बलिउडका सम्पादकको नेपाली चलचित्र बनाउने चाहना

काठमाडौँ । देशमै पत्रकारिता गरेर आफूलाई स्थापित हुने रहर थियो । विदेश जाने भन्ने कल्पना सम्म गरेका थिएनन्, तर परिस्थितले उनलाई विदेशमै रम्ने बनायो । उनी हुन्, टिआर गौडेल । कुनै बेला स्याङ्जाबाट राजधानीका राष्ट्रिय दैनिकमा पत्रकारिता गर्थे तर अहिले उनी जापानमा छन् । मुम्बईमा एक दशक जतिको फिल्मी क्यारियर छोडेर जापानमा व्यवसाय गर्दै बसेका उनको कथा अल्लि भिन्नै छ ।
उनी एक लघु-चलचित्रका निर्देशक पनि हुन् । आफैले निर्माण गरेको लघु-चलचित्र ‘हन्ड्रेड रुपिज’ अहिले सम्म १४ वटा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छानिएको छ । कैयौँ फेस्टिभलमा ‘बेस्ट डाइरेक्टर’ र ‘बेस्ट सर्ट-फिल्म’ को अवार्ड पनि प्राप्त गरेको यो चलचित्रमा दिया मास्के, स्व विशारद बस्नेत, श्रीतिशा श्रेष्ठ र तेज गिरीको मुख्य भूमिका रहेको छ ।
चलचित्रको लेखन र निर्देशन टिआर गौडेल आफैले गरेका हुन् । लेखक र निर्देशकका रूपमा गौडेलको यो पहिलो चलचित्र हो । तर, यो क्षेत्रमा उनको नाम नयाँ भने होइन । सम्पादकका रूपमा उनले भारतका चर्चित रियालिटी शो तथा कार्यक्रममा काम गरिसकेका छन् । लेखनमा विशेष रुचि भएकाले टिआर पत्रकारितामा पनि आबद्ध भएका थिए ।
एसएलसी लगत्तै २०५७ तिर उनले काठमाडौँबाट प्रकाशन हुने पत्रिकामा काम गर्न थालेका थिए । सँगै उनी विद्यालयमा पढाउन पनि थाले। सानै उमेरमा उनले विद्यार्थी, शिक्षक र पत्रकारको सामूहिक भूमिकालाई अगाडी बढाउँदै थिए । त्यो बेलाको माओवादी द्वन्द्वले उनलाई लामो समय टिक्न दिएन । ‘समाचार लेखेकै कारण माग्नेसम्मका धम्की आए । अब नेपालमै बसेर केही गर्छु भन्ने रहरमाथि तुसारापात हुन थाल्यो। माओवादीको धम्की घरसम्म पुग्यो । सबैले घरमा नआइज, बजार तिरै बस भन्न थाले। त्यो बेला सहर माभन्दा गाउँतिर माओवादीको गतिविधि बढी थियो । अन्ततः म पनि डराएँ अनि देश छोड्न बाध्य भएँ’ उनले सुनाए- ‘उक्त समय पत्रकार, राज्य र माओवादी दुवैको आँखाको तारो बनेका थिए ।’
‘एक दिनको कुरा हो, मैले प्राथमिक अध्ययन गरेको विद्यालय निमावि बनाउने बैठक थियो । एउटा पत्रकार र पूर्व विद्यार्थी पनि भएको कारण म पनि गएको थिए । दशैको बेला युद्ध विराम थियो । त्यहाँ २ जना चिनेकै माओवादीहरू पनि आउनु भएको रहेछ । वहाँहरूले जून किसिमले मलाई धम्क्याउनु भयो अनि मैले पूर्ण रूपमा सोचेँ, यदि म नेपालमै बसेँ भने मेरो जिन्दगी लामो छैन ।’ उनले थप्दै गए- ‘ अनि भिजिट भिसामा भए पनि दुबई जाने निर्णय गरेँ ।’
दुबई भने जस्तो सजिलो थिएन । एउटा २१/२२ वर्षको केटो । पढ्ने रहर थियो । पत्रकारितामा आफूलाई स्थापित गर्ने ‘जूनुन’ थियो । तर ती सबै सपना चकनाचुर भएका थिए । अर्काको देशको त्यो शारीरिक परिश्रमले जीउ शिथिल बनिरहेको थियो । अन्ततः काम गर्न नसकेरै ३ महिना पुग्दा-नपुग्दै उनी नेपाल फर्किए ।
मन भारी थियो । के गर्ने? कसो गर्ने? यस्तै प्रश्न मात्रै थिए, समस्या मात्रै थिए । तर यही गर्ने भनेर उनले पहिचान गर्न सकेका थिएनन् । एउटा अठोट भने थियो ‘खाली हात घर नफर्किने ।’ त्यही अठोटलाई साहस बनाएर दुबईबाट फर्केका उनी आफ्नो घर नगई डाइरेक्ट काठमाडौँबाट सुनौली हुँदै मुम्बई हानिए । ‘मुम्बईमा गाउँकै एक जना दिलीप दाइ हुनुहुन्थ्यो । वहाँलाई भेटेँ । एउटा इन्डियन रेस्टुरेन्टको सेफ हुनुहुन्थ्यो । मलाई पनि त्यही रेस्टुरेन्टमा काममा लगाइदिनु भो । टेबल सफा गर्न थालेँ तर मनले मान्दैनथ्यो ।’ उनले थप्दै गएँ- ‘ १५/२० दिन जति टेबुल पुछेँ तर त्यो बेला मुम्बईबाट २ वटा साप्ताहिक पत्रिका पनि निस्कँदा रहेछन् । मैले दुइटै पत्रिकालाई फोन गरेँ । नेपाल सन्देश भन्ने पत्रिकाको प्रकाशक दिलेन्द्र सोनीले मलाई त्यो पत्रिकामा सम्पादकको रूपमा काम गर्ने अवसर दिनु भयो । अनि, अलि सजिलो हुँदै गयो दिनचर्या ।’
यही क्रममा टिआरको भेट पाल्पाका सन्तकुमारसँग भयो । उनी मुम्बईको एउटा प्रोडक्सन हाउस ‘क्रिएटिभ आई’ मा साउन्ड रेकर्डिष्ट थिए । उनकै सहयोगमा हिन्दी चलचित्र खासै नहेरेका उनी पहिलो पटक क्रिएटिभ आई कम्पनीमा ‘ले म्यान’ को रूपमा काम गर्ने अवसर प्राप्त गरे । सहारा-वानमा आउने ‘रुबी डुबी हब दब’ सिरियलमा त्यहाँ केही महिना काम गरेपछि सोनाली बेंद्रेको कम्पनी रोज मुभिजको ‘गन्स एन्ड रोजेज’ मा चौथो सहायक निर्देशकको रूपमा काम गरे । जुन सिरियलमा गुल्मीका लोकनाथ पाण्डे चिफ असिस्टेन्ट डाइरेक्टर थिए । अहिले उनी जय-भारत च्यानलबाट आउने ‘राधा-कृष्ण’ र ‘जय कन्हैया लाल की’ सिरियलका निर्देशकको रूपमा कार्यरत छन् । हङ्गामा च्यानलबाट आउने सिरियल ‘हिरो’ को तेस्रो निर्देशकको रूपमा काम गर्दा-गर्दै सिरियल रोकियो । हिन्दी अझै त्यति राम्रो भैसकेको थिएन । कहिले काम हुन्थ्यो त कहिले हुँदैनथ्यो । लामो समय उनी खाली भए । हिन्दी कमजोर भए पनि हुने हुँदा पेसा फेरेर सम्पादक तिर लाग्ने तरखरमा लागे ।
बालाजी टेली-फिल्म्सका रवि भट्टराईले उनलाई सम्पादन सिक्ने अवसर मिलाइदिए । स्टार प्लसमा आउने ‘के स्ट्रिट पाली हिल’ मा सम्पादनको काम सिक्न थाले उनले । त्यसपछि बिस्तारै ‘रिमिक्स’, ‘इन्डिया कलिङ’, ‘जव लव हुवा’, ‘पपकोर्न न्युज’ लगायत का शो मा असिस्टेन्ट एडिटर भएर काम गरे ।
सोनीबाट सन् २००८ मा प्रसारण भएको ‘आइडिया लाइफ बन जाए’ मार्फत आफ्नो स्वतन्त्र सम्पादकको छवि बनाएका उनले ‘झुम इन्डिया झुम’, ‘कमेडी सर्कस’, ‘क्रेजी किया रे’, ‘बाथरुम सिंगर’, ‘कौन जितेगा बलिउड का टिकट’ ‘गिनिज वर्ल्ड रिकर्ड’ ‘राज पिछले जन्मों का’, ‘किचन च्याम्पियन’ लगायत रियालिटी सोमा काम गर्दै गर्दा उनीसहित १० जना सम्पादकको समूह बन्यो । त्यही समूहमा टिम-वर्क गर्दै ‘मेकिंग अफ रावन’, ‘कौन बनेगा करोडपति’ का केही सिजन, र ‘झलक दिखाला जा’ लगायत चर्चित कार्यक्रम सम्पादन गरेका छन् गौडेलले ।
यही समूहबाट उनी कामको सिलसिलामा जापान पुगे । उनलाई त्यहाँको सिस्टमले आकर्षित गर्यो । पटक पटक जापान गइरहँदा र त्यहाँको वातावरण अनुकूल लागेको कारण उनले उतै केही समय सङ्घर्ष गर्ने योजना बनाए । अहिले एक दशक बढी भयो उनी जापान मै बस्न थालेको । उनले त्यहाँ रेस्टुरेन्टको चेन बिस्तार गरेका छन् ।
तर जहाँ गए पनि र जे गरे पनि उनको कला प्रेम र लेखनको रहर हराएन । त्यसैले पनि हुन सक्छ यति लामो समय पछि पनि उनले लघु चलचित्र ‘हन्ड्रेड रुपिज’ निर्माण गरेका छन् र अवार्ड पनि जितेका छन् । हरेक वर्ष आफैले लेखेका गीतको भिडिओ निर्माण गरी युट्युबमा राखिएका हेर्न पनि सकिन्छ ।
आर्थिक रूपले सबल बन्दै गरेका उनी अब पुनः कला क्षेत्रमै जम्न चाहन्छन् । केही कमर्सियल चलचित्र बनाउने योजना रहेको र अब व्यवसायभन्दा पनि कला क्षेत्रका काममा बढी केन्द्रित हुने योजना रहेको उनले मकालु खबरलाई बताए । उनी भन्छन्,’चलचित्र बनाएर कमाउँछु भन्ने त छैन । तर कति कम लगानी डुबाएर निर्माण गर्न सकिन्छ त्यसैको तयारीमा लाग्ने योजना छ ।’








