अन्तरजातीय विवाह गरेका चन्द्रे कामी तीन दिनदेखि सम्पर्कविहीन

सुर्खेत । हुम्लाको सर्केगार्ड गाउँपालिका वडा नम्बर १ जैरको नात्ता गाउँकाका चन्द्रे कामी तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । १८ वर्षीय चन्द्रेले अन्तरजातीय विवाह गरेको र त्यसपछि केटी पक्षले अपहरण गरी उनलाई बेपत्ता बनाएको चन्द्रेको परिवारले आरोप लगाएको छ ।

चन्द्रेले एक महिनाअघि छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिका–१ लिप्रु गाउँकी १७  वर्षीय मल्ल थरकी किशाेरीसँग प्रेम विवाह गरेका थिए । किशाेरीसँग तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका चन्द्रेले करिब एक महिना अघि सुन्तलीलाई भगाएर मुगुबाट ल्याएपछि परम्पराअनुसार विवाह गरेर बुहारी भित्र्याएको तर त्यसको एक महिनामै छोरा सम्पर्कविहीन भएकाले त्रास बढेको परिवारले जनाएको छ ।

सर्केगार्ड गाउँपालिका–१ का वडाध्यक्ष गोकुल बुढाले मंसिर २९ गते बुधबार राति करिब १२ बजेतिर किशाेरीका माइती पक्षका मान्छे आएर राती नै दुई जनालाई जबरजस्ती लगेको बताए । ‘किशाेरीको गाउँबाट आएका १५/२० जनाले गाउँले सुतेको मौका छोपी चन्द्रे र किशाेरी रहेको कोठा बाहिरबाट चुकुल लगाएर चन्द्रेको घरमा पसेका र उनीहरूलाई लिएर गएका हुन् चन्द्रेको अहिलेसम्म अत्तोपत्तो छैन ।’

उनीहरूले चन्द्रेको हात पिठ्युमा बाँधेर नाङ्गै बनाएर कुट्दै लगेको खबर आफूले पाएको तर रातीको समय भएकाले कसैले रोक्न नसकेको उनले मकालुखबरलाई फोनमा बताए । अध्यक्ष बुढाले यो खबर थाहा पाउनासाथ राती नै हुम्ला र मुगुको प्रहरीलाई खबर गरेको र पछि फेरि फलो अप गर्दा मुगु प्रहरीले माइतीले किशाेरीलाई मात्रै घरमा ल्याइएको तर, चन्द्रेलाई घरमै छोडेको दाबी गरेको जानकारी पाएकोले झनै त्रास बढेको बताए ।

‘केटी माइती घरमा पुगिसकेकी छन्, सँगै हात बाँधेर लिएको केटा कहाँ छ भन्ने विषयको सोधखोज प्रहरीले अहिलेसम्म गरेको छैन, उनीहरूले नै लगेको केटा सम्पर्कविहीन भएकाले त्रास बढेको छ’ उनले भने । त्यसअघि उनीहरू विवाह दर्ताका लागि वडा कार्यालयमा गए पनि उमेर नपुगेको भनेर फर्काइएको वडाध्यक्ष बुढाले बताए । चन्द्रे १८ र किशाेरी १७ वर्षका हुन् ।

तर माइती पक्षले त्यो दिन गएको समूहले चन्द्रेलाई कुनै अपहरण नगरेको बताएको छ । किशाेरीका आफन्त प्रकाश मल्लले त्यो दिन गएर आफ्नो चेलीलाई ल्याएर मात्रै आएको र चन्द्रेलाई घरमै छोडेको बताए । उनले भने ‘हामीले सुन्तलीलाई मात्रै ल्याएर आएका छौँ, कसैलाई अपहरण पनि गरेका छैनौँ बेपत्ता पनि पारेका छैनौँ ।’

जिल्ला प्रहरी कार्यालय हुम्लाले घटनाको जानकारी आउनासाथ खोजी कार्य जारी रहेको जनाएको छ । तीन दिनदेखि खोजी भइरहेको र नभेटिएपछि हुम्लाका डिएसपी हेरम्भ शर्माको नेतृत्वमा प्रहरी टोली शनिबार घटनास्थलतर्फ गएको जनाएको छ । यसअघि हुम्लाको तुम्च, गल्फागाड, श्रीनगर, कवाडी प्रहरी चौकीबाट प्रहरी परिचालन गरिए पनि उनी नभेटिएपछि डिएसपी शर्मा नेतृत्वको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *