आर्थिक दृष्टिकोण समान बनाउन सबै राजनीतिक दललाई ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा सबै राजनैतिक दलहरुले समान दृष्टिकोण बनाउनुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले सोमबार बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोभिड १९ को माहामारीले संकटमा रहेको मुलुकको अर्थतन्त्रलाई द्रुत गतिमा पुनरुत्थान गर्न सबै राजनैतिक दलहरुको समान धारणा आवश्यक पर्ने बताएका हुन् ।

‘अहिले अर्थतन्त्र विस्तारै सुधार हुन थालेको छ । यो जुन सुधार देखिएको छ यसलाई रोकिन दिनुहुन्न । सबै मिलेर यसलाई द्रुत गतिमा पुनरुत्थान गर्नुको विकल्प छैन,’ उनले भने, ‘यसका लागि सबै राजनैतिक दलहरुको समान दृष्टिकोण र सहयोग आवश्यक पर्छ ।’

अहिले देखिएको कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टको नेपालमा पर्न सक्ने प्रभाव बारे बोल्दै उनले यसलाई अहिलेसम्मका अध्ययनहरुले कम खतरापूर्ण रहेको बताउँदै आएकाले यससँगसँगै आर्थिक तथा व्यवसायिक गतिविधिहरु सञ्चालन गर्नुको विकल्प नभएको बताए ।

लुम्बिनी प्रदेश मुलुककै धार्मिक, साँस्कृतिक तथा पर्यटकीय केन्द्र रहेको बताउँदै उनले विस्तारै विस्तारै यस क्षेत्रका भैरहवा र बुटवल जस्ता शहरहरु आर्थिक केन्द्रका रुपमा पनि विकास हुँदै गरेको बताए ।

उनले आइएमई समूहको लगानीमा सातवटै प्रदेशमा केबलकार सहितको पर्यटकीय गन्तब्यहरु निर्माण भइरहेको र त्यस्ता परियोजनाहरुमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरुसँग समेत सहकार्य हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 17 =