बडुवालको न्यायका लागि अदालत अगाडि प्रदर्शन, अभियुक्त धरौटीमा छुट्ने चिन्ता

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यारालाई कारबाही गर्नुपर्ने माग गर्दै आफन्तले मंगलबार जिल्ला अदालत अगाडि प्रदर्शन गरेका छन् । बडुवालको हत्यारालाई हदैसम्मको कारबाही र फरार रहेका सबैलाई पक्राउ गर्नुपर्ने माग गर्दै आफन्तले अदालत अगाडि प्रदर्शन गरेका हुन् ।
फरार अभियुक्तलाई पाँच दिन भित्रै पक्राउ गरी जन्मकैद गर्नुपर्ने स्थानीय सम्झना केसीले बताइन् । ‘अहिले हामीले कानुनी कारबाहीको माग गरेका छौँ,’ उनले भनिन्, ‘भोलिका दिनमा भौतिक रूपमा आक्रमण गर्न नपरोस् । हामीले त्यो मनस्थिति पनि बनाएका छौँ ।’

न्याय माग्न आउँदै गर्दा न्यायालयको ढोका बन्द भएको भन्दै उनले भनिन्, ‘हामीले चाहेको न्याय पाएनौँ भन्ने ढोका र पर्खालाहरूसमेत भत्किने छन् ।’ घटनालाई तोडमोड गरेर अभियुक्तलाई धरौटीमा छुटाउने प्रयत्न गरियो भने न्यायका किताबहरू जलाउने र हिसाब किताब खोज्ने उनले चेतावनी दिइन् ।

मृतक बडुवालकी ठूली आमा दुर्गा बडुवालले अभियुक्तलाई जन्मकैदको सजाय हुनुपर्ने माग गरिन् । ‘अभियुक्तहरु पैसा तिरेर धरौटीमा छुट्छन् भने हामीहरू पनि पैसा तिरेर मार्न तयार छौँ,’ उनले भनिन् । उनले जबसम्म हत्याका योजनाकार नविल रावल पक्राउ पर्दैनन्, तबसम्म पक्राउ परेका एक जनालाई पनि छोड्न नहुने उनको माग छ ।

पक्राउ परेकाहरु धरौटीमा छुटे भने आफूहरूले जे पनि गर्न तयार रहेको भूपेन्द्रकी फुपू रमा खड्काको चेतावनी छ । उनले फरार भएका अभियुक्तहरूलाई छिटोभन्दा छिटो पक्राउ गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिन् ।

बडुवाल हत्यामा संलग्न १२ जना प्रक्राउ परिसकेका छन् भन्ने अझै ९ जना फरार रहेका छन् । कात्तिक २३ गते धारिलो हतियार प्रहार गरेर बडुवालको हत्या गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *