राप्रपा र विवेकशील साझाबीच पार्टी एकताभन्दा पनि नयाँ शक्ति निर्माण हुनसक्छ : प्रवक्ता पाठक

काठमाडौँ । राप्रपा र विवेकशील साझा पार्टीका अध्यक्षहरूबीचकाे भेटसँगै पार्टी एकताको चर्चा शुरू भएकाे छ । शुक्रबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र महासचिव धवलशमशेर राणा तथा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रका बीचमा भएको भेटमा पार्टी एकताको प्रस्ताव प्रवेश भएपछि राजनीतिमा नयाँ तरङ्ग आएको हो ।

दुई पार्टीका शीर्ष नेताहरूबीच एकअर्कोमा गाभिनेभन्दा पनि नयाँ शक्ति निर्माण गर्न सकिने बारेमा छलफल भएको विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले बताए । ‘राप्रपामा नयाँ नेतृत्व आएपछि नयाँ आशा पनि जागेको छ ।

खासगरी अध्यक्ष लिङ्देन र महामन्त्री राणाको व्यक्तित्वका हिसाबले पनि नागरिकले राप्रपाप्रति आशाका साथ हेरिरहेको र हामी पनि वैकल्पिक शक्तिहरूलाई ध्रुवीकरण गर्ने भन्ने आधिकारिक निर्णय गरेर बसेको पार्टी हो यस्तोमा हामी दुई नयाँ उर्जाका साथ अघि बढ्न सक्छौँ भन्ने सम्भावना खुला भएको हो तर, यसको अर्थ पार्टी नै एकता हुनेभन्दा पनि नयाँ शक्ति निर्माण गर्ने कुरा हो ।’

उनले भने– ‘पार्टीभित्र अहिलेसम्म नयाँ ध्रुवीकरण गर्ने भन्ने निर्णय नै भएपनि कुनकुन दल वा शक्तिसँग भन्ने छलफल भइनसकेको र आजको छलफल पछि राप्रपासँग ध्रुवीकरण गर्ने नगर्ने विषयमा अब पार्टीमा थप छलफल हुनेछ ।’

जडसूत्रवादी भएर अघि बढ्न राप्रपालाई पनि सहज नभएको भन्दै प्रवक्ता पाठकले दुवैले मिलेर अघि बढ्न सक्ने वातावरण बन्न सक्ने बताए । त्यसभित्र चुनावमा तालमेल गर्ने कुरा पनि पर्ने पाठकको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *