एक महागाथाको अन्त्य: युद्धको शरणार्थीदेखि विश्व फुटबलको कमान्डर सम्म, लुका मोड्रिचको भावुक बिदाइ

काठमाडौँ। फिफा विश्वकपको मैदानमा पोर्चुगलसँग २–१ को पराजय बेहोर्दै क्रोएसियाको विश्वकप यात्रा समाप्त भएको छ। यस पराजयसँगै आधुनिक फुटबलका एक महान् नायक लुका मोड्रिचको विश्वकप यात्रा पनि सदाका लागि टुङ्गिएको छ।

मैदानको मध्य भागमा टोलीलाई सम्हाल्दै आएका यी ३९ वर्षीय कमान्डर आज आँखामा आँसु र मनमा सन्तुष्टि बोकेर मैदानबाट बाहिरिँदा विश्वभरका फुटबल प्रेमीहरू भावुक बनेका छन्। यो केवल एउटा खेलको अन्त्य मात्र थिएन, बरु युद्ध, सङ्घर्ष र दृढताबाट जन्मिएको एउटा असाधारण महागाथाको केही दुःखद तर गौरवमय समापन थियो।

युद्धको विभीषिका र बाल्यकालको त्रासदी

लुका मोड्रिचको जीवन कथा ९ सेप्टेम्बर १९८५ मा क्रोएसियाको जाडार सहर नजिकैको दुर्गम गाउँ ‘मोडरिसी’बाट सुरु हुन्छ। भेलेबिट हिमालको फेदीमा रहेको त्यो विकट गाउँमा उनको परिवार निकै सामान्य अवस्थामा बाँचेको थियो। आमाबुवा कपडा कारखानामा काम गर्थे भने साना लुकालाई उनका हजुरबुवा (लुका) ले रेखदेख गर्थे। तर, सन् १९९१ मा सुरु भएको क्रोएसियाको स्वतन्त्रता युद्धले त्यो सुन्दर संसारलाई क्षणभरमै भत्काइदियो।

त्यो अविस्मरणीय चोट

मात्र ६ वर्षको उमेरमा आफ्ना प्रिय हजुरबुवालाई सर्बियाली विद्रोहीहरूले घरनजिकै गोली हानी निर्ममतापूर्वक हत्या गरेको त्रासदी मोड्रिचले आफ्नै आँखाले देख्नुपर्‍यो। हजुरबुवाको हत्यापछि मोड्रिचको परिवार ज्यान जोगाउन जाडार सहरतर्फ भाग्यो। शरणार्थीका रूपमा ‘होटेल कोलोभारे’ र ‘होटेल इज’ मा बस्दा पनि लगातारको बमवारिले उनीहरूलाई छोडेन। बम खसेर खाल्डाखुल्डी परेको पार्किङ स्थल नै सानो लुकाका लागि पहिलो फुटबल मैदान बन्यो, जहाँ बमको साइरन बज्ने बित्तिकै बङ्करतर्फ भाग्नुपर्ने अवस्था थियो।

‘शारीरिक रूपमा कमजोर‘ भन्दै अस्वीकार र बोस्नियाको कठोर अनुभव

युद्धको आँधीबाट त बचियो, तर फुटबलको यात्रामा मोड्रिचले अर्को ठुलो चुनौतीको सामना गर्नुपर्‍यो। शारीरिक रूपमा निकै सानो र दुब्लो कदका भएका कारण उनलाई बाल्यकालको मन पर्ने क्लब ‘हाजडुक स्प्लिट’ ले “फुटबल खेल्नका लागि निकै कमजोर” भन्दै अस्वीकार गर्‍यो। यो असफलताले उनलाई यसरी तोडिदियो कि उनले फुटबल नै छोड्ने निर्णय गरिसकेका थिए। तर, जाडारका युवा प्रशिक्षक टोमिस्लाभ बासिचले उनलाई पुनः मैदानमा फर्काए।

१६ वर्षको उमेरमा प्रतिष्ठित क्लब ‘डिनामो जाग्रेब’मा प्रवेश पाए पनि उनको क्षमता तिखार्न उनलाई बोस्नियाको ‘ज्रिन्ज्स्की मोस्टार’ मा लोनमा पठाइयो। शारीरिक रूपमा निकै आक्रामक र हिंस्रक खेल शैलीका लागि बदनाम बोस्नियाली लिगमा विपक्षीको खतरनाक ट्याकल र नस्लवादी दुर्व्यवहार सहँदै मोड्रिचले आफ्नो मानसिकतालाई इस्पात जस्तै बलियो बनाए र अन्ततः लिगकै सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए।

घरेलु आलोचना र अदालतको कालो बादल

राष्ट्रिय टोलीमा मोड्रिचको सुरुवाती यात्रा सुखद रहेन। सन् २००६, २०१० र २०१४ को विश्वकपमा क्रोएसियाको कमजोर प्रदर्शनलाई लिएर देशभित्रै उनको कडा आलोचना भयो। उनलाई क्लबका लागि जस्तो प्रदर्शन राष्ट्रिय टोलीमा गर्न नसकेको आरोप लाग्यो। तर, उनको जीवनको सबैभन्दा कठिन मोड सन् २०१८ को विश्वकप अगाडि आयो।

भ्रष्टाचार मुद्दामा आरोप

डिनामो जाग्रेबका पूर्व निर्देशक ज्ड्राभ्को मामिचको भ्रष्टाचार मुद्दामा मोड्रिचमाथि अदालतमा झुटो बयान दिएको आरोप लाग्यो। दोषी ठहरिएको भए उनलाई ५ वर्षसम्मको जेल सजाय हुन सक्थ्यो।

समर्थकहरूको आक्रोश

हिजो सम्मका नायक एकाएक खलनायक बने। कतिपय समर्थकहरूले उनलाई धोकेबाज भन्दै उनी बसेकै पुरानो शरणार्थी होटेलको भित्तामा उनी विरुद्ध नाराहरू समेत लेखे।

रियल मडारिडमा स्वर्ण युग र बालोन डीओर‘ को इतिहास

मानसिक तनाव र तिरस्कारका बिच पनि मोड्रिचले क्लब फुटबलमा आफ्नो जादु कम हुन दिएनन्। टोटेनहम हट्सपर हुँदै सन् २०१२ मा स्पेनिस जाइन्ट रियल मड्रिड प्रवेश गरेका मोड्रिचले आलोचकहरूको शङ्कालाई गलत साबित गरे।

  • उनी रियल मड्रिडका लागि इतिहासमै सर्वाधिक २८ वटा उपाधि जित्न सफल भए।
  • उनले ६ पटक युइएफए च्याम्पियन लिग को ट्रफी उचाले।
  • सन् २०१८ मा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको १० वर्षे वर्चस्वलाई तोड्दै उनले प्रतिष्ठित ‘बालोन डी’ओर अवार्ड जिते।

विश्वकपमा ऐतिहासिक विरासत र सुखद समापन

अदालतको मुद्दा र देशवासीको आक्रोशका बिच पनि मोड्रिचले सन् २०१८ को विश्वकपमा क्रोएसियाको कप्तानी सम्हाले। मात्र ४० लाख जनसङ्ख्या भएको देशलाई आफ्नो जादुमयी नेतृत्व प्रदान गर्दै उनले इतिहास रचेर विश्वकपको फाइनलसम्म पुर्‍याए र ‘गोल्डेन बल जिते। फेरि २०२२ को कतार विश्वकपमा ३७ वर्षको उमेरमा पनि उनले क्रोएसियालाई तेस्रो स्थान दिलाउँदै ‘ब्रोन्ज बल’ प्राप्त गरे।

आज पोर्चुगलसँगको हारसँगै लुका मोड्रिचको विश्वकप यात्राको सुनौलो अध्याय समाप्त भएको छ। युद्धको विभीषिकामा हजुरबुवा गुमाएको एक अनाथ शरणार्थी बालक, शारीरिक रूपमा अयोग्य भनेर तिरस्कृत भएको किशोर, र देशकै अदालतमा बदनाम भएको खेलाडी आज विश्व फुटबलको इतिहासमा एक सङ्घर्षशील महानायकका रूपमा बिदा भएको छ। मोड्रिचले विश्वकपको सुनौलो ट्रफी नजिते पनि उनले विश्वभरका करोडौँ मानिसहरूको मन जितेका छन्।

-: एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 1 =