बाइकको पछाडि बस्नेले पनि ‘हेल्मेट’ लगाउनुपर्ने संघीय कानुन बन्दै

थप ३२ लाख नयाँ हेल्मेट किन्न बाइक र स्कुटरधनीले १४ अर्ब ४० करोड रुपैयाँ खर्चिनु पर्ने

काठमाडौँ । सरकारले दुईपाङ्ग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले पनि ‘हेल्मेट’ (सुरक्षा टोप) लगाउनु पर्ने व्यवस्था संघीय कानुनमै समावेश गरेर कार्यान्वयनमा ल्याउन लागेको छ ।

संघीय ऐन निर्माणका लागि तयार पारिएकाे ‘सवारी तथा यातायात व्यवस्था ऐन २०७७’ को मस्यौदामा यस्तो व्यवस्था गरिएकाे यातायात ब्यवस्था विभागले जनाएको छ । ऐनको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले तयार गरी कानुन मन्त्रालयमा पठाएको हो । नयाँ संविधानअनुसार बन्न लागेकाे संघीय कानुनकाे उक्त मस्याैदाले कानुनी रूप लिएपछि मोटरसाइकल र स्कुटरको पछाडि बसेर यात्रा गर्नेले पनि अनिवार्य रुपमा हेल्मेट लगाउनु पर्ने नियम अनिवार्य लागू गरिने विभागले जनाएको छ ।

तर, यो पहिलो पटक गर्न लागेको व्यवस्था भने होइन । यातायात व्यवस्था ऐन, २०४९ मा पनि याे व्यवस्था गरिएकाे थियाे । तर, कार्यान्वयनमा अनिवार्य गरिएको थिएन ।

सरकारले पुरानाे कानुन प्रतिस्थापन गर्ने गरी नयाँ कानुन बनाइने र यो कानुनलाई अब संघीय कानुनका रुपमासमेत राखेर अनिवार्य कार्यान्वयनमा ल्याउन खाेजेकाे भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सहसचिव तुलसी गाैतमले बताए ।

राजाको प्रत्यक्ष शासनकालमा यस्तो व्यवस्था केही समय लागू गरिएपनि पछि अनिवार्य गरिएको थिएन । त्यसबेलाका स्वास्थ्य मन्त्री डा. उपेन्द्र देवकोटाले उपचारका क्रममा दुई पाङ्ग्रे सवारी साधन दुर्घटना हुँदा पछाडि हेल्मेट नलगाई यात्रा गर्नेहरुको धेरैजसो ‘हेड इन्जुरी’ र ‘स्पट डेथ’ समेत भएको पाएपछि त्यसलाई रोक्न यस्तो व्यवस्था लागू गर्ने पहलकदमी लिएका थिए ।

२०६५ सालमा ट्राफिक प्रहरीले याे व्यवस्था केही समय कार्यान्वयनमा ल्याउने प्रयास गरेपनि  तर, मोटर साइकल तथा स्कुटरमा दुईवटा हेल्मेट लिएर हिँड्नुपर्ने झण्झट र आपराधिक क्रियाकलापमा संलग्नहरुलाई ज्यादा सहज हुने देखिएपछि उपभोक्ता र नियामक(सरकार) दुबै पक्षबाट यो कानुनी व्यवस्था कार्यान्वयनमा ल्याउने उत्साह देखिएन । र, कार्यान्वयन हुनै सकेन ।

‘सुरक्षाको दृष्टिकोणले यो व्यवस्था कार्यान्वयन गर्नु असाध्यै आवश्यक छ,’ यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे भन्छन्, ‘यसले दुई पाङ्ग्रे सवारीको पछाडि बस्नेको जीवन सुरक्षित गर्छ ।’

१४ अर्ब ४० करोडका थप ३२ लाख हेल्मेट चाहिने
आर्थिक सर्वेक्षण २०७७/७८ लाई आधार मान्ने हो भने नेपालमा दर्ता भएको दुई पाङ्ग्रे सवारी साधनको संख्या ३१ लाख ६२ हजार छ । यस आधारमा हाल दुई पाङ्ग्रे करिब ३२ लाख पुगेको अनुमान गर्न सकिन्छ ।

दुई पाङ्ग्रे सवारीको पछाडि बसेर यात्रा गर्नेले पनि हेल्मेट लगाउनु पर्ने कानुन लागु भए थप ३२ लाख हेल्मेट आवश्यक हुने देखिन्छ । हेल्मेट व्यवसायीका अनुसार हाल बजारमा १ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म पर्ने हेल्मेट उपलब्ध छन् । तर, ज्यादा बिक्री हुने हेल्मेटमा ३ हजारदेखि ६ हजार रुपैयाँसम्मका छन् । औषतमा एउटा हेल्मेटको ४ हजार ५ सय रुपैयाँ मान्ने हो भने पनि ३२ लाख नयाँ हेल्मेट किन्न १४ अर्ब ४० करोड रुपैयाँ खर्चिनु पर्ने देखिन्छ ।

सुरक्षाको सवाल कि व्यापारिक स्वार्थ र कमिशनकाे खेल ?
सरकारले यस्तो व्यवस्था ल्याउन लागेपछि व्यापारिक स्वार्थ अनुकुलको व्यवस्था गर्न लागेको भन्दै कतिपय पक्षले आलोचना समेत गरिरहेका छन् । तर, आम नागरिक वा यात्रुलाई सुरक्षित बनाउने नीति ल्याउँदा त्यसलाई कमिशन वा व्यापारिक स्वार्थको खेल भएको आरोप लगाउनु गल्ती हुने महानिर्देशक घिमिरे बताउँछन् ।

‘आम नागरिकको जीवनको सुरक्षासँग गाँसिएको यस्तो राम्रो  विषयलाई कमिशन वा व्यापारिक स्वार्थसँग जोडेर गलत प्रचार गर्नु हुँदैन,’ उनले भने, ‘विभागमा उक्त संघीय कानुनको ड्राफ्ट आउँदा हामीले यो विषय राख्न सकेनौँ । किनभने महानिर्देशकले व्यापारीबाट कमिशन लिन यस्तो व्यवस्था ल्यायो भनेर आलोचना हुनसक्थ्यो । पछि मन्त्रालयले नै उक्त संघीय ऐनकाे मस्याैदामा नै यस्तो व्यवस्था समावेश गरेकाे रहेछ । यो स्वागतयोग्य विषय हो ।’

उक्त ऐनमा सरकारले चारपाङ्ग्रे सवारी साधानको चालक र अघिल्ला सिटमा बस्ने यात्रुले समेत सिटबेल्ट बाँध्नु पर्ने, यात्रुवाहक सवारी साधानमा अपारदर्शी सिसा प्रयोग गर्न नपाइने जस्ता पुराना व्यवस्था समेत समावेश गर्न खाेजिएका छन् ।

(यसअघिको शिर्षकले यसअघि यससम्बन्धि कानुन नै थिएन कि भन्ने अर्थ पनि दिने भएकाले परिमार्जन गरेका छाैँ । सम्पादक)

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *