काभ्रेको धुलिखेलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौँको सिनामंगलस्थित काठमाडौंं मेडिकल कलेजले काभ्रेको धुलिखेलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
धुलिखेल नगरपालिका २ नं. वडा कार्यालय, धुलिखेल नगरपालिका स्वास्थ्य शाखा, सारथि फाउन्डेसन र सारथि बहुउद्देश्यीय सहकारी संस्थासँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको हो ।

स्थानीय सेतीदेवी माध्यमिक विद्यालयमा आयोजित शिविरमा १ हजार १ सय ६५ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
शिविरमा २१५ जनाको रक्त परीक्षण, १६० जनाको भिडियो एक्सरे र १५१ जनाको मुटुको जाँच (इसीजी) गरिएको छ । त्यस्तै, ३५ जना बिरामीको दाँत खोलिएको छ ।

शिविरमा केएमसीको जनरल मेडिसिन, हाडजोर्नी तथा नसा रोग, प्रसुति तथा स्त्री रोग, छाला तथा यौन रोग, वाल रोग, नाक कान तथा घाँटी, दन्त लगायत विभागका विशेषज्ञ डाक्टरहरूले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।









