राजनीतिमा झापाको चर्चा, ओलीदेखि शर्मा र लिङ्देनसम्म

विराटनगर । नेपालको राष्ट्रिय राजनीतिमा फेरि झापा चर्चामा आएको छ । पछिल्लो राजनीति घटना क्रमलाई हेर्ने हो भने एमालेको अध्यक्षमा झापाकै केपी शर्मा ओलीले नेतृत्व गर्छन् । ओली नेकपा एमालेको दोस्रो पटक केन्द्रीय अध्यक्ष भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व पनि यो वर्षदेखि झापाले नै पाएको छ । राप्रपाको एकता महाधिवेशनबाट झापाका राजेन्द्र लिङ्देन नेतृत्वमा आएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा झापाकै विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको प्रदेश सभापतिमा पनि झापाकै उद्धव थापा चुनिएका छन् । कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौला पनि झापाकै हुन् ।
नवनिर्वाचित सभापति थापा राजनीतिमा झापाले एउटा इतिहास रचेको बताए । झापा पहिला देखिनै राजनीतिको उर्वर भूमि भएकोले अहिलेकै नेतृत्वबाट हौसिनु पर्ने अवस्था नभएको तर नेतृत्व भने झापाले पाएकोमा खुसी हुनु स्वाभाविक हुने थापा बताउँछन् ।

झापामा एकैसाथ एमालेको दोस्रो पटक अध्यक्षमा ओली, राप्रपाको केन्द्रीय अध्यक्षमा लिङ्देन, नेपाली कांग्रेसका महामन्त्रीमा शर्मा लगायत निर्वाचित भएर आएपछि अहिले राजनीतिमा झापा फेरि चर्चामा आएको हो । नेपाली कांग्रेसको प्रदेश १ को नेतृत्व पनि झापाले नै पाएको छ। यसरी हेर्दा अहिले झापा प्रदेश देखि केन्द्रसम्मको राजनीति उचाइ बोकेर बसेको छ ।

मेची क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा प्रजातान्त्रिक विचारधाराका विश्लेषक प्रा. चिन्तामणि दाहाल सबै दलको नेतृत्व झापाले पाउँदा एउटा चिनारी दिएको बताउँछन् । राजनीतिमा व्यक्तित्वको धनी र नेतृत्व दिने राजनीतिक चेतनाको स्तर रहेछ भनेर फुर्ती लगाउने गतिलो उदाहरण झापाले पाएको प्राध्यापक दाहालको विश्लेषण छ ।

एउटै जिल्लाले सबै दलको नेतृत्व पाउँदा राजनीतिक हिसाबले उनीहरूको पहुँच, विकास र उन्नतिको लागि उनीहरूको पहलबाट धेरै काम हुन सक्ने आशा झापालीले गर्न सक्ने दाहालको भनाइ छ । ‘नेतृत्व एकै ठाउँमा हुँदा सबै दलहरूको बिचमा द्धन्द सिर्जना गर्ने भन्दापनि वैचारिक रूपमा जनतामा जाने कुरा हुन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा एक अर्को नेताले आफ्नो क्षेत्र पकड्ने कुरा हुन्छ ।’

चुनावको बेलामा यस अघि पनि नेताहरूले उठ्दा आ-आफ्नो क्षेत्रमा नै उठ्ने गरेकोले त्यो पनि समस्या नहुने विश्लेषण विज्ञहरूको छ । वामपन्थी विचारधाराका विश्लेषक प्राध्यापक भानु भण्डारी एकै ठाउँमा शक्ति केन्द्रित हुँदा बलिया दलहरू कमजोर अवस्थामा पुग्नसक्ने टिप्पणी गर्छन् । तत्काल हेर्दा झापामा राजनीतिक चेतनाको दृष्टिले उच्च लागेपनि यसको असर दलहरुबीचको आन्तरिक किचलोलाई टेवा पुग्ने खालको हुने उनको बुझाई छ ।

भण्डारीकाअनुसार झापा वामपन्थी राजनीतिको केन्द्र हो, तर पार्टीको एकता भाँडिएकोले वामपन्थीको अवस्था कमजोर हुँदै जाने आँकलन गरिन्छ । ‘विश्वप्रकाश, कृष्ण सिटौला र राजेन्द्र लिङ्देन जस्ता नेताहरू झापाकै भएपनि राजनीतिक रूपमा गढ भनेको कम्युनिष्टको हो,’ उनले भने, ‘कम्युनिष्ट एक नहुँदा गढ धरमराउन थालेको छ ।’

जनमत कम्युनिष्टको ठुलो छ तर कम्युनिष्टहरु नै विभिन्न कारणले तितरबितर हुँदा फाइदा अर्कोले लिन सक्ने आँकलन उनको छ । ‘केन्द्रीय नेतृत्व झापाले पाएको अवस्थामा कांग्रेस र राप्रपाले कम्युनिष्टलाई जितेर जान सक्छन् भन्ने मलाई लाग्दैन,’ भानु भन्छन्, ‘कम्युनिष्टभित्र राजनीतिक नेतृत्वको भागबण्डा नमिल्दा निर्वाचनमा अर्को पार्टी आउन केन्द्रीय नेतृत्व हुँदा बल पुग्छ ।’

सबै दलको केन्द्रीय नेतृत्व एउटै जिल्लामा हुँदा आन्तरिक प्रतिस्पर्धा भने बलियो हुने आँकलन विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *