न्युयोर्कमा संकटकाल घोषणा

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारेकी छन् । ‘पछिल्लो समयमा कोरोनाभाइरसबाट संक्रमित भएर अस्पताल भर्ना हुनेहरुको संख्या बढेकाले थप महामारी फैलिन नदिनका लागि संकटकाल लगाइएको हो,’ गभर्नरले भनेकी छन् ।

कोरोनाभाइरस पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले थप चिन्तित बनाएकाले सतर्कता अपनाउनु परेको उनको भनाइ छ । अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकता अनुसार लम्बिन पनि सक्ने उनले स्पष्ट पारेकी छन् ।

याे पनि : दक्षिण अफ्रिकामा देखियो कोरोनाको नयाँ भेरिअन्ट, विभिन्‍न देशले लगाए उडान प्रतिबन्ध

शुक्रबार बेलुका निर्देशन जारी गर्दै उनले संकटकाल लागू गरेसँगै अस्पतालको क्षमता वृद्धिमा पनि सरकारले काम गर्ने जानकारी दिइन् । त्यसैगरी खोपको प्रयोगलाई पनि विस्तार तथा वृद्धि गर्ने उनको भनाइ छ । दक्षिण अफ्रिकामा नयाँ कोरोनाभाइरसको रुपमा ओमिक्रोन कोरोनाभाइरस फैलिएको भन्ने सूचनाका आधारमा पूर्वसतर्कता स्वरुप पनि न्युयोर्कमा संकटकालको घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् ।

न्युयोर्कसहित अमेरिकाले अन्य राज्यहरुलाई पनि उच्च सतर्कता अपनाउन तथा प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गर्न आह्वान गरेको छ । त्यसैगरी बेलायत, क्यानडा लगायत कैयौं युरोपेली मुलुकहरुलाई समेत विदेशबाट आउने यात्रुहरुको प्रवेशमा कडाइ गर्न सुझाइएको छ । -एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *