विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री अधिकारी, यस्तो छ अंकगणित

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भइसकेको जनाइएको छ । मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिन नेकपा एमाले र माओवादीले ह्वीप जारी गरिसकेका छन् । एमाले, माओवादी केन्द्र र राजीव गुरुङ (दीपक मनाङे) को समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

अधिकारीलाई २ सीट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन नगर्ने संकेत गरेको छ । यो अवस्थामा विश्वासको मत पाउने सम्भावना भने कम देखिएको छ । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र सांसद दीपक मनाङे समेत गरी ३१ जना प्रदेश सभा सदस्य रहेका छन् । नेपाली कांग्रेसका २७ र राप्रपाका २ प्रदेशसभा सदस्य रहेका छन् ।

सभामुख पनि एमालेकै रहेका कारण भने मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा ३० मत मात्रै पाउने सम्भावना देखिएको छ । जसले गर्दा कांग्रेस र राप्रपाको समर्थन नरहेको खण्डमा ६० प्रदेश सभा सदस्यको बहुमत ३१ मत ल्याउने सम्भावना भने कम देखिएको छ ।

तर पूर्व मुख्यमन्त्री सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा सर्वोच्चले गरेको व्याख्याअनुसार ३० सांसदको समर्थन हुँदा बहुमत पुग्ने गठबन्धन नेताहरू दाबी गर्दै आएका छन् । कांग्रेसका नेताहरू भने विश्वासको मत लिँदा बहुमतका लागि ३१ जनाकै समर्थन तर्कमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *