ओलीले नयाँ नेतृत्वको सूची सार्वजनिक गर्दै, के गर्लान् भीम रावल ?

काठमाडाैँ । चितवनमा जारी नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा आज केपी ओलीले नयाँ नेतृत्वको नामावली सार्वजनिक गर्ने भएका छन् । विरोधका बीच टुङ्गिएको पहिलो दिन शनिबारको बन्द सत्रले ओलीलाई एमालेका नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली तयार पार्ने सम्पूर्ण अधिकार दिएको हो ।

यसअनुसार उनले आज  पुनः हुने बन्द सत्र भेलामा अनुमोदनका लागि नयाँ नेतृत्वको सूची पेस गर्ने भएका हुन् । शनिबार राति अबेरसम्म जारी बन्द सत्रमा सर्वसम्मत नेतृत्व चयनको अधिकार केपी ओलीलाई दिने नेता विष्णु पौडेलको प्रस्ताव धेरैजसो प्रतिनिधिले ताली बजाएर अनुमोदन गरेका हुन् ।

तर असन्तुष्ट नेताहरूलाई निर्वाचनमा जाने अधिकार दिइने बन्द सत्रमा सहभागी एक नेताले जानकारी दिएका छन् । साबिक उपाध्यक्ष भीम रावल शनिबार अबेर रातिसम्म अध्यक्ष पदमा उठ्ने आफ्नो अडानमा अडिग छन् ।

याे पनि : पदाधिकारी छान्ने जिम्मा ओलीलाई, भीम रावलको आपत्ति

उनले प्रत्येक प्रतिनिधिलाई चुन्ने र चुनिन पाउने सार्वभौम अधिकारको अभ्यास गर्न दिनुपर्ने जिकिर गरेका छन् । ‘निष्पक्ष चुनाव हुनुपर्छ । प्रत्येक इच्छुक व्यक्तिले उम्मेदवारी दिन पाउनुपर्छ,’ उनले भने, ‘कसैलाई चुनावमा उम्मेदवार नै बन्न नदिने हो भने महाधिवेशनको औचित्य समाप्त हुन्छ ।’

सर्वाधिकारसहित अघि बढेका ओलीका अगाडि अब अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावलले के गर्लान् भन्ने चासो बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *