सोलुखुम्बु पुगेर केएमसीका चिकित्सकले गरे २६ जनाको निःशुल्क शल्यक्रिया

सोलुखुम्बु । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले हिमाली जिल्ला सोलुखुम्बुको नेचा सल्यानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २६ जना बिरामीको शल्यक्रिया गरिएको छ । विभिन्न स्वास्थ्य समस्या भएर शिविरमा आएका बिरामीहरूको केएमसीका चिकित्सकले ‘माइनर सर्जरी’ गरेका हुन् ।

शल्यक्रिया गराउनेमा शरीरमा गाँठागुठी पलाएकाहरू बढी छन् । केएमसीका शल्य चिकित्सक डा.सम्पन्न पाण्डेसहितको टोलीले बिरामीको शल्यक्रिया गरेको हो । नेचा सल्यान–२ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर गरिएकाले बिरामीहरूको शल्यक्रिया गर्न सहज भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

‘सामान्य किसिमको समस्या भएका २६ जना बिरामीको शिविरमै शल्यक्रिया गरिएको छ,’ दाहालले भने, ‘स्वास्थ्य केन्द्रमा शिविर गरिएकाले शल्यक्रिया गराउन सहज भयो, यहाँ शल्यक्रिया गर्न सम्भव नभएका जटिल प्रकारका बिरामीलाई अस्पतालमै शल्यक्रिया गराउन रेफर गरिएको छ ।’

शिविरमा उपचार सम्भव नभएका र शल्यक्रिया गराउनुपर्ने अवस्थाका १५१ जना बिरामीलाई अस्पताल रेफर गरिएको हो । नेचा सल्यान गाउँपालिका वडा नं.२, वडा नं. १ र सल्यानबासी सामूहिक युवा समूहसँग सहकार्य गरेर केएमसीले गत आइतबारदेखि बुधबारसम्म चार दिने शिविर सञ्चालन गरेको हो ।

यसैबीच, शिविरमा ९६३ बिरामीको रक्त परीक्षण, ७५३ जनाको भिडियो एक्स-रे र ३२४ जनाको मुटुको जाँच (इसीजी) सहित ४ हजार १ सय ५० जनाको निःशुल्क उपचार गरिएको आयोजकले जनाएको छ । काठमाडौँदेखि विशेषज्ञ डाक्टरहरू गाउँमा आउँदा शिविरमा बिरामीको घुइँचो लागेको थियो ।

शिविरमा सल्यान टारी, खाल्पा, टुरे, टिलपुङ, कुमाल गाउँ, गैरी डाँडा, खुर्के, रातमाटा, नयाँ बजार लगायत क्षेत्रबाट बिरामीहरू उपचारका लागि आएका थिए । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरी केएमसीले विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेदेखि केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न थालेको हो । निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने केएमसीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *