‘मेन्स रुम रिलोडेड’को दसौँ वार्षिकोत्सव

काठमाडौँ । फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) को दसाैँ वार्षिकोत्सव मनाइएको छ । सन् २०११ डिसेम्बर ११ मा स्थापना भएको  एमआरआरको दसाैँ वार्षिकोत्सव नेपालका विभिन्न ठाउँ तथा जापान, कोरियालगायत देशमा  पनि मनाइएको हो ।

काठमाडौँमा उपस्थित समूहका सदस्यले न्यू नेपाल सोसाइटीका बालबालिकालाई खेलकुद सामग्री र पुस्तक वितरण गर्नुका साथै निःसहाय सेवा सदन बानेश्वरका वृद्धवृद्धालाई आवश्यक औषधि र निक्याप सहयोग गरिएको एमआरआरका  सदस्य गणेश कार्कीले जानकारी दिए । यस्तै हेटौडा, बुटवल लगायतमा भएका सदस्यहरूले फरक फरक कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको उनले जानकारी दिए ।

एमआरआर १८ वर्ष नाघेका नेपाली पुरुषको फेसबुक ग्रुप हो । सन् २०११ मा रमाइलोका लागि खोलेको यो फेसबुक ग्रुप अहिले नेपालकै सबै भन्दा सक्रिय फेसबुक ग्रुप मध्येमा पर्छ । ‘विशुद्ध रमाइलोका लागि स्थापना भएको भए पनि सदस्यहरू बढ्दै गएपछि यसको दायरा पनि बढेको छ ।’ मेन्स रुम रिलोडेड शर्माजीका नामले परिचित ग्रुपका मोडरेटर भन्छन्, ‘ग्रुप भित्रका सदस्यहरू एकापसमा सहयोग आदान प्रदान गर्ने, सामाजिक तथा राजनीतिक मुद्दाहरूमा बहस हुने र ग्रुपभन्दा बाहिरका सामाजिक कार्य तथा आन्दोलनहरूमा पनि एमआरआर जोडिने गर्छ । तर ती कुनै पनि राजनीतिक दलगत भने हुने गर्दैनन् ।’

ग्रुपका सक्रिय सदस्य कार्की एमआरआरलाई एकै शब्द वा एकै वाक्यले मात्रै बुझाउन नसकिने बताउँछन् । ‘ग्रुप भित्र हेर्नु भो भने तपाईँलाई बेला बेला यो के नै रहेछ र भन्ने लाग्न सक्छ तर यो हाम्रो समाज जस्तै छ । विविध किसिमका सदस्य भएकाले विविध विचार र गतिविधिको अनुभव गर्न पाइन्छ । यति हुँदाहुँदै पनि सबैले एकमत भएर मान्ने भनेको भातृत्वको महत्त्व हो । तपाईँको कहिल्यै देख भेट भएको नहोस्, कहिल्यै म्यासेज वा कमेन्टमा गफ नभएको होस् वा फेसबुकमा साथीसम्म नभएको होस् तर जब आवश्यक पर्छ, म एमआरआरमा छु नि भने पछि तपाईँले अर्को सदस्यबाट सहयोग पाउनु हुन्छ हुन्छ ।’

हुन पनि, ग्रुपलाई वास्तवमा के हो भनेर बाहिरबाट बुझ्न सकिँदैन । यो प्राइभेट ग्रुप भएकाले गैर सदस्यहरूले फेसबुकमा खोज्दा पनि भेट्दैनन् तर सामाजिक मुद्दाहरू उठाउन यो ग्रुप अगाडि रहने गरेको छ । निर्मला पन्तको बलात्कार र हत्याको समयमा सरकार भेटियो तर न्याय भेटिएन पोस्टर कार्यक्रम एक रातमै देशव्यापी रूपमा गरेर यही ग्रुपले तरङ्ग ल्याएको थियो । यसबाहेक उखु किसानको आन्दोलन र अन्य सामाजिक मुद्दाहरूमा पनि एमआरआरले आफ्नो उपस्थिति र समर्थन देखाउने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *