कबड्डी ४ मा ब्रान्ड विज्ञापनको कन्सेप्ट

काठमाडौँ । कोरोनाका कारण नेपाली चलचित्र जगतले ठूलो नोक्सानी भोगेको छ । ठूलो लगानीमा निर्माण भएका चलचित्रहरू प्रदर्शनको संघारमै पुगेर पनि रोकिएका छन् । अझै पनि नेपाली चलचित्रहरूलाई हलसम्म ल्याउने हिम्मत निर्माताले गर्न सकेका छैनन् । ठूलो लगानी रोकिएर बस्दा निर्मातालाई समस्या थपिने नै भयो । जोखिम मोलेर चलचित्र प्रदर्शनमा लैजाने हिम्मत गर्दा चलचित्र चलेन भने अझ आर्थिक बोझ थपिन्छ भन्ने बुझाइले होला निर्माता चुपचाप पर्ख र हेरको स्थितिमा छन् ।

नेपाली चलचित्रको आयको क्षेत्र खासै फराकिलो बन्न नसकेको कुरा जगजाहेरै छ । हलबाहेक ओभरसिज सेल मात्रै अहिलेसम्मको बाटो बनेको देखिएको छ । ओटीटी प्ल्याटफर्ममा जाने त नेपाली निर्माताले सोच्नै सकेका छैनन् । तर केही माध्यममार्फत अनलाइन चलचित्र देखाउन थाले पनि शुल्क नतिरी युट्युबमा चलचित्र हेर्ने बानी लागेका नेपाली दर्शकका कारण एप्स मार्फत चलचित्र देखाउने प्रयास फस्टाउन सकेको छैन । एकपटक चलचित्रको नाम बिकेपछि सोही चलचित्रको नाम बिकाउने निर्माता पनि चलचित्र बजारमा धेरै छन् । कलासँग सम्बन्ध भए पनि चलचित्र निर्माणको उद्देश्य व्यवसाय गर्नुलाई नकार्न सकिँदैन । त्यसैले पनि चलचित्र निर्माणमा अभिनयभन्दा पनि चलेका अनुहार र बिकेको नाम प्रयोग गरिँदै आएको हुन सक्छ ।

यो पनि : उपेन्द्र सुब्बा भन्छन्- फाइनल म्याच कबड्डी २ निकट छ

लाखौँ करोडौँ लगानी डुबाउन कै लागि भनेर निर्माता किन आउँछन् र ? तर व्यावसायिकता र कलाको राम्रो समिश्रण गर्न नसक्दा लगानी बालुवामा पानी भएका बग्रेल्ती उदाहरण छन् । चलचित्र कबड्डीलाई मौलिक नेपाली चलचित्रको रूपमा हेरिँदै आएको छ । चलचित्रले नेपाली विषय उठाएको छ । कथासँगै कलाकार पनि सुहाउँदिला देखिएका छन् । रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको कबड्डी चलचित्र एउटा मानक जस्तो नै बन्न पुग्यो नेपाली चलचित्र क्षेत्रमा । करिब ३५ लाखमा निर्माण गरिएको यो चलचित्रले झन्डै साढे दुई करोडको व्यवसाय गरेको बताइन्छ ।

यसले निर्माता र टिममा उत्साह थपियो । कथा पनि टुङ्गिएको थिएन । केही कलाकार परिवर्तन गरेर चलचित्र ‘कबड्डी कबड्डी’ निर्माण गरियो । लेखनमा उपेन्द्र सुब्बा जोडिए । एक करोडमा निर्माण गरिएको भनिएको चलचित्रले १० करोडको व्यवसाय गर्‍यो । ‘कबड्डी कबड्डी कबड्डी’ मा आइपुग्दा धेरै चलेका नामहरू चलचित्रमा जोडिए । तर कलाकार धेरै भएको र अनावश्यक कथा बढाइएको भान भएन । कबड्डी कबड्डीमा केही हदसम्म घटेको क्रेज कबड्डी ३ ले फर्काइदियो ।

अहिले चलचित्र ‘कबड्डी द फाइनल म्याच’ तयार भएको छ । कोरोनाको प्रभाव कम हुँदै गएपछि चलचित्र निर्माणको घोषणा गरिएको थियो । चलचित्र बनेर तयार भए लगत्तै यसको प्रदर्शन मिति समेत सार्वजनिक भइसकेको छ । यसो गर्दा चलचित्रले ठूलो आर्थिक भार लामो समय सम्म बोक्न परेन । बनेर थन्किएका चलचित्रको तुलनामा यसरी हेर्दा यो चलचित्र निर्माण टिम भाग्यमानी साबित भएको छ ।

केही दिन अघि मात्रै चलचित्रको टिजर सार्वजनिक भएको छ । ३ मिनेट लामो टिजरमा विभिन्न ब्राण्डलाई प्रमोट गरेको देख्न सकिन्छ । छायांकनमा प्रयोग भएको गाडीदेखि मदिरा प्रायोजित कम्पनीको रहेको टिजरमा स्पष्ट देखिएको छ । गेटमा राखिएको बोर्डमा ‘फोन पे’ को प्रमोसन गरेको देख्न सकिन्छ ।

चलचित्र निर्माण सृजनासंगै व्यवसाय पनि भएको विषयलाई नकार्न सकिँदैन । यस्तोमा छायांकनको समयमा प्रायोजकलाई लिएर आफ्नो लगानी कम गर्न सकिने रहेछ भनेर यो टिमले देखाएको छ । यसै पनि छायांकनमा चाहिने सामान त प्रयोग गर्नु नै छ । आर्थिक घाटा बेहोरेर कुनै ब्राण्डको लोगो ब्लर गरेर प्रयोग गर्नु भन्दा कुनै कम्पनीसँग गरेको सम्झौताले छायांकनमा त सहायता पुग्यो नै लगानी उठाउने अर्को माध्यम पनि बन्न सक्ने रहेछ । अन्य देशका चलचित्र उद्योगमा यो प्रचलन रहँदै आएकोमा नेपालमा पनि यो क्रम भित्रिन थालेको छ । यसै क्रममा कबड्डी समूहले थालेको यो प्रयोग केही फरक र व्यवहारिक देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *