सात दिनपछि भेटिएका चन्द्रेको बयान- मार्छन् भन्ने डरले भागेँ

सुर्खेत । हुम्लाको सर्केगार्ड गाउँपालिका-१ का चन्द्रे कामी सम्पर्कविहीन भएको एक हप्तापछि सकुशल फेला परेका छन् । चन्द्रेले अन्तरजातीय विवाह गरेकी मुगुकी १७ वर्षीय मल्ल थरकी किशोरीकाे माइती पक्षले गत मंसिर २९ गते राति १२ बजेतिर किशाेरीलाई घरबाट लैजाने क्रममा बेपत्ता भएका चन्द्रे हालसम्म सम्पर्कविहीन थिए ।

चन्द्रेको परिवारले युवतीको माइती पक्षले उनलाई बेपत्ता पारेको आरोप लगाएका थिए । तर, चन्द्रे पुस ७ गते बुधबार बिहान हुम्लाकै खार्पुनाथ गाउँपलिका-५ मा पर्ने एक बजारमा भेटिएका हुन् ।

यो पनि
भेटिए ७ दिनदेखि सम्पर्कविहीन चन्द्रे कामी

हुम्ला प्रहरीका अनुसार मुगु र हुम्लाका विभिन्न प्रहरी चौकीबाट खटिएका करिब ४० जनाको प्रहरी टोलीले पुस ३ गते रातिदेखि उनको खोजी थालेको थियो । चार दिन लगातार खोज्दै जाँदा चन्द्रेलाई बुधबार बिहान खार्पुनाथ गाउँपालिका सुरक्षा बेसक्यम्पबाट खटिएको प्रहरी टोलीले खार्पुनाथको याङ्चु बजारमा हिँड्दै गरेको अवस्थामा फेला पारेको हो ।

चन्द्रको गाउँ सर्केगार्ड गाउँपालिका-१ बाट त्यहाँ पुग्न पैदल करिब दुई दिन लाग्छ । फेला पारेलगत्तै प्रहरीले यसअघि प्रहरी नियन्त्रणमा रहेका युवती र उनका बुबालाई जिल्ला प्रहरी कार्यलय हुम्लाको सदरमुकाम सिमकोट पुर्‍याएको छ । चन्द्रेलाई थप अनुसन्धानका लागि बुधबार दिउँसो जिल्ला प्रहरी कार्यलय हुम्लामा पुर्‍याइएको छ ।

यो पनि : अन्तरजातीय विवाह गरेका ‘चन्द्रे’ बेपत्ता भएको सात दिन बित्यो, खोज्न ४० प्रहरी परिचालन

चन्द्रेले प्रहरीलाई युवतीको माइती पक्षले कुटपिट पनि गरेको र रातभरि हिँडाएको बयान दिएका छन् । ‘घरभन्दा अलि पर पुर्‍याएपछि मलाई बाटोमै छाडेर गए, फेरि पनि आएर कुटपिट गर्छन् कि भन्ने लाग्यो अनि मार्छन् भन्ने डरले भागेँ’ चन्द्रेको बयान उद्धृत गर्दै हुम्ला प्रहरी स्रोतले मकालुखबरलाई बतायो ।

यो पनि
अन्तरजातीय विवाह गरेका चन्द्रे सम्पर्कविहीन

त्यसपछि बालविवाह गरेको भनी किशाेरीको माइतीपक्षले मुद्दा हाल्न सक्ने कुरा सुनेपछि घरतिर नआई गाउँ नजिकैको जंगलतिर गएको उनले बयान दिएका छन् । तीन दिनसम्म भोकै जंगलमै बसेको र चार पाँच दिनपछि मात्रै स्याउ खान पाएको उनले बताएको प्रहरीले जनाएको छ ।

यस्तो थियो घटना
सर्केगाड-१ को जैर गाउँका १८ वर्षीय चन्द्रे कामी र मुगुको सोरु गाउँपालिका-४ को लिप्रुगाउँकी १७ वर्षीय मल्ल थरकी किशोरीसँग गत मंसिर ५ गते भागेर विवाह गरेका थिए । चन्द्रेका दाइ (नाता पर्ने) तुलसिंह सुनारका अनुसार दुई/तीन वर्षदेखि माया-प्रेममा बाँधिएका उनीहरू विवाहका लागि मंसिर ५ गते भागे । तर, घरपरिवारको डर/त्रासले उनीहरू दुई हप्ता घरमा समेत गएनन् ।

मंसिर ५ गते भागेका चन्द्रे र ती किशाेरी मंसिर २६ गतेसम्म गाउँकै आफन्तको घरमा लुकेर बसे । त्यसपछि सुन्तलीले माइती घरमा फोन गरेर म राजी-खुसी भएरै चन्द्रेसँग भागेको हो भनेर खबर गरिन् । माइती पक्षले राम्रै कुरा गरेपछि उनीहरू मंसिर २६ गते घर गए ।

चन्द्रेले किशाेरीलाई भगाएर आफ्नो घरमा ल्याएको मंसिर २९ गते तीन दिन पुगेको थियो । आफ्नो छोरीले सानो जातको केटासँग विवाह गरेको भन्दै सोही राति चन्द्रे र ती किशाेरी सुतेको घरको कोठामै पुगेर युवती पक्षका १५-२० जनाको समूहले चन्द्रे र किशाेरी दुवै जनालाई लगेका थिए । उनीहरूले चन्द्रेलाई पनि कुटपिट गरेको उनको परिवार र गाउँलेको दाबी छ ।

यो पनि
छोरो सम्पर्कविहीन भएदेखि आमाले खाएकी छैनन् खाना

गाउँलेहरूका अनुसार चन्द्रेको हातलाई पिठ्यूँमा बाँधेर लगेको र उनीहरूले चन्द्रेको गाउँका सबै घर र चन्द्रेको घरका अरु परिवार सुतेको कोठामा पनि बाहिरबाट ढोका लगाइदिएका थिए । त्यसपछि वडाअध्यक्ष गोकुल बुढाले प्रहरीलाई खबर गरेपछि दुई जिल्लाका ४० जना प्रहरीको ६/७ वटा समूह बनाएर ४ दिनदेखि खोजीकार्य जारी राखेको थियो । यसै क्रममा उनी बुधबार बिहान सकुशल भेटिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *