युएन मिसनमा जाँदै नेपाली सेनाकी प्रथम महिला बख्तरबन्द चालक (भिडि‌ओ)

काठमाडौँ । विसं. २०६२ पुष १० गते नेपाली सेनामा प्रवेश गरी हाल सैनिक सवारी चालकको रुपमा कार्यरत प्यूठ असीम बानियाँ प्रथम महिला सैनिक बख्तरबन्द सवारी (एपीसी) चालक हुन् ।

युनिटमा विभिन्न ड्राइभिङसम्बन्धी तालिमहरू लिइरहने हुँदा आफ्नो योग्यता पुगेकाले हेभी ड्राइभिङ गर्ने अवसर आफूले पाएको र हेभी ड्राइभिङ पनि सफलतापूर्वक सम्पन्न गरेको भन्दै खुसी देखिन्छिन् असीम ।

सैनिक जीवनको दौरानमा प्राप्त भएको अवसरलाई सदुपयोग गरी एकपछि अर्को खुट्किला पार गर्दै उनी एपीसी चालक बन्न सफल भएकी हुन् ।

‘मेरो युनिटमा एपीसी तालिमको कोटा आएको रहेछ । युनिटका सहकर्मी मित्रहरूले पनि धेरै हौसला र प्रेरणा दिनुभयो‚’ उनले भनिन्‚ ‘त्यसपछि यो अवसरलाई सदुपयोग गर्नुपर्छ भन्ने मलाई फील भयो र मैले यसलाई सफलतापूर्वक सम्पन्न पनि गरेँ ।’

अहिले असीम संयुक्त राष्ट्र संघको आह्वानमा शान्ती स्थापनार्थ मिनुस्का मिसनमा पहिलो महिला एपीसी चालकको रुपमा समेत छनोट भएकी छन् ।

‘द्वन्द्वग्रस्त क्षेत्रमा शान्ती स्थापना कार्यका लागि नेपाली सेनाको पहिलो महिला चालकको रुपमा खटिन पाउँदा यसलाई मैले अवसर र चुनौतीको रुपमा पनि हेरेको छु‚’ उनले भनिन्‚ ‘जुन विश्वास गरेर नेपाली सेनाले मलाई दिएको जिम्मेवारी छ‚ यसलाई मैले स्वदेशमा मात्र नभई विदेशमा पनि सही ढङ्गले निर्वाह गर्नेछु ।’

दृढ लक्ष्य‚ कडा परिश्रम र लगनका साथै सहकर्मी तथा अग्रज शिक्षक एवं अभिभावकको सहयोगबाट यो सफलता प्राप्त भएको बताउने उनी अन्य महिला सहकर्मीका लागि समेत प्रेरणाको स्रोत बनेकी छन् । उनको सफलतालाई हेर्दा अवसर पाएको खण्डमा महिलाले पनि पुरुष सरह कार्य गर्न सक्दछ भन्ने मान्यतालाई व्यवहारिक रुपमा प्रष्ट पारेको छ ।

‘अन्य महिला सहकर्मीहरूलाई पनि म गर्छु‚ म सक्छु भन्ने अठोटका साथ अगाडि बढेमा विभिन्न क्षेत्रहरूमा हामी अगाडि बढ्न सक्छौँ र एक दिन अवश्य पनि सफल भइन्छ भन्ने हौसला तथा प्रेरणा प्रदान गर्न चाहान्छु ।’

यसरी प्यूठ असीम बानियाँ सकल महिला सैनिकका लागि सफलताको उदाहरण बनेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =