राप्रपामा थापा र लिङ्देनको प्यानल, यी हुन् पदाधिकारीका दाबेदार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ । मतदाताको सूची सम्बन्धी विवाद समाधान भएसँगै राप्रपाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको हो ।

बिहीबार साँझ मतदाताको नामावली प्रकाशन गरेको निर्वाचन समितिले आज मतदाता नामावलीमाथि दाबी विरोध, उम्मेदवारी दर्ता, उनीहरूको नाममाथि दाबी विरोध, अन्तिम नामावली प्रकाशनलगायतका काम गर्ने र शनिबार मतदान गर्ने कार्यतालिका रहेको जनाएको छ । राप्रपा महाधिवेशनमा ४४ सय ७१ प्रतिनिधि रहेका छन् ।

राप्रपाको नेतृत्वका लागि अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले ४ उपाध्यक्ष र ३ महामन्त्रीको प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्ष कमल थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, रोशन कार्की, ध्रुवबहादुर प्रधान उम्मेदवार बन्ने भएका छन् । थापा प्यानलबाट महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तीकुमारी शाही उम्मेदवार बन्ने भएका छन् ।

लिङ्देन प्यानलको उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार बन्ने नेता मुकुन्दश्याम गिरीले बताए । त्यस्तै महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार बन्ने भएका छन् । नेता विक्रम पाण्डेलाई दुवै पक्षले आफ्नो प्यानलमा राखेका छन् तर पाण्डेले भने कसलाई समर्थन गर्ने भन्ने स्पष्ट गरेका छैनन् । दुवै पक्षले पाण्डेको आफूलाई समर्थन रहेको दाबी गरिरहेका छन् ।

राप्रपाको निर्वाचन कार्यक्रम 
राप्रपाको निर्वाचन समितिले ४४ सय ७१ जनाको मतदाता नामावली सूची प्रकाशित गरिएको छ । मतदानस्थल राष्ट्रिय सभागृहमा सूची बिहीबार सार्वजनिक गरिएको हो ।

निर्वाचन समितिका अनुसार दाबी विरोधका लागि शुक्रबार बिहान ११ बजेसम्म समय दिइएको छ । दाबी विरोध सकिएपछि मतदाता नामावलीको अन्तिम प्रकाशन गरिने छ ।

त्यसपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिने कार्यक्रम रहेको छ । शुक्रबार साढे ११ बजेबाट उम्मेदवारको दरखास्त आह्वान गरिने र उम्मेदवारी दर्ता साढे १ बजेसम्म हुने छ । निर्वाचन समितिले उम्मेदवारीमाथि दाबी विरोध र उम्मेदवारी फिर्ताका लागि अपराह्न ५ बजेसम्मको समय दिइएको छ । त्यसपछि ५ बजे सबै उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।

निर्वाचन समितिले शनिबार बिहानबाट मतदानको कार्यक्रम हुने बताएको छ । राप्रपामा एक महिलासहित चार उपाध्यक्ष, एक महिलासहित तीन महामन्त्रीमा निर्वाचन हुँदैछ । यस्तै १९९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १४९ जनाका लागि पनि निर्वाचन हुँदैछ । बाँकी केन्द्रीय सदस्यको मनोनयन निर्वाचित अध्यक्षबाट हुने व्यवस्था रहेको छ । राप्रपामा ७ सह महामन्त्री, कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता, सह प्रवक्ता पनि अध्यक्षले मनोनीत गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *