यादवको नाम किन छुट्यो ?’ भनेर प्रश्नसमेत उठाए । जसपाका एक नेता भन्छन्, ‘राष्ट्रिय राजनीतिमा देखिएको विभिन्न विषयहरूले पनि उहाँहरूबीचमा केही सामान्य दूरी बढेका आकलन गरिएको होला तर त्यो धेरै ठूलाे भने होइन ।’

भट्टराई–यादवबीचको बढ्दो दूरीको विजारोपण भने शेरबहादुर देउवा नेतृत्वको सरकार गठनले गर्‍याे । खासगरी पार्टीका तर्फबाट सरकारमा क–कसलाई पठाउने भन्नेबारे जसपामा भट्टराई र यादवकाे मत मिल्न सकेन । त्यसपछि भट्टराई, यादव र वरिष्ठ नेता अशोक राई सम्मिलित समिति बनाएर सरकारमा सामेल हुने नेताहरूको नाम टुङ्ग्याउने जिम्मा दिइएपनि यादवले समितिलाई लत्याएर सरकारमा आफूनिकट नेताहरूलाई मात्रै सरकारमा पठाए । यसपछि भट्टराई थप चिढिएका हुन् ।

तत्कालीन नेकपाको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको फाइदा उठाउँदै यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र महन्थ ठाकुरले नेतृत्व गरेको राष्ट्रिय जनता पार्टीबाट जसपा बन्यो । देउवाको नेतृत्वमा सरकार नबनेसम्म भट्टराई र यादव ठाकुरविरुद्ध पार्टीमा सँगै लडे । तर, देउवाको नेतृत्वमा सरकार बनेपछि भट्टराई र यादव अलि परपर भएको देख्न थालिएको हो ।

भट्टराईले योबीचमा पूर्व–पश्चिम यात्रा गरे । धेरै जिल्लाहरू पुगे । पार्टीलाई सुदृढ तुल्याउनेगरी गरिएको त्यो आफ्नो राजनीतिक सक्रियतालाई पार्टीले नबुझेको भट्टराईले बताउँदै आएका छन् । हुन पनि यादवलगायतका प्रमुख नेताहरूले यसलाई ठूलो रूपमा लिएनन् । बरु यादवलगायतका नेताहरूले यसलाई भट्टराईले पार्टीभित्रै गुट बनाउन खोजिरहेकोको रूपमा अर्थ्याए ।

यादवलगायतका नेताहरूको भट्टराईको यो यात्रालाई गुट बनाउन बनाउन सक्रिय भएको र त्यसकै आधारमा नयाँ दलमार्फत अगाडि बढ्न खोजेको रूपमा बुझ्यो । यादवनिकट एक नेता भन्छन्, ‘पार्टीभित्र स्वाभाविक रूपमा गुटहरू बन्न सक्छन् । तर, अर्कै दलमार्फत अगाडि जानु भने राजनीतिक अपराध हो । उहाँ (बाबुराम) ले त्यसो गर्नुहुन्न भन्नेमा विश्वस्त छु ।’ भट्टराई अर्कै दलमार्फत जान खोजेको तपाईंहरूको बुझाइ हो (?) भन्ने प्रश्नमा ती नेता नबोल्ने बताउँछन् ।

त्यसो त भट्टराई अर्कै दल बनाएर अगाडि बढ्न खोजेको विषयको विश्लेषण हुन थालेको छ । भट्टराईले आफूले केही नयाँ गर्ने सार्वजनिक रूपमा बताउँदै आएका छन् । आइतबार मात्रै पनि एक सार्वजनिक कार्यक्रममा उनले भने, ‘उत्पात नै त गर्न नसकिएला । तर, सकेसम्म नयाँ तरिकाले अघि बढ्नुपर्छ । म पनि यही प्रयासमा छु ।’

‘भट्टराई–यादवबीच दूरी बढेको छैन’

यादवलगायतका नेताहरूले अहिले भट्टराईमाथि निगरानी बढाइरहेका छन् । त्यसो भए यादवलगायतका नेताहरूको शंका सही हो ? भन्ने प्रश्नमा बाबुरामनिकट एक नेता भन्छन्, ‘त्यसरी अहिल्यै नबुझौँ ।’

दुई नेताबीच एमसीसीले पनि दूरी थप बढाइदिएको हो । भट्टराई एमसीसी लागू हुँदा राम्रै हुन्छ भन्ठान्छन् भने यादव एमसीसी यथास्थितिमा पारित हुनुहुन्न भन्ने मान्यता राख्छन्, जुन मान्यता प्रचण्डको पनि हो । भट्टराईले सार्वजनिक रूपमै एमसीसी पारित भएर लागू हुनुपर्ने विचार व्यक्त गर्दै आएका छन् । यादवले यसमा बार लगाउँदै आएका छन् । यी यावत् विषयहरूले दुई नेताबीचको दूरी बढ्दै गएकोजस्तो देखिएको नेता मोहम्मद ईस्तियाक राइन बताउँछन् । ‘त्यस्तो देखिएको छ,’ उनले भने, ‘यद्यपि योभन्दा अघि बढेर विश्लेषण गर्नु चाहिँ बेठिक हो । बेला भएको पनि छैन ।’

भट्टराई–यादवबीचको दूरी बढिरहेको घटनाक्रम र विषय–सन्दर्भहरूले पुष्टि गरेपनि नेताहरूले भने त्यस्तो नभएको जिकिर गर्छन् । ‘यो भने सञ्चारमाध्यमहरूको विश्लेषण हो, उहाँहरूबीच त्यस्तो क्तिक्तापूर्ण सम्बन्ध नै छैन,’ नेता महिन्द्रराय यादवको भनाइ छ ।

जसपालाई सामूहिक नेतृत्वको आवश्यकता परेको र पार्टी त्यसैगरी नै अगाडि बढ्ने नेता यादवको भनाइ छ । ‘पार्टी जति फुट्नुपर्ने फुटिसक्यो, अब फुट्दैन,’ उनी भन्छन्, ‘जसपामा केही भएको छैन । केही हुँदैन पनि ।’

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसमेत रहेका नेता राजेन्द्र श्रेष्ठ दुई नेताबीचको दूरी बढेको स्वीकार्दैनन् । ‘डा. बाबुराम भट्टराई र उपेन्द्र यादव दुवै नेताबिना जसपा चल्दैन । उहाँहरू दुवैजना पार्टीमा रहनुपर्छ । यही नै पहिलो सर्त हो,’ नेता श्रेष्ठ भन्छन्, ‘उहाँहरूबीचमा त्यस्तो केही छैन । सम्बन्धमा त्यस्तो तिक्तापूर्ण केही पनि छैन ।’

दुई नेताबीच त्यसरी सम्बन्ध नचिसिएको र चिसिन पनि नहुने उनको जिकिर छ । भन्छन्— ‘त्यसो कहिल्यै हुँदैन र हुन दिइँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *