अन्तरजातीय विवाह गरेका ‘चन्द्रे’ बेपत्ता भएको सात दिन बित्यो, खोज्न ४० प्रहरी परिचालन

सुर्खेत । हुम्लाको सर्केगार्ड गाउँपालिका-१ का चन्द्रे कामी सम्पर्कविहीन भएको एक हप्ता भएको छ । उनको खोजीमा ४० जना प्रहरी परिचालन गरिएको तर अझै भेट्न नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कथित माथिल्लो जातकी किशाेरीसँग भागेर विवाह गरेपछि चन्द्रेलाई किशाेरीका आफन्तले बेपत्ता पारेको उनको परिवारले आरोप लगाउँदै आएका छन् ।

प्रहरीले पुस ३ गतेदेखि चन्द्रको गाउँ सर्केगार्ड गाउँपालिका–१ जैर गाउँमै पुगेर खोजी कार्य जारी राखेको छ । तर, उनी अझै नभेटिएका प्रहरीले जनाएको छ । १८ वर्षीय चन्द्रे र मुगुको सोरु गाउँपालिका–४ को लिप्रु गाउँकी १७ वर्षीया किशाेरीले गत मंसिर ५ गते भागेर अन्तरजातीय विवाह गरेका थिए ।

आफ्नो छोरीले `तल्लो जातको´ केटासँग विवाह गरेको भन्दै गत मंसिर २९ गते राति घरमै सुतिरहेका चन्द्रे र किशाेरीलाई माइती पक्षका १५–२० जनाको समूहले निर्घात कुटपिट गरी घरबाट लगेको चन्द्रेको परिवारले जनाएको छ । तर माइती पक्षले भने चन्द्रेलाई नलगेको र घरमै छोडेको बताउँदै आएको छ ।

माइती पक्षले सुन्तलीलेलाई मुगु लगेका थिए । चन्द्रेलाई सम्पर्कविहीन बनाउने सबै व्यक्तिहरू फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता माधवप्रसाद श्रेष्ठकाअनुसार जिल्ला प्रहरी कार्यालय मुगु र हुम्लाबाट खटिएको करिब ४० जना प्रहरीको टोलीले विभिन्न गाउँ, जङ्गल, भीर, पाखामा खोजी कार्य जारी राखेको बताए ।

यो पनि : अन्तरजातीय विवाह गरेका चन्द्रे सम्पर्कविहीन

प्रवक्ता श्रेष्ठले भने‚ ‘पुस ३ गते साँझ घटनास्थलमा प्रहरी पुगेपछि खोज्न शुरु गरिएको छ । हालसम्म चन्द्रको टिसर्ट बाहेक अन्य कुनै पनि सामान फेला पर्न सकेको छैन, ४० जना प्रहरी टोली ५/६ वटा ग्रुपहरू बनाएर खोजी कार्य निरन्तर गरिराख्नुभएको छ ।’

किशाेरी र उनका बाबुलाई प्रहरीले आइतबार नै पक्राउ गरी हुम्ला पुर्‍याएर अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए । तर, अनुसन्धान प्रहरीहरू घटनास्थलमा भए पनि त्यहाँ फोन सम्पर्क हुन नसकेकाले नयाँ अपडेट भने नआएको उनले बताए । गाउँलेहरू सबै जना चन्द्रेकै खोजीमा हिँडेका छन् । चन्द्रेको कुनै अत्तोपत्तो नलागेपछि घटना झन् जटिल बन्दै गएको छ ।

सर्केगार्ड गाउँपालिका–१ का वडाध्यक्ष गोकुल बुढाले हालसम्म चन्द्रेको अवस्था अज्ञात नै रहेको बताए । अध्यक्ष बुढाले भने‚ ‘हुम्लाका तुम्च, गल्फागाड, श्रीनगर, कवाडी प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरे पनि चन्द्रेको अवस्था भने सार्वजनिक हुन सकेको छैन । खोजी कार्य पनि सुस्त रूपमा भइरहेको छ ।’

घटनाबारे कर्णालीका राजनीतिक दलहरू कसैले पनि बोलेका छैनन् । त्यस्तै कर्णाली सरकार पनि बेखबर जस्तै रहेको भन्दै आरोप लाग्न थालेको छ ।

चन्द्रेको अवस्था सार्वजनिक गर्न दबाब
चन्द्रेको अवस्था तत्काल सार्वजनिक गर्न जात व्यवस्था उन्मुलन मोर्चा नेपाल सुर्खेतले सरकारलाई दबाब दिएको छ । मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा दबाबमूलक र्‍याली प्रदर्शन अन्तरजातीय युवतीसँग विवाह गरेकै कारण बेपत्ता पारिएकाले सरकारले तत्काल चन्द्रेको अवस्था सार्वजनिक गर्नुपर्ने माग राखेको हो ।

थप : छोरो सम्पर्कविहीन भएदेखि आमाले खाएकी छैनन् खाना

उक्त दबाबमूलक कार्यक्रममा ‘हप्ता दिन दिनदेखि अज्ञात अवस्थामा रहेका चन्द्रे विकको अवस्था सार्वजनिक गर, चन्द्र कहाँ छन् ? तुरुन्तै थाहा चाहियो सरकार, खोजी कार्य किन ढिला ?, खोइ राज्य‚ हुम्लाको हिउँमा जम्यो, जात व्यवस्था मुर्दावाद, जात व्यवस्थाबाट पीडित सबैलाई न्याय दिलाउन सङ्घर्षमा जुटौँ, अन्तरजातीय विवाह गर्ने जोडीलाई संरक्षण गरौँ, ज्यानमारा जात व्यवस्था मुर्दावाद, यो राज्य चन्द्रे कामीको पनि हो कि होइन ?, अन्तरजातीय प्रेम विवाह गरेको चन्द्रेलाई बाँच्ने अधिकार छ कि छैन ?, उच्च जातीय अहंकारवाद मुर्दावाद’जस्ता नारा लगाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *