विश्वकपबाट बाहिरिएपछि जर्मनीका हेड काेचले दिए राजीनामा

काठमाडौं । जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्समानले यसपटककि फिफा विश्वकपबाट टोली अप्रत्याशित रूपमा बाहिरिएपछि आफ्नो पदबाट राजीनामा दिएका छन्।

३८ वर्षीय नागेल्समानले अन्तिम ३२ मा पाराग्वेसँग पराजित भएर जर्मनीको विश्वकप यात्रा टुंगिएपछि पद छाड्ने निर्णय गरेका हुन् ।

जर्मनीले समूह ‘ई’मा कुरासाओलाई ७–१ र आइभरी कोस्टलाई २–१ ले हराउँदै समूह विजेता बनेको थियो। यद्यपि अन्तिम समूह खेलमा इक्वेडरसँग २–१ ले पराजित भएको जर्मनी अन्तिम३२ मा पाराग्वेसँग १–१ को बराबरीपछि पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

राजीनामाको घोषणा गर्दै नागेल्समानले टोलीको भविष्यलाई ध्यानमा राखेर यो निर्णय गरेको बताएका छन्।

’विश्वकपबाट बाहिरिएपछि मैले धेरै सोचविचार गरेँ र व्यक्तिगत रूपमा तथा फुटबल संघभित्रका विश्वासिला व्यक्तिहरूसँग छलफल पनि गरेँ। यो निर्णय मेरा लागि सहज थिएन। मेरो पहिलो प्राथमिकता सधैं टोलीको सफलता थियो। यस्तो निराशाजनक नतिजापछि टोलीले नयाँ सुरुआत गर्ने अवसर पाउनुपर्छ,’ उनले भने।

उनले आफ्ना प्रशिक्षक टोली, सहयोगी कर्मचारी, जर्मन फुटबल संघ (डिएफबी) र विशेष गरी खेलाडीहरूलाई धन्यवाद दिएका छन्।

’समर्थकहरूलाई पनि विशेष धन्यवाद। तपाईँहरूले हामीलाई निरन्तर साथ दिनुभयो, विश्वास गर्नुभयो र कठिन समयमा पनि ऊर्जा दिनुभयो। हामीले तपाईंहरूको अपेक्षा पूरा गर्न नसकेकोमा मलाई निकै दुःख लागेको छ,’ उनी बताउछन् ।

नागेल्समान सन् २०२३ सेप्टेम्बरमा हान्सी फ्लिकको स्थानमा जर्मनीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। उनको नेतृत्वमा जर्मनी घरेलु मैदानमा भएको युरो २०२४ को क्वार्टरफाइनल र २०२५ युइएफए नेसन्स लिगको सेमिफाइनलसम्म पुगेको थियो।

उनका सहायक प्रशिक्षक बेन्जामिन ग्लुक र बेन्जामिन हुब्नरले पनि टोली छाड्ने भएका छन्।

डिएफबीका अध्यक्ष बेन्र्ड नोएन्डोर्फले नागेल्समानको योगदानको प्रशंसा गर्दै उनको समर्पण, महत्वाकांक्षा र जिम्मेवार कार्यशैलीको उच्च मूल्यांकन गरेका छन्।

डिएफबीले नागेल्समानको उत्तराधिकारीका रूपमा पूर्व लिभरपुल तथा बोरुसिया डर्टमुन्डका प्रशिक्षक युर्गन क्लोपसँग छलफल गर्ने तयारी भइरहेको पनि जनाएको छ। क्लोपले पनि जर्मनीको मुख्य प्रशिक्षक बन्न इच्छा व्यक्त गरेको डिएफबीले उल्लेख गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =