सम्पदामा बतासको व्यापार

पोखरामा प्रदेश संग्रहालय कब्जा गरेर व्यापार

पोखरा । दशक अघिसम्म बतास समूह एक सामान्य व्यापारिक संस्था थियो । अटो क्षेत्रबाट उदाएको बतास अहिले प्राकृतिक सम्पदासम्म पुग्यो । अहिले बतासको व्यापार होटल, हस्पिटलदेखि पर्यटकीय गन्तव्यहरूमा केन्द्रित भएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयभित्रको व्यापारिक ठेक्का उदांगिएपछि फेरि बतास समूहमाथि चौतर्फी आलोचना सुरु भएको छ । उसो त बतास समूह सम्पदामा व्यापार गर्न जोडिएको र विवादमा तानिएको यो पहिलोपटक भने होइन ।

यसअघि पशुपति क्षेत्र विकाश कोषको धर्मशालाको जग्गा लिएर बतास समूहले होटल आनन्द पशुपति सञ्चालन गरेको छ । यो विषयमा पनि बतास समूह विवादमा तानिएको थियो । पशुपति, नारायणहिटी, पोखराको प्रदेश सङ्ग्रहालयलगायतमा बतास समूह जोडिएको र विवादित बनेको छ ।

पोखराको सेती नदीमा निर्माण हुन लागेको सेती खोँच पर्यटकीय पूर्वाधार र पाताले छाँगोको शिशापुलमा समेत अप्रत्यक्ष बतास कम्पनीकै हात रहेको श्रोत बताउँछ । तर यसको ठेक्का सेती क्यानोन नामक संस्थाले पाएको छ । त्यसो त, संस्थाका अध्यक्ष कर्केनकुमार गुरुङ र बतास समूहका अध्यक्ष आनन्दराज बतासबीच घनिष्ठ सम्बन्ध छ । सामान्य परिवारबाट बतास अहिले व्यापारिक घरानाको रूपमा स्थापित भएको छ । एक ताका यति ग्रुपले गर्दै आएको सम्पदामाथिको अतिक्रमणको ठाउँ अहिले उसैगरी बतास कम्पनीले लिएको छ ।

रामघाट थुनेर गिट्टी बेच्ने दाउ
बतास समूह पोखराको सेती नदी थुनेर रामघाटबाट गिट्टी-बालुवा बेच्ने सम्झौताको संघारमा छ । पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणामा बतासलाई रामघाट र मरेखहरे घाट सुम्पिन ठिक्क पारेको छ । आलोचनाका बाबजुद सेती थुनेर पोखरा सहरलाई नै सकस पर्ने गरी निर्माण सामग्री बेच्ने बतास समूह दाउ हेरिरहेको छ । पोखरा महानगरपालिकाले उक्त योजना सम्झौताको अन्तिम चरणमा पुर्‍याएको छ । सार्वजनिक निजी साझेदारी समितिबाट उक्त प्रस्ताव पास भएर महानगरको कार्यपालिका बैठकमा लैजान लागिएको छ । बैठकले पास गर्ने बित्तिकै सम्झौता हुने र काम अघि बढ्ने महानगरपालिकाले जनाएको छ । सेतीसँगै मरेखहरेमा पनि बतासको उस्तै योजना छ । दुवै खोला ३५ वर्षका लागि बतासलाई दिन लागिएको हो ।

मानहुँकोट क्षेत्र लिजमा लिने तयारी
बतास समूहले नै ब्यास हिल्स प्राली नामको कम्पनी खोलेर तनहुँको मानहुँकोट ५० वर्षका लागि लिजमा लिने तयारी गरिरहेको छ । अरबौँ लगानी गर्ने भनिएको उक्त प्रस्तावमा नगरपालिकाले बतासलाई सुम्पिने प्रक्रियागत तयारी अन्तिम चरणमा पुर्‍याएको छ । त्यस क्षेत्रको करिब ४० रोपनी जग्गा सस्तोमा लिने गरी दुई पक्षबीच सम्झौताको ड्राफ्ट बनिरहेको छ । त्यहाँ सिसाको पुल बनाउनेदेखि केबुलकार, जीपलाईन, रेष्टुरेण्ट र होटल चलाउने योजना छ ।

प्रदेश सङ्ग्रहालय नै हडपेर व्यापार
२०६७ माघ ३ गते सरकारले पोखराको नयाँबजारस्थित हाल प्रदेश सङ्ग्रहालयको भवन १० वर्षका लागि बतास कम्पनीलाई दिने निर्णय गर्‍यो । नेपाल सरकारकाे पुरातत्व विभागले गरेको सम्झौताको अवधि२०७७ पुस २० गते नै सकिएपनि बतासले उक्त भवनको स्वामित्व छोडेको छैन । उल्टै म्याद थप्न लविइङ गरिरहेको छ । यहाँको जग्गामा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालयसहित थिएटर बनाउन डीपीआर तयार भइरहेको छ । बतासकै कारण उक्त योजना अघि नबढ्ने देखिएको छ । सम्झौताको म्याद सकिएपछि भवन खालि गरिदिन पटकपटक सङ्ग्रहालयले लिखित पत्र पठाएपनि अटेर गरेको सङ्ग्रहालयले जनाएको छ । मासिक ६५ हजार भाडा तिर्ने गरी भएको सम्झौता अनुसार बर्सेनि १० प्रतिशत बढाउने बुँदा छ । जहाँ एउटै सटरको ५० हजार भन्दा बढी भाडा लिन थालेका छन् ।

मनिपालको खरिद विक्री
केही समयअघि चर्चामा आयो, पोखरा र जनकपुरको मनिपाल खरिदबिक्री काण्ड । भारतीय कम्पनीले चलाउन छोडेको दिनदेखि सरकारलाई हस्तान्तरण गर्नुपर्ने मनिपाल अस्पताल बतास र अटोवेजलाई बेचेर कम्पनी बाहिरियो । सरकार निरीह भयो, चौतर्फी आलोचनाका बाबजुद मनिपाल अहिले पार्टनरसीपमा बतासले चलाउन थालेको छ । यसमा बतासको ६० र अटोवेजको ४० प्रतिशत शेयर लगानी छ । यसबारे संसदीय समितिले छानबिन भने गरिरहेको छ ।

राजनीतिक निकटताको फाइदा
बतास समूहले विभिन्न दलका प्रभावशाली व्यक्तिसँग निकट भएर त्यसैको आडमा फाइदा लिने गरेको छ । राजनीतिक व्यक्तिहरूलाई प्रभावमा पारेर बतासले ठूलो लाभ लिइरहेको छ । पूर्वपर्यटन मन्त्री तथा एमाले नेता स्व. रवीन्द्र अधिकारीको निकट बतास कम्पनीका अध्यक्ष आनन्दराज बतास हालका प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणासँग पनि उत्तिकै नजिक छन् । पर्यटन मन्त्री बनेर बाहिरिएका योगेश भट्टराई समेत उनीसँग निकट रहेको देखिन्छ । चुनावका बेला राजनीतिक पार्टी र उम्मेदवारलाई आर्थिक सहयोग गर्ने र जितेपछि आफ्नो पक्षमा काम गराउन बतास खप्पिस मानिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *