लुम्बिनी प्रदेश यू–१९ क्रिकेटको च्याम्पियन

काठमाडौँ ।  लुम्बिनी प्रदेश यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । आइतबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई १ सय १३ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो ।

उपाधिसँगै विजेता लुम्बिनीले २ लाख रुपैया पुरस्कार पाएको छ भने उपविजेता सुदुरपश्चिमले १ लाख रुपैयामा चित्त बुझाएको छ ।

२ सय १३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा अलआउट भयो । सुदूरपश्चिमका लोकेश बमले सर्वाधिक २५ रनको योगदान गरे ।

लुम्बिनीका स्पिनर अजय चौहानले ५.३ ओभरमा २० रन खर्चेर सर्वाधिक ५ विकेट लिए । दुर्गेश गुप्ताले ९ ओभरमा ३ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । मोहम्मद हुसेनले ३३ रन खर्चेर २ विकेट लिए ।

कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा २ सय १२ रन बनाएको थियो । लुम्बिनीका कप्तान देव खनालले सर्वाधिक ७० रन बनाए । सुदूरपश्चिमका आकाश चन्दले ३ शेर मल्ल  र हेमन्त धामीले २-२ तथा नरेन्द्र साउद र राहुल भण्डारीले १–१ विकेट लिए ।

फाइनलको प्लेयर अफ द म्याच लुम्बिनीका अजय चौहान भए । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट बलर लुम्बिनीका मोहम्मद हुसेन भए भने उत्कृष्ट ब्याटर लुम्बिनीकै देब खनाल बने । सर्बोत्कृष्ट खेलाडीले १५ हजार तथा विधागत रुपमा उत्कृष्ट ठहरिएका खेलाडीले १०-१० हजार रुपैया पुरस्कार पाएका छन् ।

प्रतियोगितामा सातवटै प्रदेशका टिमको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *