पुबुदुको पुनरागमन : दाबेदार छवि फर्काउने चुनौती 

काठमाडौँ । एक समय थियो कप्तान पारस खड्का र पुबुदु दासानायके नेपाली क्रिकेटका पर्याय जस्तै थिए । अर्थात् नेपाली क्रिकेटको सफलता वा असफलतामा यी दुई नाम जोडिन्थे जोडिन्थे । उनीहरू राष्ट्रिय टिमका क्रमश: कप्तान र कोच थिए । सन् २०११ देखि २०१५ सम्ममा नेपालले एसोसिएट देशका रूपमा ठूलो सफलता हात पारेको थियो ।

डिभिजनस्तरमा लगातार सफलताका सिँढी उक्लँदै थियो भने टी-ट्वेन्टी विश्वकपसम्म आफूलाई पुर्‍याएको थियो । तर सफलतासँगै नेपाली क्रिकेटमा अर्को एउटा पाटो पनि बिस्तारै उदय भयो । खेलाडीभित्रै गुटबन्दीका प्रयास भए । खेलाडीले मैदानबाहिर पनि आफूलाई उपस्थित गराए ।

यसैका कारण अहिले पनि मैदान भित्र र बाहिरको त्यही गुटबन्दी बेलाबखत प्रकट हुने गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमले करिब चार महिनापछि नयाँ प्रशिक्षकका रूपमा पुराना अनुहार पुबुदुलाई  मुख्य प्रशिक्षकको रूपमा पाएको छ ।

क्यानले दुई महिना लगाएर ६० जना आवेदकबाट पुबुदुलाई आगामी एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षक छान्ने निर्णय गरेको छ । क्यानले उनलाई सबै सेवा सुविधासहित मासिक करिब १२ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको अनुमान गरिएको छ । यो रकम कुनै पनि प्रशिक्षकका लागि अहिलेसम्म गरिएको सर्वाधिक रकम हो । तर क्यानले पारिश्रमिकबारे आधिकारिक रूपमा केही बताएको छैन ।

पुरानो कार्यकालको सफलता दोहोर्‍याउने चुनौती

पुवुदु पहिलो कार्यकाल सम्हाल्न आउँदै गर्दा नेपाल एउटा राम्रो बेसमा थियो । जतिबेला पुबुदुले नेपाली क्रिकेट सम्हाले त्यसपछि नेपाली क्रिकेटमा उत्साहका साथ सफलताको भोक थियो । जसलाई पुबुदुले मार्गदर्शन गरे  । सन् २०११ देखि २०१५ सम्म नेपाली क्रिकेटले डिभिजन चारदेखि एकसम्मको यात्रा तय गर्न सफल भयो ।

नेपाली टिम एक सफल टिम र पुबुदु एक सफल प्रशिक्षकका रूपमा रहे । उनले विश्वकपको नेपाली सपना पुरा गराए । अब सोही सफलता दोहोर्‍याउने चुनौती पुवुदुसँग छ । त्यस बेला नेपाली क्रिकेट र क्यानबारे खासै केही नबुझेका पुबुदुले नेपाली खेलाडी मात्र होइन यहाँको क्रिकेट र राजनीति पनि राम्रैसँग बुझेका छन् ।

क्यानको भूमिका र नेतृत्वका बारेमा समेत उनी जानकार छन् । त्यसैले अब उनले प्रशिक्षक मात्र होइन व्यवस्थापकका रूपमा क्यान सँगसँगै जाने क्षमता पनि राख्नुपर्नेछ । खेलाडीसँग मिलेर क्यानसँग दूरी बढाएको आरोपकाबीच उनले दोस्रो इनिङ थाल्नुपर्नेछ । श्रीलंकाली मूलका क्यानडाली नागरिक पुबुदुले श्रीलंकाका लागि कम सङ्ख्यामा मात्र टेष्ट म्याच खेलेका छन् ।

एसोसियट टोलीका प्रशिक्षकमध्ये सफलतम प्रशिक्षकका रूपमा समेत हेर्न सकिने पुबुदुले पहिलोपल्ट नेपाल आउनुअघि क्यानडालाई एक दिवसीय विश्वकपमा छनोट गराएका थिए । नेपालपछि उनले अमेरिकाको टोली सम्हाले र लडखडाएको अमेरिकी क्रिकेटलाई उकासे । उनी गएपछिको नेपाली क्रिकेटको गति र लय एकै हुन सकेन ।

निकै हण्डर र ठक्कर खाँदै नेपाल एक औषत टिमका रूपमा रहेको छ । तर योबीचमा नेपालका समकालीन टिमहरुले आफूलाई व्यवस्थित र बलियो बनाइसकेका छन्। युएई, हङकङ तथा अमेरिका निरन्तर अघि बढ्दा नेपाल भने निरन्तरको बाधा, अड्चनबीच लडखडाइरहेको छ । अब क्यान, खेलाडी र प्रशिक्षकको त्रिकोणात्मक समन्वय भए मात्रै नेपालले दाबेदार छवि पुन ब्युँताउन सक्नेछ ।

अष्ट्रेलिया विश्वकपमा नेपाल कहाँ ?

नेपाल अहिले एक दिवसीय मान्यता प्राप्त देश हो । सन् २०२२ सम्म एक दिवसीय मान्यता पाएको नेपालले यो मान्यतालाई बचाइ राख्न धेरै खेलमा आफूलाई प्रमाणित गर्दै अघि बढ्नुपर्ने छ । सन् २०२२ पछि त्यो मान्यतालाई जोगाउनु नेपालका सामु मुख्य चुनौती छ । त्यसो त सन् २०२२ मा अष्ट्रेलियामा टी-ट्वेन्टी विश्वकप हुँदैछ ।

प्रतियोगिताका लागि ग्लोबल छनोट आगामी फेब्रुअरीमा ओमनमा हुँदैछ । उक्त ग्लोबल छनोटमा नेपालसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्याण्ड, ओमान, फिलिपिन्स र युएई गरी ८ देशले खेल्दैछन् ।

सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष २ मा रहने टोली विश्वकपमा छनोट हुनेछन् । त्यसैले नेपालका सामु यो अवसरमा आफूलाई कायम राखेर फेरि एक पटक सन् २०१४ दोहोर्‍याउने चुनौती छ । यसलाई सहज बनाउने नेतृत्वदायी भूमिकामा पनि पुबुदु हुनेछन् ।

तत्कालीन चुनौती कसरी पार लगाउलान् ?

नेपाली क्रिकेटमा सन् २०१४ को विश्वकप खेलेर फर्किएपछि एउटा विवाद सतहमा आयो । क्यानसँग खेलाडीको चरम असहमति भयो । मुख्य रूपमा तलबभत्ताका बारेमा । सो विषयमा पुवुदु खेलाडीको पक्षमा देखिए । पुबुदुले क्यानका तत्कालीन पदाधिकारीविरुद्ध अख्तियारमा परेको मुद्दाबारे बयानसमेत दिएका थिए।

त्यति बेला खेलाडीले असहमति जनाएका पदाधिकारीहरू अहिले पनि क्रिकेट संघको महत्त्वपूर्ण नेतृत्वमा छन् । उनीहरूले पुबुदुलाई छान्दै गर्दा संशय पनि सँगसँगै छ ।  तर क्यानको छनोट समिति र पदाधिकारीहरूले पुबुदुले क्रिकेट संघप्रति जबाफदेही भएर व्यावसायिक काम गर्ने प्रतिबद्धता जनाएको बताएका छन् ।

तर अहिले पनि नेपाली राष्ट्रिय टिमका केही खेलाडी र क्यानबीच विवाद चलिरहेकै छ। अब त्यसको सुरक्षित अवतरण कसरी होला र त्यसलाई उनले कसरी टुङ्ग्याउन सहयोग गर्लान् ? त्यो पाटो पनि उत्तिकै महत्त्वपूर्ण छ।

नेपाल क्रिकेट संघ (क्यान) सन् २०१६ देखि झण्डै तीन वर्ष आइसिसीको निलम्बनमा परेपछि पारस खड्काले मैदानबाहिर र भित्र दुवैको नेतृत्वमा क्रिकेट गतिविधि अगाडि बढाएका थिए । क्यानको कार्यसमिति निर्वाचन भए लगत्तै उनले कप्तान र त्यसपछि क्रिकेटबाटै सन्यास लिए।


अहिले चारजना क्रिकेटरले सेन्ट्रल कन्ट्रयाकप्रति असहमति जनाउँदै सञ्चारमाध्यममै असन्तुष्टि राखेपछि क्यान पदाधिकारी आक्रोशित बनेका छन् । उनीहरूले दुई पटक खेलाडीलाई स्पष्टीकरण सोधिसकेका छन्। र चाँडै उनीहरूले खेलाडीलाई ‘कारबाही गर्ने तयारी’ गरिरहँदा नेपाली क्रिकेट थप विवादित बन्ने छ।

पूर्वकप्तान खड्काको एउटा खेमा र क्यानभित्रका हार्डलाइनरहरुको अर्को खेमामा खेलाडीहरू अदृश्य रूपमा विभक्त छन् । त्यसैले अब पुबुदुका लागि खेलाडीलाई यी सबै गतिविधिबाट बाहिर राखेर खेलमा मात्रै केन्द्रित गर्ने तत्कालीन चुनौती पार लगाउनु पहिलो र मुख्य चुनौती रहने छ ।

एकेडेमीबाट प्रतिभा खोज्ने पुबुदु प्लान 

नेपालमा आफ्नो पहिलो अनुबन्धका बेला उनले नयाँ खेलाडी छनोटका लागि एकेडेमीको अवधारणा सार्वजनिक गरेका थिए । पूर्वकप्तान पारसको भनाइ मान्ने हो भने उनी एउटा प्लानमा काम गर्न चाहन्छन् र सोहीअनुसार उनले उपलब्धि दिएका थिए ।

उक्त समयको एउटा प्लान थियो ग्रास रुट क्रिकेटलाई प्राथमिकता । के पुवुदुको पुनरागमनसँगै अब त्यो कार्यक्रम पनि अघि बढ्ला ? सन् २०१३ मा उनैको सक्रियतामा नेपाल क्रिकेट एकेडेमी स्थापना भएको थियो । उनले छाडेसँगै त्यो एकेडेमी पनि निष्कृय जस्तै रह्यो।

यही एकेडेमीअन्तर्गतको ट्यालेन्ट हन्टमा पुवुदुले सन्दीप लामिछानेलाई चितवनमा भेट्टाएका थिए। त्यसपछि सन्दीपले मारेको छलाङ नेपाली क्रिकेटको एउटा पाठशालाका रूपमा सधैँ रहेको छ । अब फेरि त्यस्तो प्रतिभा खोज्नु पुबुदुका लागि एक सकारात्मक चुनौती हुनेछ नै।

आलोचना र समर्थन सँगसँगै

पुबुदुलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको रूपमा भित्र्याएसँगै उनको समर्थन र आलोचनामा औषत प्रतिकृया आएका छन् । वर्तमान खेलाडीहरूले उनको आगमनलाई सकारात्मक मान्दा धेरै समर्थकहरूले पनि उनीप्रति विश्वास गरेका छन्।

तर केही पूर्व खेलाडी तथा क्रिकेटलाई नजिकबाट हेर्नेहरू भने ठूलो मूल्य खर्च गरेर पुरानो प्रशिक्षकलाई फेरि ल्याउनु राम्रो नभएको र यसले रिजल्ट नदिने दाबी गर्छन् । किनकि अहिले क्रिकेट टेक्निकल्लि निकै अघि बढेको छ र सोहीअनुसारका प्रशिक्षक यतिको मुल्यमा जति पनि पाइने तर्क उनीहरू गर्छन् ।

त्यसो त पुबुदुभन्दा ‘राम्रा’ मानिएका भारतका मोण्टि देसाइलाई अनुबन्ध गर्न खोजेको क्यानले पारिश्रमिक धेरै मागेका कारण त्यो सम्भव नभएको बताएको  छ ।  पहिलो इनिङमा गजब प्रदर्शन गरेका पुबुदुले दोस्रो इनिङमा कस्तो प्रदर्शन गर्ने हुन् । त्यसमा नेपाली क्रिकेटको भविष्य पनि जोडिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *