के हो क्रिकेट खेलाडी र क्यानको विवाद ?

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय टीमका केही खेलाडीबीचको विवादको श्रृंखला अन्ततः खेलाडीलाई कारबाही गर्ने स्थितिसम्म आइपुगेको छ । ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउँदै सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी दिइएको छ भने २०२२ को सुरुवाती ६ महिनासम्म चार खेलाडीलाई ‘सेन्ट्रल कन्ट्रयाक’ नगर्ने क्यानले जनाएको छ ।

क्यान र खेलाडीबीचको यो विवाद भने २०२१ को सेन्ट्रल कन्ट्र्याकलाई नै लिएर भएको थियो । क्यानले खेलाडीलाई ए, बी र सी क्याटेगोरीमा वर्गीकरण गर्दै सोहीअनुसार तलब भत्ता प्रदान गर्दै आएको छ ।

तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीले क्यानले ग्रेड सार्वजनिक गर्नुअगावै सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै विरोध जनाएपछि क्यानले स्पष्टीकरण सोधेको थियो ।

पहिलो स्पष्टीकरणमा खेलाडीले उल्टो क्यानसँग विभिन्न प्रश्नसहित जवाफ माग गरेपछि क्यान थप आक्रोशित बनेको थियो । लगत्तै खेलाडीलाई दोस्रो पटक स्पष्टीकरण सोधेको थियो ।

क्यानले विवाद उत्पन्न भएपछि कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल संयोजक रहेको छानबिन समिति गठन गरेको थियो । सोही समितिको प्रतिवेदनका आधारमा कारबाही गर्ने निर्णयमा क्यान पुगेको हो ।

यो पनि
ज्ञानेन्द्र र दिपेन्द्रसहित क्रिकेटका चार खेलाडीलाई कारबाही, सन्दीप नयाँ कप्तान

ज्ञानेन्द्र, सोमपाल, दीपेन्द्र र कमलले कार्तिक अन्तिम साता दिएको अन्तरर्वार्तामा ग्रेडमा मनोमानी भएको धारणा राखेका थिए । सोमपालले आफू बीमा हुनु अन्यायपूर्ण रहेको बताएका थिए । सीमा परेका कमल पनि सन्तुष्ट थिएनन् ।

त्योभन्दा बढी उनी अन्य खेलाडीको ग्रेडबारे असन्तुष्ट थिए । ज्ञानेन्द्र र दीपेन्द्र भने ग्रेड ‘ए’मा नै थिए । उनीहरूले ग्रेडमा केन्द्रित रहेर खेलाडीले आलोचना गरेका थिए । क्यानले आफ्नो विरोध गरेको भन्दै चार खेलाडीसँग कात्तिक २५ पहिलो स्ष्टीकरण सोधेको थियो । खेलाडीले ३० कात्तिकमा क्यानलाई जवाफ दिएका थिए ।

यद्यपि ज्ञानेन्द्रसहित १९ खेलाडीले हस्ताक्षर गर्दै मंसिर ५ मा ११ बुँदे मागसहित सात दिनको समय दिँदै क्यानसँगै नै वर्गीकरणबारे जवाफ मागेका थिए ।

त्यसपछि विवाद झन् बढ्दै गएको थियो । क्यानले मंसिर ८ मा तीन दिनको समय दिँदै दोस्रो पटक स्पष्टीकरण सोधेको थियो । त्यसमा पनि क्यानले चित्तबुझ्दो जवाफ नपाएको भन्दै अन्ततः खेलाडीलाई कारबाही गरेको हो । यसबारे खेलाडीको कुनै प्रतिक्रिया आइसकेको भने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *