क्यान-खेलाडी विवाद : दुवै नझुकी सुखै छैन

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले चार खेलाडीलाई कारबाही गरेपछि अहिले नेपाली क्रिकेटबारेको बहस बढेको थियो । नेपाल क्रिकेट संघ क्यानले अनुशासन उल्लंघन गरेको भन्दै तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, खेलाडीहरू सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गर्‍यो ।

कप्तान मल्ल र उपकप्तान ऐरीलाई जिम्मेवारीबाट मुक्त तथा चारै जना खेलाडीलाई २०२२ को सुरुवाती ६ महिना ‘सेन्ट्रल’ कन्ट्रयाक्ट नदिने निर्णय क्यानले गरेको छ । त्यसयता नेपाली क्रिकेटको भविष्यलाई लिएर अनेक अड्कलबाजी र थप समस्या सतहमा देखिएका छन् ।

एकातिर नेपाली क्रिकेट फेरि अन्तरराष्ट्रिय निलम्बनमा पर्न सक्ने खतरा औँल्याउन थालिएको छ भने तत्कालै विभिन्न चुनौती देखिन थालिसकेका छन् । खेलाडीले चित्त नबुझाएको कुरा सञ्चारमाध्यममा राखेको भन्दै रिसले चुर भएका क्यानका पदाधिकारीले उनीहरूसँग बसेर यसबारेमा सहमति खोज्नभन्दा स्पष्टीकरण सोध्नतिर लागे । खेलाडीले पनि जवाफ दिने क्रममा आफूहरू क्यानभन्दा पनि बढी नै जान्नेसुन्ने भएको ढिपीमा लागे । दुवै पक्षले एकले अर्कोको अस्तित्व स्वीकार्न नचाहने चरित्रका कारण समस्या चर्किन पुगेको देखिन्छ ।

बन्द प्रशिक्षण प्रभावित
नेपाल क्रिकेट संघ क्यान र खेलाडीको यो शितयुद्धका कारण मंगलबारदेखि पोखरामा हुने तय गरिएको राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण प्रभावित बनेको छ । खेलाडी र क्यानबीचको विवादका कारण क्यानले तोकेको मितिमा बन्द प्रशिक्षण सुरु नहुने भएको हो । यू-१९ सँग अभ्यास खेल्न सिनियर खेलाडी नआएपछि क्याम्प सुरु गर्दा खेलाडी आउने नआउने टुङ्गो नहुँदा क्यानले बन्द प्रशिक्षण केही दिनपछि मात्र सुरु गर्ने योजना बनाएको हो । योबीचमा मुख्य प्रशिक्षक पुबुदु दाशानायके पनि नेपाल आउँदैछन् ।

ओमानमा हुने आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाली टिमले बन्द प्रशिक्षण सुरु गर्न लागेको थियो । तर‚ चार खेलाडीको कारबाहीका कारण नेपालको अभ्यास प्रभावित भएको छ ।

यू-१९ को अभ्यास अवरुद्ध
यू-१९ राष्ट्रिय टीमले सिनियर खेलाडीहरूसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेर यूएई जाने कार्यतालिका थियो । अहिलेको विवादले यो तयारीलाई प्रभावित गरेको छ । संघले खेलाडीलाई कारबाही गरेपछि करिब एक दर्जन खेलाडीले क्यानको त्यो निर्णयको खुलेरै विरोध गरे । उनीहरूले ‘मलाई पुग्यो’ भन्दै सामाजिक सञ्जालमा क्यानको निर्णयको तस्बिर राखेर विरोध गरे । यसो गर्नेमा करण केसी, बिनोद भण्डारी, अविनाश बोहोरा, रोहित पौडेल, कुशल भुर्तेललगायत खेलाडी छन्‚ जसले गत बिहीबार र शुक्रबार हुने तय भएको अभ्यास खेलको खेल तालिका नै प्रभावित भयो ।

बुधबार साँझ आएको क्यानको निर्णयसँगै बिहीबार कुनै पनि सिनियर खेलाडी कीर्तिपुर मैदानमा पुगेनन्‚ जसले गर्दा युवा खेलाडीले अवसर पाएनन् । शुक्रबार पनि यू-१९ खेलाडीले अभ्यासको अवसर पाएनन् ।

राष्ट्रिय टोलीका लागि योग्य भएका खेलाडी समेटेर यू-१९ टोलीसँग अभ्यास खेल खेल्ने कार्यतालिका रहे पनि बिहीबार साँझ नै खेल नहुने जानकारी गराइएको थियो । मैदान पुगेका केही खेलाडीलाई पनि कारबाहीमा परेका खेलाडीको दबाबका कारण नखेल्न भन्दै फर्काइएको थियो ।

राजनीतिको खुलेआम प्रवेश
नेपाल क्रिकेट संघ (क्यान)ले चार खेलाडीलाई कारबाही गरेको विषयमा चासो राख्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधान मन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए । त्यसलगत्तै प्रधान मन्त्री देउवाले क्यान अध्यक्ष चन्दलाई फोन गरेर जानकारी लिँदै समस्या समाधान गर्न आग्रह गरे । उसो त नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष र पदाधिकारी राजनीतिक रुपमा कतै न कतै जोडिएकै छन् । तर‚ यसपटक माओवादी केन्द्रले खुलेआम यसबारे ध्यानकर्षण भएको जनाएको छ ।

बैतडीका कांग्रेसका सभापतिसमेत रहेका क्यान अध्यक्ष चन्दले शनिबार बिहान प्रधानमन्त्रीलाई भेटेर नै वर्तमान क्रिकेटको गतिविधिबारे जानकारी गराएका छन् ।

दुवै पक्ष आ-आफ्नो अडानमा
टी-ट्वेन्टी विश्वकप पुग्ने अन्तिम खुड्किलोका रुपमा रहेको ग्लोबल छनोट ओमानमा सुरु हुन दुई महिनाभन्दा कम समय बाँकी छ । प्रतिस्पर्धी १६ टोलीमध्ये प्रायः सबै यही छनोटको तयारीमा व्यस्त छन् । कतिपय देशले तयारीकै लागि द्वीपक्षीय शृंखला खेलिरहेका छन् । नेपाली क्रिकेट भने ठीक विपरीत विवादको भूमरीमा फसेको छ ।

चार खेलाडीलाई कारबाही गर्ने निर्णयपछि खेलाडी र क्यान एक अर्कालाई झुकाउन प्रयासरत छन् । दुवै पक्ष आ-आफ्नो निर्णयमा अडीग छन् । विवाद समाधानमा भन्दा पनि एकअर्कालाई आरोप-प्रत्यारोप गर्नमा दुवै पक्ष तल्लीन देखिन्छन् । मुख्य रुपमा खेलाडीमाथि गरिएको कारबाहीको कुरा सामाजिक सञ्जालमा पनि दुई खेमा देखिन्छ ।

के फेरि प्रतिबन्ध लाग्न सक्छ ?
आईसीसीले आधिकारिक रुपमा अहिले नेपाली क्रिकेटमा भइरहेको गतिविधिबारे केही बोलेको छैन । तर‚ नेपाल क्रिकेट संघ क्यानले भने खेलाडीलाई स्पष्टीकरणदेखि कारबाहीसम्मको सम्पूर्ण जानकारी आईसीसीलाई गराएको छ । त्यसैले क्यान अहिले राजनीतिक दल तथा सरकारले दबाब दिँदैमा पछि हट्ने मनस्थितिमा नभएको क्यान निकट स्रोतहरू बताउँछन् ।

क्यानका अध्यक्ष चन्दले प्रधान मन्त्रीलाई भेटेरै सरकार या राजनीतिक दलले विवादमा हात हाल्न खोजे नेपाली क्रिकेट आईसीसीबाट निलम्बनमात्र होइन‚ बर्खास्त नै हुनसक्ने खतरा औँल्याएर फर्किएका छन् । त्यसो त‚ अब फेरि पनि कुनै कारणले निलम्बनको खतरा रहेमा नेपाली क्रिकेटको यात्रा रोकिनेछ । पटक-पटक एउटै गल्ती गर्दा अब पूर्ण रुपमा प्रतिबन्धमा जान सक्छ । त्यो भनेको खेलाडीले समेत खेल्न नपाउनेगरी प्रतिबन्धित हुन सक्नेसम्मको अवस्था हो । त्यसैले यो विवादमा बाहिरी पक्ष हावी हुनुभन्दा क्यान र खेलाडीले नै एक अर्काको अस्तित्व स्वीकार गर्नु जायज हुन्छ ।

तर‚ यहाँ खेलाडी र क्यान दुवै पक्ष एक अर्काको अस्तित्व नै नस्वीकार्ने मनस्थितिमा पुगेको अवस्था देखिन्छ । खेलाडीले स्पष्टीकरणमा सामान्य जवाफ दिएको भए र क्यानले सामान्य चेतावनी दिएर अघि बढेको भए समस्या समाधान भइसक्थ्यो । तर‚ यहाँ दुवै पक्षलाई आफूबिना नेपाली क्रिकेट नै नचल्ने ठूलो भ्रम रहेको र एकले अर्कोको अस्तित्व नस्वीकार्ने प्रवृत्तिकै कारण समस्या समाधानतर्फ उन्मुख हुन नसकेको ठानिएको छ । तर‚ खेलाडी र क्यान दुवै एक स्टेप झुकेर सहमतिमा पुग्नुको विकल्प छैन । क्यान र खेलाडीबीच अहिले विवादको आगोमा घ्यू हाल्ने होइन‚ आगो निभाउने व्यक्तिको खाँचो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *