बडुवाल हत्या प्रकरण : दुई किलोमिटर लखेटेर आफन्तकै घर अगाडि मारिए भूपेन्द्र

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका- ३ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या अभियोगमा पक्राउ परेका १२ जनाको नाम सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन मार्फत भूपेन्द्रको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका १२ जनाको नाम सार्वजनिक गरेको हो ।

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका अभियुक्तहरूलाई भने पत्रकार सम्मेलनमा सार्वजनिक गरिएन । मुद्दा अदालतसम्म पुगिसकेकाले उनीहरूलाई स्वयं पत्रकार सम्मेलनमा सार्वजनिक नगरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए ।

प्रहरीका अनुसार सार्वजनिक गरिएका अभियुक्तहरुमा लम्कीचुहा नगरपालिका-३ का २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दिपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा-१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल छन् ।

यस्तै लम्कीचुहा नगरपालिका-५ का २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका-७ घर भएर टीकापुर नगरपालिका-१ बस्ने २१ वर्षीय रोहित आले, टीकापुरकै २५ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका–२ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका–३ बस्ने २६ वर्षीय सन्तोष भन्ने सविनजंग शाहीको नाम सार्वजनिक गरिएको छ ।

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिहरुलाई पत्रकार सम्मेलनमा सर्वाजनिक नगरेपनि यसअघि पक्राउ परेकै बेला उनीहरुलाई सार्वजनिक गरिसकेको थियो ।

एसपी अधिकारीले बडुवालको हत्यामा संलग्न भएका र हत्या गर्न सघाउने अन्य ९ जना अझै फरार रहेको बताए ।

उनका अनुसार लम्कीचुहा नगरपालिका-३ चिसापानी बस्ने २७ वर्षीय नवीन रावल, २६ वर्षीय अनुज भन्ने चिरञ्जीवीजंग शाही, २६ वर्षकै हिमाल शाही, जानकी गाउँपालिका–६ बस्ने वर्ष २८ वर्षीय जयन्द्र शाह, टीकापुर नगरपालिका–१ बस्ने २७ वर्षीय विकास शेरचन फरार छन् ।

यस्तै, लम्कीचुहा-४ बस्ने २४ वर्षीय रोशनबहादुर शाही, टीकापुर नगरपालिका-६ बस्ने अन्दाजी ३५ वर्षीय अशोक रावल, लम्कीचुहा नगरपालिका-३ बस्ने २५ वर्षीय लोकजंग शाही र बर्दियाको गरुवा गाउँपालिकाका २२ वर्षीय हेमन्त शाही पनि फरार छन् ।

फरार रहेका उनीहरूको खोजीकार्य भइरहेको एसपी अधिकारीले बताए । उनीहरूमध्ये केही व्यक्ति हत्यामा संलग्न भएको र केहीले सघाएको आरोप छ । टीकापुर लम्कीमा गुन्डागर्दीमा सक्रीय रहेका जयन्द्र शाह र नवीन रावलको समूहबीचको आपसी मनमुटाव हत्या प्रकरणसम्म पुगेको प्रहरीले जनाएको छ ।

आफन्तकै घर अगाडि हत्या
कैलालीको लम्की, चिसापानी, टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावरको ठेक्कापट्टामा आफ्नो वर्चश्व कायम राख्न लोकजंग शाहीसमेतले युवाहरूको समूह बनाई आपराधिक लाभका लागि परिचालन गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उक्त समूहलाई अशोक रावलले संरक्षण गर्दै आएका थिए ।

सुरुमा एकै समूहमा जयन्द्र शाह र नविन रावलबीच मनमुटाव र वैमनश्यता उत्पन्न भएपछि दुई समूह विभाजित भए । यसैक्रममा गएको भदौ महिनामा काठमाडौँको कालिमाटी क्षेत्रमा जयन्द्र शाहको समूहले नवीन समूहका हिमाल शाहीलाई पेटमा खुकुरी प्रहार गरी मार्ने प्रयास गरेको थियो । उक्त घटनापछि जयन्द्र समूहको तर्फबाट नवीनलाई आक्रमण गर्ने उपयुक्त अवसरको खोजीमा थिए कपिल । त्यसैका लागि उनी कार्तिक १७ गते काठमाडौँबाट आएर २० गते लम्की र २१ र २२ गते बौनियामा बसे ।

२३ गते नवीन रावलसमेतको समूह लम्कीका आयोजित फुटबल खेल हेर्न आएको थाहा पाएपछि कपिलले आफ्नो समूहलाई खबर गरेर खेल मैदानमै आक्रमण गर्ने योजना बनाए । तर‚ उनको समूह समयमै त्यहाँ पुग्न नसकेपछि नवीन रावल समूहमाथि आक्रमण गर्ने योजना विफल बन्यो ।

नवीन रावलले जयन्द्रको समूह हतियारसहित आफूहरूमाथि आक्रमण गर्ने तयारीमा रहेको थाहा पाए । त्यसपछि नवीनले पनि आफ्नो समूहका आर्यान, हिमाल, हेमन्त, मदन चिरञ्जीवी, रोशन, निशान्त, धिरज, रोहित, सोहनलगायतलाई तयारी अवस्थामा रहन भने ।

नवीनले उनीहरूलाई रोडसाइड क्याफेमा जम्मा गरी जयन्द्र समूहको जुनसुकै व्यक्ति फेला परे पनि आक्रमण गर्ने योजना बनाए । कपिल श्रेष्ठ एक्लिएपछि टीकापुर क्षेत्रमा लुकेर बसे । आफू अप्ठेरोमा परेपछि कपिलले मिल्ने साथी भूपेन्द्र बडुवाललाई फोन गरेर आफूलाई लिन बोलाए । त्यसपछि भूपेन्द्र उनलाई लिन टीकापुर पुगे ।

जयन्द्र समूहका व्यक्तिलाई आक्रमण गर्न नवीन रावल समूह हतियारसहित हिँडिरहेका बेला भूपेन्द्र कपिललाई लिन टीकापुर निस्किए । टीकापुरको जनरा पुल नजिक आर्यन देवकोटासमेतले भूपेन्द्र बडुवाललाई फेला पारे । आर्यनले भूपेन्द्रलाई हामीविरुद्ध टीकापुर आएको हो भन्दै त्यहाँबाट लखेट्न सुरु गरे ।

लखेटेर सिद्धार्थ होटल नजिक पुगेपछि भूपेन्द्र मोटरसाइकल छाडेर आफन्तको घरतर्फ दौडिए । नवीन रावल समूहले भूपेन्द्रलाई उनकै आफन्त कौशीदेवी विष्टको घरको पेटीबाटै नियन्त्रणमा लिएर पेट र छातीमा दुई पटक, पिठ्यूँको भागमा तीन पटक र टाउको पछाडिपट्टीको भागमा एक पटक धारिलो हतियार प्रहार गरेर फरार भए ।

त्यसपछि नवीन रावल समूहले विष्ट आयल स्टोर नजिक पुगेर भाग्ने योजना बनाए । उनीहरूले खुकुरी सोही स्थानमा फाले । उनीहरू पशु हाटबजारको बाटो हुँदै जोशीपुर पुगे । त्यहाँ एक जनाले अपराध स्वीकार गर्ने र अरु भागेर फरार रहने योजना बनाए । सोहीअनुसार २४ गते आर्यन अपराध आफूले मात्रै गरेको भन्ने पार्न बौनियामै रहे । समूहका अन्य व्यक्तिहरू फरार रहे । उनीहरूलाई लोकजंगले बनाएको योजनाअनुरूप लोकेन्द्र कुँवरले बौनिया बजारभन्दा उत्तरतर्फको चायाँभावर गाउँमा लगी लुकाएर राखे ।

लोकजंगकै योजनाअनुसार उनीहरूलाई चायाँभावर गाउँमा खाने बस्ने व्यवस्थापन गर्ने, खर्च रकम दिने र २५ गते उनीहरूलाई भगाउन सविनजंग शाहीले कार भाडामा लिई धनगढीको जुगेडासम्म पुर्‍याए । सविनले २६ गते भारतीय बोलेरो भाडामा लिएर नविन रावलसमेतलाई भारतको ढकियासम्म पुर्‍याएर फर्किए ।

त्यहाँबाट फर्किएपछि उनले नवीन रावलसमेतले प्रयोग गर्ने पाँचवटा मोबाइल बनबेहडास्थित बेबिडचन्द्र कडायतलाई राख्न दिए । लोकेन्द्र कुँवरले नवीन रावलसमेतले प्रयोग गर्ने दुईवटा मोटरसाइकल नम्बर प्लेट परिवर्तन गरेर बर्दिया पुर्‍याए । उनीहरूले घटना लुकाउन थुप्रै प्रयास गरे पनि सफल हुन भने सकेनन् ।

प्रहरीका अनुसार उक्त आपराधिक समूहलाई अभियुक्तमध्येका टीकापुरकै अशोक रावलले संरक्षण गरेको पाइएको छ । यी समूहका सदस्यहरूविरुद्ध कैलाली जिल्ला मातहत तथा काठमाडौँमा समेत ६ वटा ज्यान मार्ने उद्योग र दुई टा हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *