अन्तर्वार्ता

नागरिकता नहुनेलाई पनि मताधिकार दिनुपर्छ, नभए देशनिकाला गरिदिए भइगयाे नि : उपेन्द्र यादव

काठमाडौँ । पाँचदलीय सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी [जसपा] का अध्यक्ष उपेन्द्र यादवले नागरिकताविहीन नेपालीलाई पनि मतदानको अधिकार दिनुपर्ने बताएका छन् । नेपालमा जन्मिएका, बाबुआमा नेपाली नागरिक भएका तर विधि र कारणले नागरिकता नपाएकाहरूलाई मताधिकारबाट वञ्चित गर्न नहुने उनको भनाइ छ ।

नेपाली नागरिकता प्राप्त व्यक्तिलाई मात्रै मताधिकार रहने संवैधानिक व्यवस्थाको विकल्प खोजिनुपर्नेमा यादव जोड दिन्छन् । यसै विषयमा यादवसँग गरिएको संक्षिप्त कुराकानी:—

नागरिकता नभएकालाई पनि मताधिकार दिनुपर्छ भन्नुभएको छ, यो भनेको त संविधानविरोधी अभिव्यक्ति भएन र ?
नेपाल राज्य त हो नि कि होइन ? राज्य हो भने नागरिकता नपाएकालाई नागरिकता दिनुपर्छ संविधान, नियम कानूनअनुसार । नागरिकता नपाएका व्यक्ति त्यो नागरिक हो कि होइन ? नेपालमा जन्मिएका नेपाली नागरिकका सन्तानले नागरिकता प्रमाणपत्र नबनाएको अवस्थामा ऊ नेपालको नागरिक हो कि होइन ? होइन भने कुन देशको नागरिक हुन्छ ? हो भने ऊ नागरिक अधिकारबाट कसरी वञ्चित पार्न मिल्छ त ? समस्या यहाँनेर हो ।

तपाईं सत्ता गठबन्धनको एक प्रमुख नेता । नागरिकता लिन उमेर पुगेकालाई लबिइङ्ग गर्ने तपाईंको पनि जिम्मेवारी होइन र ?
नागरिकता प्रमाणपत्र र मतदानको अधिकार वा मताधिकार भनेको अलग चिज हो ।

नागरिकता नहुँदा कुन आधारमा टेकेर मताधिकार प्रयोग गर्न दिने त ? किनभने नागरिकता नभइ मतदाता परिचयपत्र नै बन्दैन । यही होइन नेपालको व्यवस्था ?
ऊ यो देशमा जन्मिएको छ, उसका बाबुआमा नेपालमा जन्मिएका छन् त्योभन्दा ठूलो आधार के हुन्छ ?

भनेपछि, जन्मदर्ताको आधारमा भोट हाल्न दिनुपपर्‍याे ?
बाबुआमा जन्मिएको यही देशमा, ऊ आफू जन्मिएको यही देशमा अनि भोट हाल्न कुन देश जाने ? त्यसकारण निश्चित रूपमा यो (जन्मदर्ताको आधारमा मताधिकार प्रयोग गर्ने) पनि एउटा आधार हो ।

उनीहरूलाई नागरिकता दिनेतिरै तपाईंको ध्यान किन नगएको त ?
नागरिकता दिन नसकेको यो राज्यले हो । सबैलाई नागरिकता दिनुपर्‍याे । नेपालमा जन्मिएका सबैलाई नागरिकता दिन सक्नुपर्‍याे,  परेन त ?

तपाईंले देख्दा नागरिकता नपाएका तर मताधिकारका लागि योग्य भएकाहरूको संख्या कति छ ?
यस्तो, तराईमा मात्रै हेर्ने हो भने ५ देखि ७ लाख जनसंख्या देखिन्छ । पहाडमा पनि छ, हिमाली क्षेत्रमा झन् छ । ठूलो संख्या छ देशमा ।

के तपाईं भोटको लागि यसो भन्दै हुनुहुन्छ ?
भोटका लागि मात्रै होइन । हिमालमा चुनाव लड्न म जान्छु र ! तपाईं (मधेशका केन्द्रीय बाहेकका दल) जानुहुन्छ । भोट भनेको अलग चिज हो । त्यसकारण नागरिक अधिकारबाट वञ्चित बनाउन पाइन्न भन्ने मेरो चाहना हो । कुनै पनि व्यक्तिलाई नागरिकताविहीन, राष्ट्रियताविहीन बनाउन पाइँदैन । राष्ट्रियताविहीन नभएपछि त भोट खसाइहाल्छ नि !

सत्ता गठबन्धनका बीचमा यही कुरा राख्नुभएको छ कि छैन ? छ भने त्यहीँबाट समस्याको समाधान निकाले भयो, समाधान नहुने भएर पो नागरिक दबाब खोज्नुभएको हो कि ?
मैले सबै ठाउँमा यो कुरा राखेको छु । अब नागरिकसम्म पुर्‍याउने हाे ।

आगामी चुनावमा असर पर्दैन ?
कसरी पर्छ ?

आधार के के छन् त ?
पञ्चायतकालमा कसरी चुनाव हुन्थ्यो ? ०३६ सालमा जनमत संग्रह कुन आधारमा भयो ? संविधानसभाको चुनाव कुन आधारमा भयो ?

विगतका अनुभव संक्रमणकालका होलान्, तर, संविधान बनेर व्यवस्थित रूपमा राज्य सञ्चालनको शुरुआत भएको होइन ? संविधानले नागरिकता नभएकाले मताधिकार दिने भन्दैन होइन र ?
यो संविधानै त्रुटिपूर्ण छ नि त !

यो त तपाईंहरूको कुरा भयो …
अनि जनताले संविधान जलाएको छैन त ? त्रुटिपूर्ण भएर जलाएको हो नि ! संविधान जनताको लागि हो, जनता संविधानको लागि होइन ।

यो निर्णय गठबन्धनबाटै गराउने ल्याकत राख्नुहुन्छ, तर त्यहाँ किन पहल नगर्नुभएको ?
यो यूनिभर्सल कुरा हो । कुनै पनि व्यक्तिलाई राष्ट्रियताविहीन बनाउन पाइँदैन । यसो गर्नु मानवताविरोधी अपराध हो भन्ने कुरा अन्तर्राष्ट्रिय कानूनमा लेखिएको छ नि त !

नागरिकता नभएकालाई मताधिकार दिँदा त्यसले अराजकता जन्माउँदैन ?
त्यस्तो लागे नागरिकता नभएकालाई नागरिकता दिनु अनि मतदाता नामावलीमा समावेश गर्नु नि त ! या त होइन भने विदेशी घोषणा गरेर देशनिकाला गरे भो ! नेपालमा जन्मिएका नेपाली नागरिकका सन्तानलाई नागरिकताविहीन बनाएर भोट हाल्न नदिने भए देशनिकाला गरिदिए भो ! देशनिकाला गरिदिने विदेशी हो भनेर !

तैपनि, विदेशी जो नेपालमा बसिरहेको छ उसले यो सुविधा प्रयोग गर्न सक्ने सम्भावना रहँदैन र ?
त्यो सम्भावना रहन्छ भनेर लाखौं लाख नेपाली नागरिकलाई नागरिकताविहीन बनाइदिने त ? नेपाली नागरिकलाई राष्ट्रियताविहीन बनाइदिने त ? विदेशीलाई यस्तो सुविधा प्रयोग गर्न दिनेलाई कारबाही गर्नुपर्छ । मैले स्वदेशी नेपाली नागरिकको सन्तानको कुरा गरिराखेको छु । मैले अमेरिकनको कुरा गर्‍या हैन, जर्मनको कुरा गर्‍याे हैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *