हिउँदे वर्षा दोहोरिँदै, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा हिउँदे वर्षा दोहोरिने भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार गएरातिदेखि भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण हिउँदे वर्षा दोहोरिने भएको हो ।

यो मौसमी प्रणालीले आजदेखि शनिबारसम्म देशका विभिन्न भेगमा वर्षा र हिमपात गराउनेछ । महाशाखाले विशेष वक्तव्य जारी गर्दै हिउँदे वर्षाले पुर्‍याउने असरबाट जोगिन आह्वानसमेत गरेको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

उनका अनुसार बिहीबारदेखि देशव्यापी रूपमा हिउँदे वर्षाको मौसमी प्रणाली फैलनेछ । सो क्रममा बिहीबार र शुक्रबार सुदूरपश्चिमदेखि पश्चिमको लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा मध्य नेपालको बागमती प्रदेशसम्म हिउँदे वर्षाको विशेष प्रभाव रहनेछ । यी क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भएर हल्कादेखि मध्यम वर्षा गराउनेछ । उच्च हिमाली र पहाडी भेगमा हिमपात हुनेछ । केही भेगमा भारी हिमपात हुने भएकाले ती हिमाली क्षेत्रमा पर्यटकीय यात्रा र दैनिक यात्रा नगर्न विभागले अपिल गरेको छ ।

प्रदेश १ र २ मा अन्य प्रदेशको तुलनामा हिउँदे वर्षाको प्रभाव कम पर्ने भएको छ । ती भेगमा आंशिकदेखि सामान्य बदली र असर रहनेछ । वर्षा हुँदा तराई भेगमा शीतलहर र कुहिरोको असर कम हुनेछ । यस पटक दोहोरिन थालेको हिउँदे वर्षाका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात तथा दैनिक जनजीवनमा बढी असर पर्ने भएकाले सचेत रहन र गराउन सरोकारवाला निकायलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *