माओवादी राष्ट्रिय सम्मेलन : प्रतिनिधि सङ्ख्या १५ सय, खाने-बस्ने व्यवस्था आफैँ गर्नुपर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनका प्रतिनिधि १ हजार ५ सय हुने भएका छन् । माओवादीले आगामी पुस ११ गतेदेखि १३ गतेसम्म सम्मेलन गर्न लागिरहेको छ ।
यसका लागि माओवादीले प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गर्नेछ । त्यस्तै १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन हुने छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जारी गरेको आन्तरिक परिपत्रअनुसार प्रत्येक प्रदेशले कम्तीमा १ जना घाइते र अपाङ्गता भएकाहरूलाई प्रतिनिधि चयन गर्नुपर्ने छ ।
केन्द्रीय सदस्यहरू स्वतः सम्मेलनका प्रतिनिधि हुनेछन् । प्रत्येक केन्द्रीय विभागबाट ३÷३ जना प्रतिनिधि छानिने छन् । त्यस्तै केन्द्रीय कार्यालयबाट ५ प्रतिशत प्रतिनिधि मनोनीत हुनेछन् । माओवादीले राष्ट्रिय सम्मेलनमा सहभागी हुने आयोजक एवम् प्रतिनिधिहरूलाई प्रतिनिधि शुल्क २ हजार तोकेको छ ।
सबै प्रतिनिधिहरुले खाने, बस्नेलगायतका खर्चको व्यवस्थापन आफैँ गर्नुपर्ने भनिएको छ । राष्ट्रिय सम्मेलनका लागि माओवादीले वडा र पालिका सम्मेलन गरिसकेको छ भने मंसिर २५ गते प्रदेश सम्मेलन गर्दैछ ।








