बतास समूहले होटेल बनाएको पशुपति धर्मशालाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल–भारत पशुपति मैत्री धर्मशाला लिजमा लगाइएको विषयमा छानबिन गर्न समिति गठन भएकाे छ । उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेकाे हाे ।

समितिका सदस्यमा काेषकी सदस्य आशा पाण्डे, विश्वकरण जयन तथा देवीप्रसाद बराल रहेका छन् । समितिमा मन्त्रालयका लेखा उपसचिव सदस्यसचिव रहेका छन् ।

समितिलाई ७ दिनभित्रमा प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । पशुपति मैत्री धर्मशालालाई होटेलका रूपमा सञ्चालन गरिएको भन्ने आरोप लागेपछि त्यसको सत्य तथ्य छानबिनका लागि उक्त समिति गठन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

उक्त धर्मशाला पशुपति क्षेत्र विकास कोषले होटेल आनन्द प्रालि (बतास समूह)लाई भाडामा दिएको थियो । उक्त समूहले पशुपति मैत्री धर्मशालालाई होटलका रूपमा सञ्चालन गरेको तथा तीर्थालु एवं धार्मिक पर्यटकसँग मनपरी भाडा लिने गरेको आरोप लागेको छ ।

धर्मशालाका विषयमा छानबिनका लागि युवा सङ्घ नेपालको टोलीले पनि मन्त्री आलेलाई शुक्रबार ज्ञापनपत्र दिएको छ ।

‘मित्र राष्ट्र भारतले पशुपति दर्शनमा आउने तीर्थालु तथा धार्मिक पर्यटकको सुविधाका लागि निर्माण गरेको धर्मशाला व्यावसायिक प्रयोजनका लागि भाडामा दिनु लज्जास्पद विषय हो,’ उक्त विज्ञप्तिमा उल्लेख छ ।

ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री आलेले नेपाल सरकारको मिचिएका जमिनदेखि अधिग्रहण गरिएका सम्पूर्ण संरचना सबै फिर्ता गरिने आश्वासन दिएका छन् ।

याे पनि

बतास समूहमा मेरो कुनै संलग्नता छैन : आरजु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *