फलो अप

अन्तरजातीय विवाह गरेका चन्द्रे ५ दिनदेखि सम्पर्कविहीन, आमाले खाएकी छैनन् खाना

सुर्खेत । गत मंसिर २९ गते बुधबार । चन्द्रे कामीको परिवारको लागि अशुभ दिन । गत मंसिर ५ गते हुम्लाको सर्केगार्ड गाउँपालिका-१ का १८ वर्षीय चन्द्रे कामीले छिमेकी जिल्ला मुगुको सोरू गाउँपालिका-४ की १७ वर्षीय मल्ल थरकी किशाेरीलाई भगाए । चन्द्रेले उनलाई भगाएर आफ्नो घरमा ल्याएको बुधबार पाँच दिन पुगेको थियो ।

त्यस दिन चन्द्रेको घर परिवारमा खुसी त पलाएको थियो नै । साँझको खाना खाइसकेपछि परिवारहरूमा खुसी साट्दै घरायसी कामकाजका बारेमा सरसल्लाह गरे । रात छिप्पिएसँगै परिवारका सदस्यहरू आ-आफ्नो कोठामा सुत्न निस्किए । रातीको करिब १२ बजेपछि एक्कासि किशाेरीको माइती पक्षबाट आएको १५-२० जनाको समूहले चन्द्रे र किशाेरीलाई उठाए । चन्द्रेको हातलाई पिठ्युँमा बाँधेर घरबाट लगे ।

चन्द्रेका दाइ नाता पर्ने आफन्त तथा दलित अगुवा तुलसिंह सुनारले रातीको समयमा सबै गाउँले निन्द्रामा भएको बेला लगेको बताए । सुनारले भने, ‘गाउँका केही घरहरूमा सुन्तली पक्षको मान्छेहरूले सुतेको कोठाको बाहिरबाट ढोका समेत लगाएका रहेछन्, चन्द्रेको घरमा पुगेपछि त्यस घरका अरू परिवार सुतेको कोठाको बाहिरबाट ढोका लगाए चन्द्रे र सुन्तलीलाई लगेछन् ।’

उनले अगाडि भने, ‘चन्द्रे कराएको सुनेपछि घरपरिवार उठे, गाउँलेहरू उठे । तर, बाहिरबाट ढोका लगाएकोले कसैले समयमै खोल्न सकेनन् । पछि बन्चरो, बाउसो (कोदाली)ले ढोका फोडेर बाहिर निस्किएका थियौँ । उनीहरूले चन्द्रेलाई र सुन्तलीलाई लगेर घर भन्दा माथिको खेतमा पुगिसकेका रहेछन् ।’

सुनारले घरको झ्याल, ढोका फोडेर बाहिर आउँदा पनि माथि खेतबाट ढुङ्गा, मुडा हानेर कसैलाई पनि बाहिर निस्किन नदिएको र गाउँले घरभित्रै थुनिएपछि उनीहरू भागेको बताए । त्यसपछि गाउँले केही पनि गर्न सकेनन् । वडा अध्यक्षलाई खबर गरेपछि वडा अध्यक्ष गोकुल बुढाले प्रहरीलाई जानकारी दिए । उक्त रातीबाट चन्द्रेकी आमा सुकिल्ली लुहार बेहोस अवस्थामा छन् ।

तुलसिंह सुनारले चन्द्रेकी आमाले बुधबार रातीबाटै बेहोस अवस्थामा रहेकोले खान पनि नखाएको बताए । आफू पनि चन्द्रेको घरमा बारम्बार जाने, सम्झाउने गर्दा पनि चन्द्रेको खबरले परिवार मात्रै नभई सर्केगार्ड गाउँपालिका–१ जैरको नात्ता गाउँ नै मलिन बनाइरहेको उनले सुनाए ।

अन्तरजातीय विवाह गरेकै कारण किशाेरीका आफन्तले त्यस राति नात्ता गाउँलेलाई घरमा थुनेर चन्द्रेलाई लगेका हुन् । आज पाँच दिन बितिसक्दा पनि चन्द्रेको अवस्था अज्ञात नै रहेको प्रहरीले जनाएको छ । चन्द्रेका घर परिवारले आफ्नो छोरोलाई सुन्तलीको माइत पक्षले बेपत्ता पारेको आरोप लगाएका छन् भने उनको तत्काल खोजी गर्न विभिन्न विद्यार्थीले संगठन, दलित सम्बन्धी संघसंस्थाले सरकार समक्ष माग गरेका छन् ।

मंसिर ५ मै भगाएका थिए
सुनारका अनुसार करिब तीन वर्षदेखि माया प्रेममा बाँधिएका उनीहरू विवाह गर्नको लागि भनेर गत मंसिर ५ गते भागेका रहेछन् । परिवारको डर/त्रासले मंसिर ५ गते भागेका चन्द्रे र किशाेरी करिब आँधा महिना घरमा समेत आएनन् । चन्द्रेको घरबाट किशाेरीको घर पुग्न चार घण्टा पैदल यात्रा गर्नुपर्ने हुन्छ । मंसिर ५ गते भागेका चन्द्रे र किशाेरी मंसिर २३ गते सम्म गाउँकै आफन्तको घरमा लुकेर बसे ।

त्यसपछि किशाेरीले माइती घरमा फोन गरेर म राजी खुसी सँग चन्द्रेसँग भागेको हो भनेर माइती पक्षसँग खबर गर्दा राम्रै कुरा गरेपछि आफूहरूले मंसिर २४ गते मात्रै घरमा आएको सुनारले मकालुखबरलाई जानकारी दिए । गत मंसिर २९ गते बुधबार राति घटना घटेको हो ।

सुन्तलीकाे बाबुछाेरी प्रहरी नियन्त्रणमा
घटनाको अनुसन्धानका लागि आइतबार जिल्ला प्रहरी कार्यालय मुगुले किशाेरी र उनका बुवालाई नियन्त्रणमा लिएको छ । बेपत्ता चन्द्रको हुम्ला प्रहरी र मुगु प्रहरीले खोजी कार्य जारी राखेको छ ।

घटना झन् रहस्यमय बन्दै गएको हुम्लाका डिएसपी हेरम्भ शर्माले बताए । ‘बेपत्ता युवा अझै भेटिएका छैनन् । घटना झन् झन् रहस्यमय बन्दै गएको छ । प्रहरीले बेपत्ता युवाको खोजी कार्य गरिरहेको छ,’ उनले भने, ‘प्रहरीले किशाेरी र बुवालाई नियन्त्रणमा लिएर पनि अनुसन्धान सुरु गरिसकेको छ ।’

चन्द्रलाई कुटपिट गर्ने माइती पक्षका करिब १५-२० जना युवाहरू भने फरार रहेको डिएसपी शर्माले जानकारी दिए । शर्मा नेतृत्वको टोली बेपत्ता चन्द्रको खोजीका लागि शनिबार सर्केगार्ड घटनास्थलमा पुगेको हो । शुक्रबार जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जना, तुम्च, गल्फागाड, श्रीनर, कवाडी प्रहरी चौकीबाट प्रहरी परिचालन गरिसकेको छ ।

हाल सम्म चन्द्रेको गाउँ भन्दा ४ सय मिटर टाढा टिसर्ट मात्रै भेटिएको जनाएको छ । तर, युवाको अत्तोपत्तो छैन ।

याे पनि : अन्तरजातीय विवाह गरेका चन्द्रे कामी तीन दिनदेखि सम्पर्कविहीन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *