माओवादी महाधिवेशनमा गण्डकीबाट ७४ प्रतिनिधि

पोखरा। पहिलो राष्ट्रिय सम्मेलनलाई फेरेर आठौँ महाविधेशनको तयारी गरेको नेकपा माओवादी केन्द्रले महाधिवेशनमा गण्डकीबाट ७४ जना प्रतिनिधि पठाएको छ । गण्डकीमा सबैभन्दा बलियो मानिएको गोरखाबाट प्रतिनिधि पनि धेरै छन् । गोरखाबाट १८ जना छन् भने मनाङ र मुस्ताङबाट २/२ जना छन् ।

कास्कीबाट १३, बागलुङबाट ८, तनहुँबाट ७, लमजुङ र नवलपुरबाट ६/६ जनाले सहभागिता जनाउने छन् । पर्वत ५, म्याग्दी ४ र स्याङ्जाबाट ३ जना प्रतिनिधि छनोट भएका छन् । यसबाहेक केन्द्रीय सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय सल्लाहकार पनि महाधिवेशन प्रतिनिधि हुने माओवादी गण्डकीले जनाएको छ ।

यसपालि युवापुस्तालाई बढी जोड दिइएको अध्यक्ष गायत्री गुरुङले बताइन् । प्रतिनिधिमध्ये २० जना १८ देखि ४० वर्ष उमेर समूहका युवाहरू छन् । त्यसमा पनि महिला ९ र पुरुष ११ जना छन् । पूरा प्रतिनिधिमध्ये २६ जना महिला र ४७ जना पुरुष छन् भने १४ जना दलितको प्रतिनिधि हुनेछन् ।

योसँगै गण्डकीबाट माओवादीको केन्द्रीय नेतृत्वमा खासै राम्रो प्रभाव हुने सम्भावना छैन । केन्द्रीय सदस्यमा धेरैको आकाङ्क्षा भए पनि पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोमा उपस्थिति निकै कम हुने देखिन्छ । स्राेतका अनुसार यहाँबाट पदाधिकारीमा देव गुरुङ र देवेन्द्र पौडेलको नाम अघि छ । स्थायी कमिटीमा हितराज पाण्डेको मात्रै नाम सुनिएको छ भने पोलिटब्यूरो सदस्यमा हरि अधिकारीको चर्चा छ ।

गण्डकी प्रदेशमै सबैभन्दा राम्रो पार्टी संगठन र सदस्यहरू गोरखामा छन् । त्यसैले गोरखाले बढी दाबी गर्नु सामान्य हो । पोलिटब्यूरोमा महिला समावेशी खोज्दा अमृता थापामगर र यशोदा सुवेदी अघि छन् । प्रतिनिधिहरू २० जना युवा भए पनि माथिल्ला पदमा उनीहरू पुग्ने सम्भावना निकै कम छ । केन्द्रीय सदस्यमा भने अधिकांश प्रतिनिधिको दाबी छ ।

राष्ट्रिय महाधिवेशनमा पुग्दासम्म पालिका अधिवेशन अझै पूरा गरेको छैन । कास्कीका ५ मध्ये २ पालिकाले मात्रै नेतृत्व पाएको छ । प्रदेशको अरू जिल्लामा पनि अधिवेशन नसकिएको माओवादीले जनाएको छ । आकाङ्क्षीहरू धेरै भएकोले नेतृत्व छान्न मुस्किल परेको नेताहरू बताउँछन् । माओवादीले जिल्ला स्तरीय कमिटी भने खारेज गरेको छ ।

समन्वयका लागि एउटा समन्वय समिति परिकल्पना गरिए पनि कार्यकारी पद जिल्लालाई छैन । जिल्ला भन्दा पालिका बढी महत्वपूर्ण मानिएको छ । त्यसपछि सिधै प्रदेशमा पुग्छ । कांग्रेसले भने वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला हुँदै प्रदेश र केन्द्रीय कमिटी तयार गरेको छ । एमालेले निर्वाचन क्षेत्र स्तरीय कमिटीलाई मतलब गरेको छैन । जिल्ला संरचना भने एमालेमा जीवित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *